+
+
Shares

जिम्मेवारीबोध गराउने कृति-म अर्किड

रमेश बस्नेत रमेश बस्नेत
२०८२ साउन २१ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ५ जुन २०२५ को वातावरण दिवसमा प्रा.डा. विजया पन्तको अर्किड विषयक पुस्तक लोकार्पण भएको छ।
  • पन्तले अर्किडको संरक्षण, अनुसन्धान र प्रविधिबाट मानव कल्याणमा योगदान पुर्‍याएको उल्लेख गर्नुभयो।
  • पुस्तकमा ३७ शीर्षक र रंगीन तस्वीरसहित अर्किडको विविधता, संरक्षण र व्यवसायीकरण विषय समेटिएको छ।

जलवायु परिवर्तनका असरहरूसँग जुध्न पछिल्लो समय हरित तथा पर्यावरणीय साहित्यको महत्व बढ्दै गइरहेको छ । यसै सन्दर्भमा ५ जुन २०२५, वातावरण दिवसको शुभ साइतमा प्रा.डा. विजया पन्तको म अर्किड पुस्तक लोकार्पण भएको छ ।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय वनस्पति विभाग अन्तर्गत प्लान्ट बायोटेक्नोलोजी डिपार्टमेन्टकी प्राध्यापक पन्त नेपाली साहित्य क्षेत्रमा सुपरिचित हुनुहुन्छ। पन्त नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) की प्राज्ञ समेत हुनुहुन्छ । झण्डै ३ दशकदेखि अर्किडको प्रसारण, यसका रसायनहरूको अन्वेषण र उपयोगिता तथा दिगो संरक्षण सम्बन्धी विषयमा अनुसन्धान एवम् प्राध्यापनरत हुनुहुन्छ ।

आफ्नै कथा व्यक्त गर्न कठिन हुने अवस्थामा सुनाखरीको कोमलता, सुन्दरता र संघर्षको आत्मकथा लेख्नु सहज छैन । यसका लागि अर्किडसँग घनिष्ट नाता जोड्न सक्नुपर्छ, अनि उसको मनको आवाजसँग संवाद गर्न सक्नुपर्छ । पन्तले अर्किडको ज्ञान, विज्ञान र प्रविधिबाट मानव कल्याण र सेवामूलक उत्पादनलाई जीवनको अभिन्न अंगको रुपमा साक्षात्कार गर्नुभयो । त्यसैकारण यो जीवन्त आत्मवृतान्त हाम्रो हातमा आइपुगेको हो ।

स्वदेशी, विदेशी अर्किड संरक्षणकर्मी, अनुसन्धानकर्ताहरूलाई तस्वीरसहित विशाल हृदयले कृतज्ञता ज्ञापन गर्नु र सहकार्यका लागि खुला हुनु कृतिकारको महानता हो । यसैको परिणामस्वरुप अर्किड कन्जरभेसन अलाइन्स, अमेरिकाले सन् २०२६ मा काठमाडौंमा आयोजना हुन गइरहेको ५औं अन्तर्राष्टिय अर्किड सिम्पोजियमको मुख्य संयोजकको जिम्मेवारी दिई उहाँप्रति अटल विश्वास र सम्मान प्रकट गरेको छ ।

नेपालका प्रख्यात वनस्पतिविज्ञ एवम् नास्टका आजीवन सदस्य डा. तीर्थ बहादुर श्रेष्ठ र अर्किड कन्जरभेसन अलाइन्स, अमेरिकाकी प्रा.डा. मेरी ई. गेरिसनले पुस्तकको भूमिका लेख्नुभएको छ । उहाँहरूको सारगर्वित भूमिका लेखनले कृतिको गरिमालाई थप उजागार गरेको छ । यद्यपि भूमिकामा उहाँहरूको हस्ताक्षर नछुटेको भए अझ राम्रो हुने थियो।

पुस्तकमा सहज, सुन्दर र नवीन स्वाद भेटिन्छ । कूल ७७ पृष्ठमा ३७ वटा शीर्षक र १ सन्दर्भ सामाग्री समेटिएको छ । हरेक शीर्षक रोचक, ज्ञानवर्द्धक र कतै कतै घोचक पनि छन् ।

