
News Summary
Generated by OK AI. Editorially reviewed.- मुन्धुम ट्रेल भ्रमण वर्ष २०२५ मनाउने घोषणा पश्चात ग्रेटर मुन्दुम ट्रेलको यात्रा सुरु भयो जसले किराती समुदायको सांस्कृतिक महत्व उजागर गर्यो।
- मुन्धुम ट्रेलको विकासका लागि स्थानीय तहका जनप्रतिनिधि र प्रवर्द्धन संस्थासँग छलफल गरी थप विकासका योजना बनाइयो।
- १२औं दिनमा ५८४५ मिटर उचाइको आम्फुलाप्चा चुचुरो पुगेर हिमाल आरोहण सम्पन्न गरियो र सांस्कृतिक तथा भौतिक रूपमा खुवालुङ र चोमोलुङ्मा जोडिएको पुष्टि भयो।
बिहान ७ बजेको समय हामी जेटबोट चढेर कोशीको पानीमा हुँइकिंदै थियौं । चतराको बराहक्षेत्रबाट शुरु भएको हाम्रो यात्रा खुवालुङ किनारमा पुगेर रोकियो । सामान्य आँखाले हेर्दा खुवालङ बगिरहेको कोशीको मझधारमा रहेको एउटा ढुङ्गा हो । तर किराती समुदायको लागि यसले सामाजिक, सांस्कृतिक महत्व बोकेको छ ।
सन् २०२५ लाई स्थानीय सरकारले मुन्धुम ट्रेल भ्रमण वर्ष मनाउने घोषणाले म निकै उद्वेलित भएको थिएँ । यही मेसोमा ग्रेटर मुन्धुम ट्रेलको यात्रा गर्न बेलायतबाट नेपाल आएँ । मलाई साथ दिन सिंगापुर प्रहरीमा कार्यरत भाइ कुमार राई पनि नेपाल आए ।
खुवालुङ सुनकोशी, अरुण र तमोर नदीको संगमस्थल हो । मुन्धुम मा व्याख्या गरिए अनुसार हजारौं वर्ष पहिले किराती पुर्खाहरू निया (हाल चीनमा अवस्थित) बाट बसाइँ सर्दै खुवालुङ आइपुगे । उनीहरू (राई, लिम्बू, सुनुवार) खुवालुङबाट तीनतिर लागे भन्ने मान्यता छ ।
राईले अरुण, लिम्बूले तमोर र सुनुवारले सुनकोशी पछ्याउँदै अघि बढे । पुर्खाले हिंडेको त्यही बाटो हिंड्ने उद्देश्यले हामी दाजुभाइ खुवालुङ किनारमा उभियौं । चोमोलुङ्मा बेसक्याम्पलाई अन्तिम गन्तव्य बनाएर अघि बढेको हाम्रो यात्रा भोजपुरको हतुवागढी, टेम्के मैयुङ, साल्पा सिलिचुङहुँदै महाकुलुङको छेस्काम पुग्यौं । छेस्काममा रहेको सनराइज होटलमा बास माग्दै गर्दा सात दिन बितिसकेको थियो ।
पूर्वनिर्धारित योजना अनुसार छेस्काममा स्थानीय तहका जनप्रतिनिधि, चखेवास्थित कम्फर्ट होलिडे रिसोर्टका सञ्चालक विवेक कुलुङ, मुन्धुम ट्रेल प्रवर्द्धन संस्थाका अध्यक्ष रमेश राईसँग भेट भयो । यो भेटमा हामीले मुन्धुम ट्रेलको थप विकास कसरी गर्न सकिन्छ भनेर छलफल गर्यौं ।
गाउँपालिकामा कार्यरत कर्मचारीहरू ध्रुव कुलुङ, झमक कटुवाल र स्थानीय भलाकाजी कुलुङ हामीसँगै यात्रामा जोडिने हुनुभयो । उहाँहरूले हामीलाई आवश्यक पाँच जना भरिया र रसदको व्यवस्था पनि गरिदिनुभयो । छेस्काम माथिको डाँडामा पुगेपछि भलाकाजी कुलुङले जुक्तुस्को ठूलो ढुङ्गा देखाउँदै त्यहाँ कुलुङको प्रथम पुर्खा बसेको बताए ।
किरातीहरू त्यहाँ आएर लामो समय सिकार खेल्दै बसेका थिए । मुन्धुम अनुसार उनीहरू त्यहाँबाट विस्तारै बुङ तथा गुदेल क्षेत्रमा फैलिए ।
