
९ साउन, काठमाडौं । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले कम्बोडियासँगको झडप युद्धमा समेत परिणत हुनसक्ने चेतावनी दिएका छन् ।
बिहीबारदेखि सीमा क्षेत्रमा सुरु भएको झडप बढिरहँदा कार्यवाहक प्रधानमन्त्रीले बैंककमा पत्रकारहरुसँग बोल्दै यो समस्या थप बढ्न सक्ने बताए ।
‘यदि अवस्था झन् चर्कियो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेसम्म यो झडपमै सीमित छ’, उनले समाचार संस्था एएफपीसँग भनेका छन्, ‘यस्ता झडपले जनताको जीवन प्रभावित पारेको छ र सरकारले हाम्रो राष्ट्र र सर्वाभौमसत्ताको रक्षा गरेको छ ।’
थाइ सेनाका अनुसार, कम्बोडियाका अधिकारीहरुले चलाएको गोलीले बिहीबार एक नागरिकको मृत्यु र ३ जना घाइते भएपछि हवाई आक्रमण गरिएको थियो । पछि थाइल्याण्डमा मृत्यु हुनेको संख्या १५ पुगेको थियो ।
थाइल्याण्डका अनुसार, शुक्रबारसम्म कम्बोडियासँग सीमा जोडिएको क्षेत्रमा बसेका १ लाख ३८ हजारभन्दा बढी नागरिकलाई स्थानान्तरण गरिएको छ ।
बिहीबार सुरू भएको द्वन्द्व शुक्रबार बिहान फेरि सुरू भएको थाई सेनाले जनाएको छ । थाई सेनाका अनुसार झडपहरू १२ ठाउँमा भएका छन्, जसले बिहीबार सुरू भएको द्वन्द्वलाई अझ व्यापक बनाएको बैंकक पोष्टले जनाएको छ ।
क्याम्बोडियाले आफ्ना क्षतिको विवरण अझै सार्वजनिक गरेको छैन । तर ओदार मीन्चे प्रान्तका एक स्थानीय अधिकारीले रोयटर्सलाई बताएअनुसार एक सर्वसाधारणको मृत्यु भएको छ र पाँच जना घाइते भएका छन् । १ हजार ५ सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
थाई सेनाले शुक्रबार बिहानैदेखि उबोन रात्चाथानी र सुरिन प्रान्तमा झडप भएको जनाएको छ । ‘क्याम्बोडियन सेनाले भारी हतियार, फिल्ड आर्टिलरी र बीएम–२१ रकेट प्रणाली प्रयोग गर्दै निरन्तर बमबारी गरिरहेको छ,’ सेनाले वक्तव्य जारी गर्दै भनेको छ ।
हाल थाइल्याण्डको सेनाले कम्बोडियाको सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादको लामो इतिहास छ । यद्यपि, २०११ मा भएको झडपपछि दुवै देशबीच सम्बन्ध प्राय: स्थिर रहँदै आएको थियो ।
२०२४ मे महिनामा भएको झडपपछि कम्बोडियाले चारवटा विवादित भूमिको निरूपणका लागि हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा जाने प्रस्ताव राखेको थियो । तर थाइल्याण्डले यो मुद्दामा अदालतको क्षेत्राधिकार अस्वीकार गरेको थियो ।
प्रतिक्रिया 4