
भूगोलमा घाम उदाउने डाँडाहरू अझै उस्तै छन्। घाम अस्ताउँदाको डाँडाहरूको जीवन उस्तै छ। बाँकी घाम र जूनले मान्छेहरूमा ल्याउने रौनक अब फेरियो।
यहाँ, अब बसन्तमा कोइलीलाई सुनिदिने कानहरू घटे। कोइली भने, अझै उस्तै सुसाउँदो छिन्। प्रकृतिको रितहरूमा यहाँ कुनै क्रमभङ्गता छैन। मान्छेहरूको रित कृत्रिम हुँदोरहेछ: फेरिराख्ने। यो जीवन मेरो गाउँको हो, जो मलाई बनाउने चक्करमा आफू पूरै बिग्रियो।
अहिले रोपाइँको याम हो ! मानो रोपेर मुरी फलाउने चटारोले गाउँलाई खेद्नुपर्ने हो ! तर गाउँ अहिले सुनसान छ। एकाध खेतहरूमा हलगोरु दगुर्दै छन्। तर ती पनि अधियाँका होइनन्। किनकि अधियाँ गर्नेलाई आज खेत फालाफाल छ, तर गरिदिने हातहरू अब अपुग छन्।
खेत हुनेहरू मधेश झरिसके। खेत बाझोपनको रोगमा सिकिस्त हुन गाउँमै छोडियो। यस्तै रहिरहे अबको आउने दशकमा गाउँका खेत सबै जङ्गलमा बदलिने छन्।
खेतमा खेतीपाती मात्रै छुटेन। रोपाइँ मात्रै टुटेन। रोपाइँ एउटा सामूहिकता थियो। सामाजिकता थियो। सँगै रोपाइँका लोकभाकाहरू थिए। कर्मसँग जोडिएको एउटा रमाइलो थियो। शायद, त्यसैले यसलाई मेला भनियो। यसरी एउटा सिङ्गै मेला आज छुट्यो। एउटा सिङ्गै चलन, संस्कृति र तामझाम शहर झर्यो।
शहर झर्नेहरू कहिलेकाहीं गाउँ फर्केलान्, तर रोपाइँका ती दिनहरू अब कहिल्यै नफर्केलान्। गाउँ आज आफ्नै मैझारो हुने दिनहरूमा बाँचिरहेछ, त्यसैले रोपाइँको मैझारोको रौनक अब यहाँ छैन।
रोपाइँमा घर फर्किने चलन त अब अलप भयो। ठूला चाडहरू पनि अब गाउँमा भित्रिंदैनन् ! एक याम थियो, जहाँ बोलेरोको छतछतमा गाउँमा दशैं भित्रिन्थ्यो। लाहुरेहरूले सुटकेश र झोलाहरूमा चाडको रौनक बोकेर आउँथे। राजधानी र अन्य शहर बस्ने ठिटाहरूको अनुहारमा चाडको उमंग भित्रिन्थ्यो।
विस्तारै ती सबै शहरको नाकाहरूमै अड्किए। अब दशैं गाउँ आउँदैन। तिहार गाउँ पस्दैन। तीजमा माइतीहरू यहाँ नाँच्दैनन्। ती सबै अहिले शहरमै अडिन्छन्।
चाडबाडहरूले गाउँलाई जीवन्त बनाउँथे। यिनै पर्वहरूले हाम्रो सिङ्गो सुख धानेको थियो ! हाम्रो पूरै पहिचान यिनैमा थिए। हाम्रो संस्कृति, रीतिथिति, चालचलन भन्नु नै यिनै चाड थिए। जसको गाउँमा अब सम्झना छ; उल्लास छैन।
चाडबाड आएको, गएको अब गाउँले पत्तो पाउन छोड्यो। वरभन्ज्याङको लाकुरीबाट बोलेरो आए–गएको गाउँले देख्छ, तर बोलेरोमा चाड आएको शायद उसले अब देख्न नपाउला !
