
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले कुवेतमा घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाएको छ, तर अवैध रूपमा करिब ६० हजार महिला रहेको तथ्य अनलाइनखबरले फेला पारेको छ।
- नेपालका एजेन्टहरूले भिजिट भिसामा महिलालाई दुबई र नयाँदिल्ली हुँदै कुवेत पठाउने अवैध सञ्जाल चलाइरहेका छन्।
- कुवेतमा पुगेका महिलाहरू शारीरिक हिंसा, बन्धक बनाइने र अत्यधिक श्रम गर्नुपर्ने कारण उद्धारका लागि निवेदन दिइरहेका छन्।
११ साउन, काठमाडौं । नेपाल सरकारले घरेलु श्रमिकका रूपमा कुवेत जान प्रतिबन्ध लगाएको छ, तर यो प्रतिबन्ध कागजमा मात्र सीमित देखिन्छ ।
हाल करिब ६० हजारभन्दा बढी नेपाली महिला कुवेतमा घरेलु श्रमिकका रूपमा काम गर्दै आएका छन् । तीमध्ये अधिकांश अवैध रूपमा गएका हुन् ।
‘भिजिट भिसा’ आवरणमा नयाँदिल्ली र दुबईको बाटो प्रयोग गरी एजेन्टले दैनिक सयौँ महिलालाई कुवेत पुर्याइरहेका छन् । यसरी अवैध जाने श्रमिकलाई राज्यले चिन्दैन । कुवेतमा अलपत्र परे वा समस्यामा परेका बेलामा पनि राज्यको उपस्थिति देखिँदैन ।
कुवेत पुगेको केही समयभित्रै नेपाल फर्काउन उनीहरूको हारगुहार सुनिन्छ । तर, राज्य भने विनाकागजात तथा श्रम स्वीकृति नलिई गएको भन्दै उद्धारबाट पन्छिने गरेको छ । त्यसरी उद्धारको माग गर्दै उनीहरूका श्रीमान तथा घरपरिवारबाट वैदेशिक रोजगार विभाग तथा विभिन्न संघसंस्थामा पुग्ने गरेका छन् ।
कसरी पुग्छन् नेपाली महिला कुवेत ?
यो अवैध यात्राको सञ्जाल नेपालबाटै सुरु हुन्छ । वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार नेपालका एजेन्टले महिलालाई दुबई घुम्न जाने बहानामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा पठाउँछन् ।
विमानस्थलमा ‘सेटिङ’ मिलाइएको हुन्छ र उनीहरूलाई ५ सयदेखि १ हजार अमेरिकी डलरसम्म गोजीमा हालिदिएको हुन्छ, जुन दुबई पुग्नेबित्तिकै त्यहाँको एजेन्टले फिर्ता लिन्छ ।
‘विमानस्थलमा फाटेको चप्पल र सामान्य लुगामा आउनेलाई पनि सेटिङका आधारमा जान दिइन्छ,’ गोलेले भने, ‘दुबई पुगेपछि त्यहाँबाट फेरि भिजिट भिसामा कुवेत पठाइन्छ ।’
कुवेत पुगेपछि त्यहाँका एजेन्टको कार्यालयमा महिलालाई भेडाबाख्रा जस्तै थुपारिन्छ र उनीहरूको उमेर र सुन्दरता हेरेर ३ लाखदेखि साढे ३ लाख नेपाली रुपैयाँ (६०० देखि ७०० कुवेती दिनार) मा दुई वर्षका लागि ‘बेचिन्छ’ ।
नेपालको एयरपोर्टमा के के भन्ने हो भनेर सबै सिकाइन्छ । दलालले उता एयरपोर्टमा सबै सेटिङ मिलाइसकेका हुन्छन् । सोही आधारमा भिजिट भिसामा जान आवश्यक ५ सय डलरसमेत त्यही दलालले गोजीमा राखिदिन्छन् ।
नरकीय जीवन र बन्धकको अवस्था
