+
+
Shares
हृदयन्द्रको जुम्ला भ्लग :

उनी दुनियाँलाई जुम्ला देखाउन गए, दुनियाँले उनलाई हेरे

शिव मुखिया शिव मुखिया
२०८२ साउन १६ गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हृदयेन्द्र शाहले जुम्लामा पहिलोपटक समाजसँग नजिकबाट साक्षात्कार गर्दै कर्णाली क्षेत्रको सौन्दर्य र जनजीवनको अनुभव गरे।

‘कोइ सुन्दैन, कोइ सुन्दैन कान्नाली रोयाको आवाज’ यो विरही भाका सुनिरहँदा हृदयेन्द्र शाह अरु शान्त र सौम्य देखिए । उसो त उनी कर्णाली रोएको होइन, हाँसेको हेर्न गएका थिए । दुनियाँलाई ‘लुकेको स्वर्ग’ देखाउन गएका थिए । दुनियाँले कर्णाली होइन बरु उनैलाई हेरे । एकदमै उत्सुकताले ।

यसअघि यति नजिकबाट हृदयेन्द्रले समाजसँग साक्षात्कार गरेको देखिएको थिएन । उनको बोलीचाली कस्तो छ ? हिँडाइ-हँसाइ कस्तो छ ? लवाइखुवाइ कस्तो छ ? धेरैलाई थाहा थिएन । थाहा नहुनु नै एउटा लुकेको सौन्दर्य थियो । जसरी लुकेको छ कर्णालीको भूगर्भमा प्रकृतिका मनोरम छटाहरू ।

राजसी विरासत लिएर जन्मिएका, दरबारको सेरोफेरोमा खाइखेली हुर्किएका, विलासी जीवन भोगचलन गरिरहेका उनी नेपाली समाजकै यस्ता दुर्लभ पात्र हुन्, जो आफूले नचाहेरै चर्चाको उत्कर्षमा रहने गर्छ । उनी को हुन् ? धेरैलाई थाहा छ । उनी कस्ता छन् ? धेरैलाई थाहै छैन ।

पञ्चकली बुढा सोध्छिन्, ‘तपाईंको नाम के हो ?’

उनी मुस्कुराउँदै भन्छन्, ‘हृदेयन्द्र वीरविक्रम शाह ।’

‘नाम चाहिँ सुनेको हो, एकदमै खुसी लाग्यो भेट्न पाएर । आजै आउनुभयो ?’ पञ्चकलीको प्रश्न ।

‘आजै आएको’ हृदयेन्द्रको संक्षिप्त जवाफ ।

पञ्चकली नव आगन्तुकसँग वातचित गर्न उत्सुक छिन् । उनी सोध्छिन्, ‘प्लेनमा आउनुभएको हो ? प्लेनमा आउँदा हल्लाएन र ?’

‘एकदम हल्लायो, लास्टतिर’ हृदयेन्द्र उही मुस्कानका साथ जवाफ फर्काउँछन् ।

त्यसपछि पञ्चकलीले उनलाई गुम्बाको त्यो अग्लाइबाट कर्णालीको सेरोफेरो औंल्याउँदै भन्छिन्,

‘त्यो चाहिँ हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, उपचारका लागि धेरै ठाउँबाट त्यही आउँछन् । माथि डाँडामा टावर जस्तो देखिन्छ नि, त्यो नेटको हो । त्यहाँ धर्म संस्कार अनुसार मेला पनि लाग्छ । भदौमा । उता डाँडामा हिँउ परेको हिमाल देखिन्छ नि, त्यो कान्जिरोवा ।’

*** ***

लुकेको स्वर्गको खोजी । जुम्लाको यात्रा हृदयेन्द्रसँग ।

यही शीर्षकको भ्लगमार्फत हृदयेन्द्रले पहिलो पटक समाजसँग अत्यन्तै नजिकबाट साक्षात्कार गरेका छन् । उनी जुम्लाको सौन्दर्य खोज्न निस्किएका हुन् वा आफैंलाई खोज्न ?

