+
+
Shares

कुलिङ पिरियडको गडबडी छानबिन : संसदका महासचिवद्वारा प्रधानमन्त्रीसँगको भेट स्वीकार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते ११:२५

११ साउन, काठमाडौं । संसद् सचिवालयका महासचिव पद्‍मप्रसाद पाण्डेयले कुलिङ पिरियड सम्बन्धी व्यवस्था राख्न नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकार गरेका छन् । उनले मुख्य सचिव एकनारायण अर्यालको अनुरोधमा अनुसार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसँग भेटका लागि सहजीकरण गरेको पनि बताएका छन् ।

राज्यव्यवस्था समितिबाट पास हुँदा संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियडको अवधि दुई वर्ष राखिएको तर प्रतिनिधि सभाबाट पास भएर आउँदा त्यो व्यवस्था हटाइएको विषयमा छानबिन गरिरहेको संसदीय विशेष छानबिन समितिसँग महासचिव पाण्डेले सो कुरा बताएका हुन् ।

विशेष समितिले गत बुधबार गरेको सोधपुछको क्रममा पाण्डेयले भनेका छन्, ‘मलाई मुख्यसचिवले फोन गरेर सम्माननीय दुवैजनासँग भेट्न पर्‍यो, त्यहाँ समय मिलाउनुपर्‍यो भन्नुभयो । मेरोमा आउँछु, समय मिलाउनुपर्‍यो भनेपछि सहजीकरण गरेको हुँ ।’

कुलिङ अफ पिरियडबारे संघीय निजामती सेवा विधेयकको प्रतिवेदन लेखनका क्रममा गडबडी भएको भनेर प्रतिनिधिसभाले गठन गरेको संसदीय विशेष छानबिन समितिले विभिन्न व्यक्तिसँग सोधपुछ गरिरहेको छ । यही क्रममा गत बुधबार संसद्का महासचिव पाण्डेयसँग समितिले गोप्य छलफल गरेको थियो ।

सोधपुछका क्रममा समितिका सदस्यहरूले कुलिङ अफ पिरियड नराख्ने भनेर सभामुख, राष्ट्रिय सभाका अध्यक्षसँग भेटेको विषयमा प्रश्न गरेका थिए । त्यसको प्रष्टीकरण दिँदै संसद्का महासचिव पाण्डेले आफूले मुख्य सचिवले फोन गरेर आउँछु भनेपछि सहजीकरण गरिदिएको बताएका हुन् ।

मुख्य सचिवले भनेपनि कानुनले मिल्दैन, संसद्को अधिकारक्षेत्रको विषय हो भनेर लविङका लागि आएको प्रस्ताव अस्वीकार किन गर्नु भएन भन्ने प्रश्न पनि संसद्का महासचिव पाण्डेले सामना गरे । आफ्नो मनले नमानेपछि संसदीय समितिले निर्णय गरेपछि मान्नुपर्ने र यही नै नेपालले अवलम्बन गरेको शासन व्यवस्था र विधि हो भनेर नि महसुस गर्नुभएन भन्ने लगायतका प्रश्न पनि सोधिएका थिए ।

संसद्का महासचिवले पदीय जिम्मेवारी नै पूरा नगरेको भन्नेसम्मका प्रश्नलाई पाण्डेले पन्छाए । आफूले सहजीकरण गरिदिएको प्रष्टीकरण मात्रै दिएको स्रोतले बतायो ।

पाण्डेयलाई सांसदहरूले अन्य शीर्ष नेताहरूसँग भेटेको प्रसंगमा पनि सोधेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कार्यालयमा गएर किन भेटेको भनेर सोधेका थिए ।

जवाफमा महासचिव पाण्डेयले प्रधानमन्त्रीसँग भेटेको स्वीकार गरे । ‘त्यहाँ म गएको हो हजुर’ पाण्डेले भनेका छन् ।

सांसदहरूले किन जानुभयो भनेर प्रतिप्रश्न गरे पनि पाण्डेले जवाफ दिएनन् ।

शीर्ष नेताहरूसँग भेट्न गएको कारणले पनि पदीय जिम्मेवारी निर्वाह नगरेको ठहरिन्छ भनेर अर्को प्रश्न गर्दा पाण्डेले आफूप्रति पूर्वाग्रह राखेर प्रश्न गरिएको बताए ।

सांससदहरूले महासचिव पाण्डेयलाई कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न किन गएको भनेर पनि सोधे । पाण्डेले देउवासँग भेटेको भने स्वीकारेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?