एकपटक कुवेती मालिकको घरमा पुगेपछि नेपाली महिला श्रमिकको जीवन बन्धक जस्तै बन्छ । धेरैजसो महिलाले शारीरिक तथा मानसिक हिंसा, कुटपिट, यौन दुर्व्यवहार, पर्याप्त खाना नपाउने र २४ घण्टामा १८ देखि २२ घण्टासम्म काम गर्नुपर्ने जस्ता समस्या भोग्ने गरेका छन् ।
‘सबैभन्दा ठूलो समस्या भनेको घरमै बन्धक बनाइनु हो । उनीहरूलाई कोठामा थुनेर राखिन्छ र आवश्यक परेका बेलामात्र काममा लगाइन्छ,’ गोलेले भने ।
केही प्रतिनिधि पात्र
नुवाकोटकी गंगा (सांकेतिक नाम) एक वर्ष अगाडि कुवेत पुगिन् । घरेलु कामका लागि नेपाली एजेन्ट कमल धिमालले उनलाई कुवेतस्थित नेपाली एजेन्ट गीता थापाकहाँ पुर्याए ।
भिजिट भिसामार्फत गएकी उनी ३/४ महिना अगाडि घर परिवारको सम्पर्कबाट बाहिर गइन् । बन्धक बनाएर कुटपिट गर्ने गरेको भन्दै उनले आफ्नो उद्धार गरिदिन भन्दै घरपरिवारमा गुहार मागिन् ।
त्यसपछि उनका दाजु तीर्थमान तामाङले उद्धार गरिदिन अनुरोध गर्दै वैदेशिक रोजगार उद्धार नेपालमा निवेदन दिएका छन् । उक्त निवेदनमाथिको कारबाही अघि बढेको उद्धार नेपालका अध्यक्ष गोलेले जानकारी दिए ।
म्याग्दीकी लक्ष्मी (सांकेतिक नाम) ५ महिना अगाडि कुवेत गएकी थिइन् । भिजिट भिसामार्फत कुवेत पुगेकी लक्ष्मीले उद्धारका लागि निवेदन दिएकी छिन् । पोखराका राम विकमार्फत कुवेत पुगेकी उनलाई कुवेती एजेन्ट गीता विकले काम लगाइदिने भनेकी थिइन् ।
कुवेत पुगेपछि कामज्वरो आउने, खाना नरुच्ने भएकाले काम गर्न नसक्ने बताउँदै उनी काममा जान छाडिन् । तर, उनलाई अफिसमा लैजाने, फर्काउने गर्ने गरिएको थियो ।
उनको नाक मुखबाट रगत आउने गरे पनि उपचारको व्यवस्था नगरिएपछि उनले उद्धारको माग गरेकी थिइन् । सोही अनुसार उनका ससुरा वलीप्रसाद कामीले उद्धारका लागि निवेदन दिएका थिए ।
गोरखाकी सुनिता (सांकेतिक नाम) पनि भिजिट भिसामार्फत कुवेत पुगिन् । कुवेत गएपछि उनी बिरामी परिन् । बिरामी भई काम गर्न नसक्ने हुनुका साथै घरमा उनका श्रीमान् समेत बिरामी थिए । जसले गर्दा उनले उद्धार गरिदिन अनुरोध गरेकी थिइन् ।
गंगा, लक्ष्मी, सुनिता जस्ता सयौँले नेपाली घरेलु श्रमिकले कुवेतबाट उद्धारका लागि अपिल गर्दैै आएका छन् । उद्धार नेपालमा त्यसरी ४ सयभन्दा बढी पीडितको निवेदन फाइल रहेको अध्यक्ष गोलेले जानकारी दिए ।
कुवेतका लागिमात्र नभई इराकबाट समेत उद्धारका लागि अनुरोध गर्दै निवेदन दिनेको संख्या उत्तिकै छ । अध्यक्ष गोले राज्यले नसक्ने काम आफूहरूले गर्दै आएको बताए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष रणध्वज लामा विशेषगरी नयाँ जाने महिलाहरू भाषा, सिप र सांस्कृतिक ज्ञान अभावमा बढी समस्यामा पर्ने गरेको बताउँछन् । समस्यामा परेपछि उनीहरू घरबाट भागेर अवैध बन्न पुग्छन्, जसले गर्दा उनीहरूको अवस्था झनै जटिल बन्ने गरेको उनको भनाइ छ ।