मुद्धिखर्कमा बास बसेको बेला ध्रुव कुलुङले एक विदेशीले बाटो भुल्दा जन्मिएको उद्धार मार्गको कथा सुनाए । करिब ३० वर्ष अगाडि एक पर्यटक हिमाली क्षेत्रबाट अल्मलिएर डि क भन्ने एक स्थानीयको गोठमा आइपुगे । थकित र भोको ती पयर्टकलाई डि कले बासी ढिंडो र मही खान दिए । तर खाना खाएर पर्यटक अझ बिरामी परे । गाउँलेको सहयोगमा पर्यटकलाई हेलिकोप्टर मार्फत काठमाडौं पठाए ।
पछि त्यो पर्यटक फेरी छेस्काम फर्केर आयो । उनी फ्रान्सेली नागरिक रिचर्ड भएको कुरा त्यही बेला थाहा भयो । डि कलाई आभार प्रकट गर्न पुनः छेस्काम आएका रिचर्डले आर्थिक सहयोग पनि गरे । त्यसैबेलादेखि स्थानीय भलाकाजी कुलुङ र बागमान कुलुङ रिचार्डले अलमलिएर दुःख पाउँदै हिंडेको बाटोलाई रेस्क्यु रुट बनाउन कस्सिए । सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा त्यो बाटो निर्माण कार्य सम्पन्न भयो, जसलाई अहिले हिङगु भ्याली एभरेष्ट ट्रेक भनेर चिनिन्छ ।
त्यही बाटो पछ्याउँदै हामी १२औं दिनमा खोङमादिङ भ्याली आइपुग्यौं । खोङमादिङ ४९४८ मिटरको उचाइमा रहेको सुन्दर ठाउँ हो । अधिक उचाइले गर्दा हामीमध्ये कतिपयलाई सास फेर्न गाह्रो भइरहेको थियो । खोङमादिङबाट बिहानीमा देखिएको दृश्यहरू मनमोहक थियो । पूर्वमा आँखै अगाडि देखिएको चामलाङ हिमाल अझ लोभलाग्दो थियो । मेरो पाइला पश्चिमतिरको मेरापिकतिर सोझियो । हेर्दा नजिकै लागे पनि हिंड्नलाई घन्टौं खर्चिनुपर्ने नौलो अनुभव भइरहेको थियो ।
हिमाल चढ्नलाई शारीरिक तन्दुरुस्ती र उच्च मनोबल दुवै चाहिने रहेछ । मन पनि दुईखाले हुँदोरहेछ एउटा सजिलै हार मान्ने अर्को ढिठ जिद्दी । त्यसबेला ढिठ जिद्दी मनको जित भयो र ५२०० मिटर उचाइमा पहिलो पल्ट उभिए । तर त्यहाँ त केवल बादलका लप्काहरू मात्र आँखा अगाडि नाच्दै थिए । कुनै वस्तुप्रतिको सुन्दरता पनि सापेक्ष हुँदोरहेछ । अक्सर कुनै कथा, निबन्ध र कवितामा भेटिएका बादल सुन्दर बिम्व बनेर उभिएका हुन्छन् । तर यहाँको बादलले मैले हेर्न खोजेका दृश्यहरूलाई छेकिरहेका थिए । यहाँ आउनको लागि आफूले देखाएको जिद्दीपन, शारीरिक थकान अनि बादलले ढाकिएको स्थानमा म आफूले हारेको अनुभव गर्न थाले अनि रोएँ ।
तर केही बेरमै मेरो आँशु हाँसोमा परिणत भयो । विस्तारै बादल फाटेर हिमालका चुचुराहरू देखिन थाले । मेरापिक यति नजिक देखिन्थ्यो कि मैले हिमाल चढ्दै गरेका मानिसहरू देख्न सकें । तल फेदमा देखिएको हरियो ताल शब्दमा बयान गर्न सक्दिनँ । उचाइबाट प्रकृतिको रसास्वादन गरेर म फेरि वासस्थानतिर फर्किएँ । बस्ने ठाउँमा आइपुग्नासाथ बाक्लो हिमपात शुरु भयो । हिमालको मौसम बुझ्न त्यो एउटा यात्रा शायद काफी थिएन ।
उज्यालो भएपछि गाउँपालिकाको टोली मेरापिक चढ्न मेराला पासतिर लागे । बिदाइका हात हल्लाउँदै हामी चार जनाको टोली आम्फुलाप्चा हुँदै एभरेष्ट बेसक्याम्प जाने बाटोतिर माउन्टेन गाइड पदम कुलुङको पछिपछि लाग्यौं । अगाडि बढ्ने क्रममा हामी सेतीपोखरी पुग्यौं । पोखरीमाथि पूरै हिउँ जमेको थियो । त्यसको किनारमा स–साना टी हाउसहरू थिए । एउटा टी हाउसमा बास बसेपछि फेरि हिउँ पर्न थाल्यो ।