मेरा विविध आकार प्रकार र अचम्म लाग्दा फूलहरू, म र मथप्रति डार्विनको चाख र मेरो बारेमा उनले लेखेका पुस्तकहरू, सभा सम्मेलनमा म प्रतिको चासो र छलफल लगायतका शीर्षकहरू पुस्तकमा छन् ।

प्रत्येक शीर्षकको बायाँ पानामा अंग्रेजी र नेपालीमा वर्णन र दायाँ पानामा सम्बन्धित रंगीन तस्बिहरू छन् । त्यसैले पुस्तक पढ्न सुरु गरेपछि पानाहरू अघि बढेको थाहै हुँदैन । बजार र पाठकहरूको परम्परागत स्वाद भन्दा पृथक रहेर नयाँ शैली र स्वादमा पस्किन कृतिकारलाई अर्किडसँगको वर्षौंसम्मको गहन अध्ययन, साधना र एकाकारले नै आत्मविश्वास दिएको हुनुपर्छ ।

पुस्तक पढ्दै जाँदा अधिकांश पाठकमा पटक-पटक आफ्नो गाउँघर, पँधेरा, खेतबारी, वनपाखासँग साक्षात्कार गरेका स्मृतिहरू ताजा हुन्छन् । रुखहरू, त्यसमा ढपक्कै फूल्ने सुनाखरीको स्मृति ताजा हुन्छ ।

पुस्तकमा देखिएका सुनाखरीहरू आफ्नो गाउँ घरमा भए नभएको उनीहरूले मनमनै पहिचान र सर्वेक्षण गर्नेछन्, पाइएका सुनाखरीहरूमा मक्ख परी संरक्षण, उद्यम वा इको टुरिज्म (पर्यापर्यटन) गर्ने सोच राख्नेछन्, केही क्षणका लागि भए पनि सही, गाउँप्रतिको वास्तविक जिम्मेवार र कर्तव्यबोध गरी त्यो माटोमा सेवा र सुगन्ध थप्ने प्रण गर्नेछन् । किनकि त्यो अर्किड र आधुनिकताको नाउँमा व्यस्त ऊ, त्यही माटोकै अंश हो, उनीहरूबीच अत्यन्तै गहिरो र अन्योन्याश्रित सम्बन्ध छ, त्यो मनको कुना कन्दारामा ।

सुनाखरी वानस्पतिक परिवार (अर्किडेसी) संख्याको हिसाबले ठूलो परिवार हो । विश्वमा अर्किडका करिब २८ हजार भन्दा बढी र नेपालमा करिब ४५० प्रजातिहरू पाइन्छन् । यसको आकार–प्रकार (बाँदर, पुतली, चरा, जुत्ता जस्ता छन्), रङ (सेतो, पहेंलो, बैजनी, हल्का गुलाबी), बासस्थान (रुख, जमिन, सिमसार), भौगोलिक वितरण (तराई, पहाड, हिमाल), स्थानीय तथा जातीय नाम र उपयोगिताहरूमा विविधता पाइन्छ ।

मानिसहरू क्षणिक लोभमा लिप्त भएकाले सुन्दर र गुणवान् सुनाखरीहरूको वासस्थान विश्वव्यापी रुपमै घटिरहेको छ । त्यसै कारण यिनीहरू प्राकृतिक अवस्थामा दुर्लभ, संकटापन्न र लोपोन्मुख बन्दै गएका छन् । सुनाखरीका सम्पूर्ण प्रजातिहरू संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि (साइटिस) को अनुसूची १ र २ (करीब ९८ प्रतिशत) मा सूचीकृत गरी अन्तर्राष्ट्रिय व्यापारलाई नियमित गर्ने गरिन्छ । उक्त महासिन्धको पक्षधर देश नेपालमा अर्किडको निर्यात दस्तुर प्रतिकेजी ५०० रुपैयाँ छ।