अब, खर बाटेर पीङ हाल्ने हातहरू यहाँ छैनन्। कमेरोको सुगन्धमा घर ढाकिन पाउन छोड्यो ! आँगन खुर्कने जाँगरहरू अब हराए। कुलो, कोल्सो र करेसाहरू अचेल बढारिन्नन्। बाटो छेउको घाँस र झाडी अचेल सफा गरिन्नन्। कोट घरहरू आलो रगतको बास्नामा अचेल छोपिन्नन्।
जुवातासका खालहरू पनि सबै उठेर शहरमा बिसाइसके। सबै; सबै सकियो ! अब चाडहरूको ताप गाउँमा सेलाइसके। विचरा मेरो गाउँ; उसलाई अब बुढेसको रितले छोयो। आफैंसँगका मानव दौंतरीसँग अब उसले अन्तिम सासहरू फेर्दैछ।
मेरो गाउँमा एउटा सानो फलैंचा बन्नुको पछाडि एउटा ठूलो कालखण्ड थियो। यहाँका ढिक, ढिस्का र गोठहरूका आफ्नै कथा छन्। आज चौपारीमा सुस्केरा बिसाउनेहरू सक्किए। तर एउटा चौपारीले सिङ्गो सभ्यताको सुस्केरा धानिदिएको थियो।
हामी मान्छे भन्नु यिनै सामाजिक संरचनाहरूका उपज न हौं। त्यसैले, हाम्रो अन्तस्करणमा पछाडि छुटेको गाउँ छ। हामीले थाहै नपाई, हामीले गाउँ बोक्ने रहेछौं ! गाउँ बोल्ने रहेछौं। हाम्रो रहनसहन र व्यवहारमा सिङ्गो गाउँ खोपिएको हुने रहेछ। हामी गाउँको प्रतिनिधित्व गर्ने रहेछौं ! तर विस्तारै अब, हाम्रो सास सँगै, गाउँको प्रतिनिधि गर्नेहरू पनि हराएर जालान्।
अहिले हामीले शहरमा आफूसँगै नेपाली समाजको नयाँ सामाजिक चरित्र बसाल्दैछौं। अब हाम्रा आउने कथाहरू बेग्लै खोपिनेछन्। र, गाउँ आज मैले गर्दा बिग्रेको हो। म जस्ता प्रतिनिधि पात्रहरू बनाउन मेरो गाउँ बिग्रिएको हो। समग्र मेरो पुस्तालाई बनाउन मेरो गाउँ आफू पूरै बिग्रियो।
गाउँमा शिक्षा प्रणाली सबल भइदिएको भए मेरो बुवाआमाको पुस्ता मेरो लागि शहर बिसाइरहनुपर्ने थिएन ! खेतीपातीमा मौसमले हानिरहने बज्र सहन उहाँहरू तयार हुनुहुन्थ्यो ! टाढाको मेलो, सिंचाइका झन्झट र किसानीका दुःख सहनु सामान्य भइसकेको थियो।
उकाली–ओराली नापिरहने पैतालालाई साँघुरो बाटोमा पनि गुनासो थिएन ! स्वास्थ्यका समस्यालाई नियति सम्झेर टारी सहने बानी परिसकेको थियो। तर शिक्षाको समस्याले समग्र हामी अघिको पुस्तालाई पिरोल्यो ! राज्यले उपयुक्त र गुणस्तरीय शिक्षाको वाचा कबुल्न सकेन र फलस्वरूप मेरो गाउँको रौनक विस्तारै शहर झर्न बाध्य भयो।
बाटो, स्वास्थ्यचौकी र अन्य सेवा–सुविधा कुरिबस्ने सुविधा गाउँलाई थियो। तर गुणस्तरीय शिक्षा कुरिबस्दा सन्ततिको पढ्ने आयुले नेटो काटिसक्थ्यो। हाम्रो बुवाआमाको पुस्ताले आफूले भोगेको दुःख भावी सन्ततिमा दोहोरिएको हेर्न चाहनुभएन। त्यसैले हाम्रो भविष्यको उज्यालोको सम्झौतामा उहाँहरूले अँध्यारो अनुहारमा थातथलो छोडिदिनुभो।
माओवादी द्वन्द्वको असरमा गाउँ छाड्नेहरू हामी नगण्य छौं। स्पष्ट छ: हामीलाई लडिएको राजनीतिक द्वन्द्व भन्दा लडिनुपर्ने शैक्षिक द्वन्द्वले शहर धकेलेको थियो। त्यसैले कुनै बेला भरिभराउ हुने गाउँका हाम्रा सामुदायिक स्कूलहरू आज पूरै खाली छन्। विद्यार्थी संख्या भन्दा डेस्क–बेन्च धेरै भएका स्कूलहरू हाम्रा गाउँमा छन्। त्यसैले हामी बन्नुमा हाम्रो गाउँले धेरै मार खेप्यो।