किनभने पारिवारिक घेराबाट बाहिर निस्किएर मनमौजी घुलमिल गर्न उनलाई त्यति सजिलो छैन, जति उनकै छिमलका अरु केटाकेटीलाई छ । उनलाई धेरै कुराले रोक्छ । चाहे त्यो खानदानी मर्यादाले होस् वा त सुरक्षाको हिसाबले ।

तर, यसपालि त्यस्तो भएन । भौगोलिक दूरीले लगभग ८०० किलोमिटर टाढाको जुम्ला पुगे । उकाली ओराली हिँडे । कफी दोकानमा पसे, गुम्बामा घुमे, कर्णालीको तिरमा सुस्ताए । सिँञ्जा भ्यालीको कथा सुने, मार्सी चामलको मोल सुने, रैथाने स्याउको बखान सुने, रारा तालको चर्चा सुने । अनि भेटिएका मान्छेहरुसँग भलाकुसारी गरे । मुसुमुसु हाँस्दै । शान्त, सौम्य शैलीमा ।

त्यहाँ भेटिएकाले उनलाई हार्दिकतासाथ स्वागत गरे । मीठो वातचित गरे । कर्णालीको मुख्य केन्द्रहरु घुमाए । यसो भन्दै, ‘हेर्नुस् त, यो हजुरको जिजुबाजेको पालामा बनेको ।’ त्यसबेला उनीहरु कर्णाली प्राविधिक शिक्षालयको प्राङ्गणमा थिए ।

‘यहाँ कति जना स्टुडेन्ट छन् ?’ हृदयेन्द्रले चासो राखे ।

युवाले अनुमान गरे, ‘सायद ८ सय जना होलान ।’ उनले के पनि सुनाए भने, त्यहाँ पढेर थुप्रैले अहिले सरकारी जागिर खाइरहेका छन् ।

हृदयेन्द्र केहीबेर त्यहाँको संरचना हेर्दै रमाए । अनि भने, ‘अहिले त घुमेर सकिने रहेनछ, पछि फेरि आउला ।’

त्यसअघि उनी सानो कफी एवं बेकरी दोकानमा छिरेका थिए । अनि दूध कफी मगाएका थिए । चिज केक चाखेका थिए । त्यहाँ सजाइएका चित्रहरू रुचिपूर्वक हेरेका थिए । त्यसक्षण उनको आँखा जापानी एनिमेमा टक्क अडिएका थिए । उनले कफी सप चलाएर बसेका पौरखी युवालाई सोधेका थिए, ‘यो एनिमेको नि तपाईंले राखेको ? म नि हेर्ने गर्छु । यो वान पिसको रहेछ ।’

उनी जुन खानदानमा जन्मिए–हुर्किए, त्यहाँ राजतन्त्रको ह्याङओभर कायमै छ । त्यसैले बोलीचाली र शिष्टचार शैली अलि ‘विशिष्ट’ हुने नै भयो । यद्यपि उनमा त्यसको अंश परेको देखिएन । उनी साधरण थिए, साधरण वातचित गर्थे, साधारण व्यवहार देखाउथे । त्यही साधरणपन हो, धेरैलाई मन परेको ।

नेता–मन्त्रीका छोरा–नाती र भाई–भतिजोले उत्पात मच्याइरहेको पृष्टभूमिमा उनी जति सहज ढंगले पदार्पण भए, त्यसले थुप्रैको मन जित्यो । के उनी यसरी नै जित्नका लागि निस्किएका थिए ?

थाहा छैन, कर्णालीको चिसो पानीमा खुट्टा चोपल्दै, बगैंचाको ओखर चाख्दै, गोरेटोमा उकाली ओराली गर्दै उनी कुन रहरले त्यहाँ पुगे ?

जो जन्मजात चर्चामा हुन्छ, जसको नामले बेलाबखत तरंग पैदा गर्छ उसले यो समाजलाई कस्तो देख्छ होला ? कसरी हेर्छ होला ? कस्तो सोच्छ होला ?

कोही भन्छन्, हृदयेन्द्रलाई राजा बनाउनुपर्छ । कोही भन्छन्, हृदयेन्द्रलाई हिरो बनाउनुपर्छ । आखिर उनीचाहिँ के बन्न चाहन्छन् होला ?

पञ्चकली बुढा सोध्छिन्, ‘हाम्रो यो नेपाल अब कहिले समृद्ध हुन्छ होला ?’

‘मान्छेले राम्रो काम गर्‍यो भने, सबै कुरा राम्रो चल्यो भने त हुन्छ होला । अलिकित हामी पनि लाग्नुपर्‍यो, आँट गर्नुपर्‍यो । हुन्छ होला ।’

जुम्ला देखाउन गएका उनले सबैभन्दा बढी त त्यहाँ आफैंलाई देखाए । उनलाई हेरिरहँदा लाग्यो, उनी राजाभन्दा बढी हिरो देखिन्छन् । यस्तो हिरो, जसलाई समाजले हेर्न र सुन्न चाहन्छ ।

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?