उद्धारको जटिल प्रक्रिया : जसले बेच्यो, उसैसँग गुहार
पीडित महिलाको उद्धार प्रक्रिया अत्यन्तै जटिल छ । अध्यक्ष गोले भन्छन्, ‘एजेन्टविना विदेशबाट मान्छे ल्याउन सम्भव नै छैन । जसले गैरकानुनी रूपमा पठाएको हो, उसैलाई समातेर, फकाएर र उसैमार्फत पैसा तिरेरमात्र उद्धार गर्न सकिन्छ ।’
जब कुनै पीडितको उजुरी आउँछ, उद्धार संस्थाहरूले पहिले नेपालको एजेन्टलाई सम्पर्क गर्छन् । त्यसपछि उक्त एजेन्टले कुवेतको एजेन्टलाई सम्पर्क गर्छ र पीडित महिलालाई किनेको पैसा (साढे ३ लाखसम्म) मालिकलाई फिर्ता गरेपछि मात्र उनीहरू छुट्छन् । यो पैसा पीडितको परिवारले नै जुटाउनुपर्ने हुन्छ । ‘पैसा तिरेर मात्रै ल्याउन सकिन्छ । उनीहरूका लागि त्यो कानुनी हो, हाम्रो देशको लागि गैरकानुनी,’ गोलेले भने ।
कहिलेकाहीँ परिवारले पठाएको पैसा एजेन्टले लिएर सम्पर्कविहीन हुँदा अवस्था झनै खराब हुने गरेको छ । यस्तो अवस्थामा ‘वैदेशिक रोजगार उद्धार नेपाल’ जस्ता संस्थाले आर्थिक जोखिम मोलेर समन्वयकारी भूमिका खेल्ने गरेका छन् ।
सरकारी निकाय र संस्थाहरूको भूमिका
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार कुवेतमा हाल करिब १ लाख ६० हजार नेपाली छन् । तीमध्ये झन्डै ६० हजार घरेलु कामदार छन् भने बाँकी विभिन्न कम्पनीमा काम गर्छन् ।
नेपालबाट जाँदा प्रक्रिया अवैध भए पनि कुवेतको कानुन अनुसार भिसा पाउने भएकाले कुवेतमा भने गैरकानुनी मानिदैन । यसले गर्दा उनीहरूलाई र्ट्र्याक गर्न र उद्धार गर्न दूतावासलाई कठिनाइ हुन्छ । यद्यपि, दूतावासले विभिन्न निकायसँग समन्वय गरेर उद्धार प्रयास गर्दै आएको छ ।
एनआरएनए कुवेतले पनि पीडितलाई दूतावाससँग समन्वय गराउने, राहत दिने र आवश्यक सहयोग गर्ने काम गरिरहेको अध्यक्ष लामाले बताए ।
उद्धारका प्रयास भए पनि यो समस्याको चक्र रोकिएको छैन । ‘हामीले दुई जनालाई उद्धार गरेर ल्याउँछौं, तर माथिबाट २ सय जना फेरि बेचिएका (जान्छन्) हुन्छन्,’ गोलेले भने ।
गोले १७ वर्षदेखि यही क्षेत्रमा काम गर्दै आएका छन् । उनको नजरमा हाल सबैभन्दा बढी समस्या कुवेत र इराकमा छ । इराकबाट समेत उद्धारका लागि सयौँको संख्यामा निवेदन आइरहेका छन् ।
कुवेतका लागि उद्धार गरिदिन अनुरोध गर्दै ४ सयभन्दा बढी निवेदन आएको तर अनौपचारिक माध्यमबाट ३ हजारभन्दा बढी अनुरोध आएको उनले बताए । कुवेत र इराकमा रहेका आफ्ना प्रतिनिधिमार्फत दूतावास, एनआरएनए लगायत निकायसँग समन्वय गरेर उद्धार गर्दै आएको गोलेको भनाइ छ ।
जबसम्म नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ‘सेटिङ’ र मानव तस्करीको जालो तोडिँदैन, तबसम्म नेपाली महिलाहरूको यो दर्दनाक अवस्था अन्त्य नहुने गोलेको भनाइ छ ।
प्रतिक्रिया 4