गाउँका विद्यमान आर्थिक, शैक्षिक, सामाजिक र संस्कृतिक सबै प्रणालीहरू भत्किए। त्यसैले हाम्रो पुस्ता, गाउँ भत्किएर बनेको पुस्ता हो।बसाइँसराइले केही गुन गाउँलाई नलगाएको पनि होइन। हिजो विश्वयुद्धमा लड्ने लाहुरेहरू थिए र राणा विरुद्ध लड्ने अलिकति राजनीतिक चेत भित्रियो।
भकारीमा वर्षभरिलाई पुग्ने अन्न कमै साँचिन्थ्यो। पहाडको भूगोलले मनग्य उत्पादनलाई खासै सघाउँदैनथ्यो। प्रायः हाम्रो बुवाको पुस्ता सबैले सीमापारिका शहरहरूमा आफ्ना पाइताला नापिरहनुहुन्थ्यो र गाउँमा अलिअलि सह भित्रिन्थ्यो।
लगत्तै पचास-साठी साल बीच गाउँलाई अरब ट्रेन्डले छोयो। जसले अति आवश्यक जीवनका आधारभूत तत्त्वहरू परिपूर्ति गर्न सघाउन थाल्यो। र हामीले आ-आफ्नो स्तर उकास्यौं।
नेपाली राजनीति र शासन व्यवस्थाले एक शताब्दीमा लगाउन नसकेको गुन, हामीलाई अरब ट्रेन्डले एक दशकमा लगाएको छ। सुरुवाती आठ-दश वर्षको यो ट्रेन्ड हाम्रो समस्त जीवनरेखा सकारात्मक कोरिदिन निर्णायक छ।
यसरी प्रत्येक गाउँ–शहरको ओहोरदोहोर र देश–विदेशको यात्राले गाउँलाई धेरै–थोरै सघाइराख्यो। गाउँ राजनीतिक, वैचारिक, आर्थिक र शैक्षिक सबै चेतहरूमा सग्लो हुन सिक्दैथियो। तर अहिले समय फेरियो। बसाइँसराइको चरित्र फेरियो।
पहिले हामी गौंथली थियौं। ठाउँठाउँ चहार्थ्यौं र गुँडमा फर्कन्थ्यौं। तर अहिले, हामीले गुँड नै शहर सारिदियौं।र यसरी हाम्रो सबल भविष्यको चाहनाका निम्ति आफ्ना कामनाहरू गाउँमै बिसाएर हामी अघिको पुस्ताले बसिरहेको गुँड शहर झार्यो। आज, हाम्रो सहज जीवनको लागि, उहाँहरूले जन्मे–हुर्केको थातथलो छोड्नुभो। त्यसैले हामीमाथि उहाँहरूको छुटेको खुशी र चाहनाहरूको अभिभारा छ।
आज हामी संसारका हरेक कुनामा फैलिएका छौं। हरेक महाद्वीपहरूमा हामीले पसिना बगाएका छौं। धेरथोर कीर्ति आर्जेका छौं। आज अमेरिका, अस्ट्रेलिया, बेलायत, जापानदेखि केन्या र क्युबा जस्ता देशहरू हाम्रा लागि अब कुनै नौलो संसार रहेनन्।
उत्कृष्ट युनिभर्सिटी, कम्पनीदेखि सामान्य कार्य सञ्चालन हुने अफिसहरूमा हामी भरिभराउ छौं। एक टुक्रा गाउँको अंश बोकेका हामी नेपालीहरू आज संसारको हरेक चोकमा भेटिन्छौं।
तर हाम्रो जीवनमा हरियाली छाउनका निम्ति गाउँले बाझोपनको मूल्य चुकाएको छ। त्यसैले हाम्रो पुस्ता संसारको हरेक कुनाहरूमा अगाडि बढ्नुका पछाडि, छुट्नुपरेको एउटा सिङ्गो गाउँ छ।
हो, हामी तेस्रो विश्वमा जन्मियौं ! हाम्रो रोजाइ थिएन: नियति थियो। यो युगमा हामीले भोग्नुपर्ने र बुझ्नुपर्ने सारा संसार छ। जुन बुझ्नुपर्छ नै ! समय, प्रविधि र निवर्तमान परिस्थिति पछ्याउनुपर्छ नै ! त्यसैले संसारको हरेक कुनामा फैलिनु रहर र बाध्यता मात्रै नभएर अवसर र चुनौती दुवै हो।
भविष्यको नेपाली समाजको रूपरेखा र समस्त देशको नियति रोज्ने अवसर आज हाम्रै काँधहरूमा छ ! जुन काँधहरू बन्नुका निम्ति आज गाउँघरका मूल खाँबाहरू पूरै मक्किएका छन्।
सिरियाबाट अमेरिका बसाइँ सरेका दोस्रो पुस्ताका स्टिभ जब्सलाई आज हामी पढ्छौं। क्युबाबाट अमेरिका बसाइँसराइ गर्न दोस्रो पुस्ताका जब्स बेजोसलाई आज हामी पढ्छौं। इटलीमा रोजर मरिनोलाई पढ्छौं। र छिमेकी मुलुकबाट प्रथम विश्वमा अनुकरणीय भूमिका खेलेका सुन्दर पिचाइहरू आज हाम्रा सामाजिक सञ्जालदेखि मस्तिष्कभरि भरिएका छन् !