टिस्युकल्चर प्रविधिबाट उत्पादित अर्किडहरूले यसको प्राकृतिक वासस्थानमा दक्खल नपुर्‍याउने भएकाले पुष्प व्यवसाय वा औषधि उत्पादन गरी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यापार गर्न सहज र वैधानिक हुनेछ । धूलोको रुपमा हुने बीउमा इण्डोस्पर्म नहुने हुनाले यसको अंकुरण क्षमता करिब ३ प्रतिशत मात्र हुन्छ ।

कृत्रिम रुपमा बेर्ना र बीउ उत्पादनले पनि यसको संरक्षण र व्यवसायीकरणमा सहयोग पुर्‍याएको छ । पोषण आपूर्ति तथा अंकुरणका लागि सुनाखरीले ढुसीसँग विशेष सम्बन्ध रही आफ्नो वृद्धि विकास गर्दछ । वंश विस्तारमा पनि कीरा, मौरी, चमेरा, चराचुरुङ्गीको सहयोगले विशेष किसिमका परागसेचन प्रक्रियाहरू हुन्छन् । यसर्थ, सुनाखरी संरक्षण र खेतीबाट मह उत्पादन पनि अर्को लाभको क्षेत्र हो ।

पुस्तक अत्यन्तै आकर्षक र ज्ञानवर्द्धक हुँदा हुँदै पनि केही शीर्षकहरू थप गरी करिब ८५ पानासम्म भए छरितो नै देखिन्थ्यो । यस अन्तर्गत नेपालका इन्डेमिक अर्किडहरू (जुन पृथ्वीको विशेष स्थानमा मात्र पाइन्छ र त्यहाँबाट लोप हुनु भनेको पृथ्वीबाट सदाका लागि लोप हुनु हो ।)

हरेक वैशाखको पहिलो हप्ता फूल्ने सलहेश फूलबारी, सिराहाको अर्किड डेन्डरोबियम अफाइलम, राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, ललितपुरमा संरक्षित अर्किडका होलोटाइपका हर्बेरियम नमूनाहरू (जसको वैज्ञानिक नामाकरणका लागि आधार बनाइएका नमूनाहरू), वैज्ञानिक नाम अन्तर्गत मालएक्सिस डोल्पेनसिस, अबेरोनिया नेपालेन्सीस, इरिया अन्नपुरनेनसिस्, इरिया बानिआई, ओडोन्टोचिलस नन्देइ ।

यस किसिमका अन्य प्रजातिहरू स्थानविशेष तथा अनुसन्धान एवम् संरक्षणकर्ताको सम्मानमा विश्व वैज्ञानिक जगतले दिएका नामहरू हुन् । ओडोन्टोचिलस नन्देइ (कैलालीकी महिला प्रकृति संरक्षणकर्मी नन्दादेवी कुँवर, जसले तस्करसँग लड्दा हात गुमाउनु परेको थियो, उहाँको सम्मानमा दिइएको नाम हो।), यसैगरी नेपाल फ्लोरा प्रकाशनमा अर्किडेसी परिवारको संक्षिप्त प्रगति भएको भए सुनमा सुगन्ध हुने थियो ।

पुस्तक नेपालमा वनस्पति सम्बन्धी साइटिसको आधिकारिक वैज्ञानिक निकाय वनस्पति विभाग र व्यवस्थापकीय निकाय वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, आयुसिएन, शैक्षिक एवम् अनुसन्धानमुखी संस्थाहरूका लागि उपयोगी छ ।

नीति निर्माता, परम्परागत एवम् आधुनिक औषधि उत्पादनकर्ता, वातावरण मूल्यांकनकर्ता, पुष्प व्यवसायी, विज्ञान शिक्षकहरू, स्वदेशी एवम् विदेशी सुनाखरीप्रेमीहरूका लागि समेत उत्तिकै ज्ञानवर्द्धक र प्रेरणादायी छ ।

पुस्तकले अर्किडको दिगो संरक्षण, जनसहभागिता, अनुसन्धान र व्यवसायीकरणबाट मनग्य लाभ लिन सकिनेमा विश्वास जगाएको छ । विज्ञान एवम् पर्यावरणीय साहित्यको रुपमा आएको यो पुस्तकको विषयवस्तुको दायरा, प्रस्तुति एवम् तस्वीरहरूको गुणस्तर हेर्दा मूल्य रु. १२०० स्वभाविक नै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?