
२० साउन, धनगढी । कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छन् । १७ वर्षीया सम्झना भट्ट घरमै झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
६ महिनाअघि मात्रै बेल्डाँडी गाउँपालिका–२ का २४ वर्षीय पवन भट्टसँग विवाह गरेकी सम्झना आइतबार मृत भेटिएकी हुन् ।
सम्झनाको मृत्युलाई आफन्तले शंकास्पद भनेका छन् । माइती पक्षले घटना शंकास्पद भएको बताएपछि प्रहरीले सम्झनाका श्रीमान् पवनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
श्रीमानले कुटपिट गरेको, यातना र तनाव दिएका कारण उनको मृत्यु भएको भन्दै माइती पक्षले किटानी जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा पवनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराले जानकारी दिए ।
जाहेरीमा सम्झनालाई पवनले कुटपिट गरेर यातना दिने, अन्य लाञ्छना लगाएर मानसिक तनाव दिने गरेको उल्लेख छ । पक्राउ परेका पवनलाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
मृत्युअघि सम्झनाले एक जना साथीलाई वाट्सएपमा म्यासेज पठाउँदै श्रीमानले आफूमाथि कुटपिट गरेको बताएको खुलेको छ । प्रहरीका अनुसार घटना भएको अघिल्लो दिन मात्रै सम्झना श्रीमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय बेल्डाँडीमा पुगेकी थिइन् ।
प्रहरीले उनका श्रीमान् पवनलाई बोलाएर सम्झाइबुुझाइ गरेर कुटपिट नगर्ने शर्तमा छाडेको थियो । तर, भोलिपल्ट भने सम्झना मृत अवस्थामा भेटिएकी थिइन् ।
पारिवारिक स्रोतका अनुसार सम्झना पवनसँग १३ वर्षको उमेरदेखि प्रेम सम्बन्धमा थिइन् । दुई जनाको सम्बन्ध सार्वजनिक भएपछि उनीहरुले प्रेमविवाह गरेका थिए । तर, प्रेम विवाह गरेपछि पवनले सम्झनालाई कुटपिट गर्ने तथा यातना दिने गरेको परिवारको दाबी रहेको छ ।
सम्झनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया 4