र हाम्रै देशमा, पृथ्वीनारायण शाह गोर्खा राज्यमा मात्रै समेटिएको भए शायद हामी आजको नेपालको यो सिङ्गो स्वरूपमा हुँदैनथ्यौं। बीपी कोइराला र मनमोहन अधिकारीहरू भारतमा अङ्ग्रेज विरुद्धको आन्दोलनमा नलडेको भए, राणा विरुद्ध लड्ने साहस, संस्कार र क्रान्तिका प्रक्रियाहरू शायद अविलम्ब भित्रिंदैनथ्यो। र अरब ट्रेन्डले गाउँलाई नछोएको भए हामी अझैसम्म गाँसको लडाइँमै सीमित हुनेथियौं।
त्यसैले आज प्रथम विश्वमा संघर्ष गर्नेहरू प्रत्येकलाई एउटा सिङ्गो अवसर छ। देशको भविष्यको लागि निर्णायक शिक्षा, साहस, संस्कार र अनुभव सँगाल्ने अवसर र दायित्व दुवै छ।
त्यसैले प्रिय मेरा समकालीन पुस्ता, हाम्रो आफ्ना पीडा, वेदना, समस्या, संघर्ष र उल्झनहरू त छन् नै; जुन हरेक पुस्ताका आ-आफ्ना हुन्छन्। तर राजनीतिक व्यवस्था, आर्थिक परिस्थिति, सेवा–सुविधा, प्रविधि र अवसरहरूको सापेक्षतामा हामी नेपाली समाजको आजसम्मकै भाग्यमानी पुस्ता हौं।
हाम्रो बुवाआमाको पुस्ता, हाम्रै लागि शहर झर्यो। हामी विकसित देशहरूको मेट्रोहरूमा बाक्लै भेटिन्छौं। तर त्यसको मूल्यमा आज गाउँघरमा बोलेरोहरू रित्तो ट्रिप हिंडिरहेछन्। आज ओपेरा हाउस, आइफेल टावर र बुर्ज खलिफामा हामी बाक्लै भेटिन्छौं तर त्यसको मूल्यमा हाम्रा देउराली र चौपारीहरू एक्लिएका छन्। जसलाई साक्षीले सघाउन बाँधिएका ध्वजाहरू छन्, बाँधिदिने हातहरू अब छैनन्।
हामी माथि अघिल्लो पुस्ताको आँसु र चाहनाहरूको अभिभारा छ। र सिङ्गो पछाडि छुटेको गाउँको ऋण छ: जसको लालपुर्जा धितो राखेर हामी प्रथम विश्वमा फैलिएका छौं। र भोलि आउने पुस्ताप्रति पनि हाम्रो दायित्व छ। र, समग्रमा नेपालको रूपरेखा कोर्ने दायित्व हामीमा छ।
यहाँ, म जस्तो एक जना बन्नुका पछाडि एउटा सिङ्गो गाउँ बिग्रनु परेको छ ! त्यसैले हामीलाई कतै बिग्रने, भत्कने र रुमल्लिने छुट छैन।
प्रतिक्रिया 4