+
+
Shares

सीमा विवाद चर्किरहँदा कम्बोडिया जोडिएकै विवादमा निलम्बित छिन् थाइ प्रधानमन्त्री

निलम्बन गर्नुअघि उनले कम्बोडियाका शक्तिशाली पूर्वप्रधानमन्त्री हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको अडियो बाहिरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १२:४३
थाइल्याण्डकी निलम्वित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा

८ साउन, काठमाडौं । यतिबेला थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादलाई लिएर तनाव चर्किएको छ ।

दुई दक्षिणपूर्वी एसियाली मुलुकबीच लामो समयदेखि सीमा क्षेत्रमा विवाद रहँदै आए पनि सन् २०११ पछि ठूलो तनाव सिर्जना भएको थिएन । कम्बोडियाले यो मामिलालाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने बताउँदै आएको थियो भने थाइल्याण्डले यसलाई अस्वीकार गरिरहेको थियो ।

यस्तोमा दुवै देशबीच सम्बन्ध प्रायः स्थिर रहँदै आएको सम्बन्ध एकाएक तनावपूर्ण बनेको छ । थाई सेनाले कम्बोडियामा हवाई आक्रमण गरेको छ, कम्बोडियाका प्रधानमन्त्रीले यसको जवाफ दिनुको विकल्प नभएको बताएका छन् ।

यो घटना यस्तो बेला भएको छ, जतिबेला थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई कूटनीतिक विवादमा संवैधानिक अदालतले निलम्बन गरेको छ । गएको असार तेस्रो साता उनको आचरणबारे छानबिन गर्दै अदालतले निलम्बन गरेको थियो ।

यो विवाद समेत कम्बोडियासँगै जोडिएको थियो । निलम्बन गर्नुअघि उनले कम्बोडियाका शक्तिशाली पूर्वप्रधानमन्त्री हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको अडियो बाहिरिएको थियो ।

त्यस संवादमा उनले थाई सेनाका एक वरिष्ठ अधिकारीको आलोचना गरेको समेत सुनिएपछि राजीनामा दिन दबाब समेत बढेको थियो । सम्बोधनमा उनले ‘तपाईंलाई चाहिने केही भए म मिलाउँछु’ समेत भनेकी थिइन् ।

यद्यपि, उनले त्यो अभिव्यक्तिलाई कूटनीतिक रणनीति अन्तरगत बोलिएको भनेकी थिइन् । तर, आलोचकहरूले उनलाई कम्बोडियासँग झुकेर राष्ट्रघाती व्यवहार गरेको आरोप लगाएका छन् ।

हुन सेनले करिब चार दशक कम्बोडियामा शासन गरेका थिए । उनी अझै पनि त्यहाँ प्रभावशाली मानिन्छन् । र, थाई सिनावात्रा परिवारका पुराना मित्र समेत मानिन्छन् । यद्यपि, पछिल्लो समय सम्बन्ध विग्रिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको भनाइ छ ।

तनाव बढेका बेला प्रधानमन्त्री पेटोटार्न नेतृत्वको सरकारबाट एउटा घटक बाहिरिएको थियो । त्यसपछि उनको बहुमत कमजोर बनेको थियो ।

बेलायती समाचार संस्था द गार्डियनका अनुसार, हालैको सर्वेक्षण अनुसार उनको मार्चमा रहेको ३०.९% लोकप्रियता घटेर ९.२% मा झरेको थियो ।

अहिले अदालतको अन्तिम निर्णय आउँदासम्म उपप्रधानमन्त्री सुरिया जुआङरुङरुङकिटले कार्यवाहक प्रधानमन्त्रीको भूमिका निर्वाह गरिरहेकी छन् ।

थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा र कम्बोडिया पूर्वप्रधानमन्त्री हुन सेन

कम्बोडिया पूर्वप्रधानमन्त्री हुन सेनबीच भएको कुराकानीको अडियोको छोटो क्लीप मात्र सुरुमा बाहिरिएको थियो । पछि सेनाले संवादको पूरा अडिया नै सार्वजनिक गर्ने निर्णय गरेका थिए ।

त्यसयता, थाइल्यान्डमा राजनीतिक संकट गहिरियो भने शक्तिशाली शिनावात्रा परिवारको भविष्यमा गम्भीर असर पर्नसक्ने देखियो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार, यस्तो घटनाले पुनः एकपटक सैनिक कू वा न्यायिक हस्तक्षेपमार्फत सत्ता परिवर्तन हुने आशंका बढाएको छ । ‘कू’को घटना जुन थाइल्यान्डको राजनीतिक इतिहासमा नयाँ होइन ।

३८ वर्षीया पेथोङ्टार्नले यसअघि कहिल्यै सरकारी पदमा काम गरेकी थिइनन् । उनको प्रधानमन्त्री पदमा प्रवेश पनि असामान्य परिस्थितिमा भएको थियो । अघिल्लो प्रधानमन्त्री स्रेत्था थाविसिनलाई अदालतले पदच्युत गरेपछि उनी सत्तामा आएकी थिइन् ।

शिनावात्रा परिवार थाइल्यान्डको राजनीतिमा दशकौंदेखि प्रभावशाली रहँदै आएको छ । यद्यपि निरन्तर अदालतको फैसला, सडक प्रदर्शन र सैनिक हस्तक्षेपका कारण प्रश्नको घेरामा समेत रहँदै आएको छ ।

परिवारका संरक्षक थाक्सिन शिनावात्रा सन् २००६ मा सैनिक कूबाट हटाइएपछि लामो समयसम्म आत्मनिर्वासनमा थिए । पेथोङ्टार्नले सत्तामा आउनका लागि उनले पुराना विपक्षीसँग सहकार्य गर्दै सरकार गठन गर्ने सम्झौता गर्नुपरेको थियो ।

त्यसका अनुसार, कारण युवा सुधारवादी मुभ फरवार्ड पार्टी सत्ताबाट टाढा रह्यो भने परिणामस्वरूप उनका पिताले देश फर्कने मौका पाए । जेल प्रवेश नगरेकै अवस्थामा सार्वजनिक जीवनमा फर्किए ।

तर, हालको संकटले यो शिनावात्रा वंशको अन्त्यको सुरुवात त होइन भन्ने प्रश्न उब्जाएको विश्लेषण गरिएका थिए । क्योटो विश्वविद्यालयका प्राध्यापक पाविन चाचावाल्पोङपुन भनेका छन्, ‘शक्तिशाली वर्गले अब थाक्सिनमाथि निर्भर हुनुपर्ने अवस्था नरहेको विश्वास गर्न थालेका छन् ।’

उनका अनुसार, पेथोङ्टार्न कुनै न कुनै रूपमा हटाइनेछिन् र शिनावात्रा वंशसँग अब नयाँ अनुहारहरू छैनन् ।

विद्यार्थी जीवनमा पेथोङ्टार्नले ‘एल्लो सर्ट’ आन्दोलन देखेकी थिइन्, जसले उनका पितालाई सत्ताच्युत गरायो ।

पछि उनका काकाको रूपमा रहेका सोमचाई वोंग्सावात अदालतबाट हटाइए भने उनकी काकी यिङलक शिनावात्रा सन् २०१४ मा अदालतको फैसला र त्यसपछिको सैनिक कूबाट हटाइएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?