बिहानको तीन बजे नै सेतीपोखरीबाट उकालो लाग्यौं । उज्यालो हुँदा हामी पाँखपोखरी पुगिसकेका थियौं । दर्जनौं पोखरी पार गर्दै हामी हुङपुई ताल पुग्यौं । यो ताल ५४१५ मिटरको उचाइमा रहेको छ । यस क्षेत्रकै सबैभन्दा माथिल्लो स्थानमा रहेको कारण किरातीहरू यस ताललाई पवित्र मान्ने गर्दछन् । मुन्धुम मा पनि यस तालको वर्णन पाइन्छ । कुलुङ भाषामा हुङपुईको अर्थ खोलाको उद्गमबिन्दु भन्ने हुन्छ ।
हुङपुई ताल किनारमाथि रहेको आम्फुलाप्चाको हाइक्याम्पदेखि उँभो लागेपछि साँच्चिकै हिमाल चढिरहेको अनुभव भइरहेको थियो । हामीले चालेको हरेक पाइलाले शारीरिक परीक्षा लिइरहेको थियो । फोक्सोले चाहिने मात्रामा अक्सिजन पाइरहेको थिएन । तर यस्तो असहज अवस्थामा पनि मनले भने उत्साह र उत्सुकताको उत्सव मनाइरहेको थियो । करिब दुई घण्टापछि हामीले डोरी टाँगेको ठाउँ (रोपवे) भेट्टायौं । हामी त्यही डोरी समाउँदै अन्ततः ५८४५ मिटरको आम्फुलाप्चाको चुचुरोमा पुग्यौं ।
चुचुराबाट भर्खरै हिंडी आएको हुङगु भ्यालीतर्फ नियालें । यहाँबाट हेर्दा हुङपुई ताल सानो देखिन्थ्यो । चामलाङ हिमाल होचो लाग्थ्यो । अर्कोतिर आँखा घुमाउँदा हामी झर्ने गहिरो खुम्बु उपत्यकाको एउटा कुनामा इम्जा तालको एकछेउ देखिन्थ्यो ।
हिमाल चढ्न भन्दा झर्न अझ कठिन थियो । हिमालको सबैभन्दा अप्ठेरो भीर सफलतापूर्वक पार गराएर पदमजी र पोर्टर साथीहरू फर्किनुभयो । त्यो दिन छिकुङ पुग्नै पर्ने थियो । सेतीपोखरीबाट बिहान ३ बजे हिंडेका थियौं । बेलुकी ९ बजे मात्र छिकुङ पुगियो । हिंडेको जम्मा १८ घण्टामा २४ किलोमिटर मात्र हो तर हिमालको लागि त्यो दूरी सामान्य भने होइन ।
छिकुङको खाङरी रिसोर्टमा पुग्दा सुविधासम्पन्न होटल छिरे जस्तो थियो । खाना खाएर सिधै ओछ्यानमा पल्टियौं । बिहान हामी चिया खाएर बाहिर निस्कँदा आमादब्लाम हिमालमा झलमल्ल घाम लागेको थियो । त्यही हिमालको फेदमा रहेको इम्जा तालबाट बगेको नदी किनारा समाएर देङबोचे हुँदै पाङबोचेको पिक फिफ्टिन होटलमा बास बस्न आइपुग्यौं । बिहान खुम्बु ग्लासियर्स हुँदै सिधै बेसक्याम्पतिर लाग्यौं । निकै माथि पुगेपछि चोमोलुङ्माको टुप्पो देखियो ।
१८औं दिनको करिब १२ बजे हामी चोमोलुङ्मा बेसक्याम्प आइपुग्यौं । खुवालुङबाट मैले सानो सिसीमा पानी बोकेर ल्याएको थिएँ । मैले त्यो पानी चोमोलुङ्मालाई चढाए जो उसैको शिरबाट खुम्बु आइसफल हुँदै बगेर खुवालुङ पुगेको थियो ।
खुवालुङ र चोमोलुङ्मा भौतिक रूपमा जसरी परिपूरक छन्, ऐतिहासिक र सांस्कृतिक रूपमा पनि त्यसरी नै मुन्धुम ले जोडेको छ । मुन्धुम ले जोडेको ग्रेटर मुन्धुम ट्रेलको यात्रा पूरा गर्दाको खुशी मेरो जीवनमा सदा स्मरणीय रहनेछ ।
प्रतिक्रिया 4