+
+
Shares

मोदीलाई ‘अबकी बार, ट्रम्प सरकार’ को उपहार : ५० प्रतिशत भन्सार

सन् २०१९मा तत्कालीन राष्ट्रपति ट्रम्पसँगै काँधमा काँध मिलाएर भारतीय-अमेरिकीको विशाल सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अबकी बार, ट्रम्प सरकार’ भन्दै खुला रुपमा चुनाव प्रचार गरेका थिए । तर अहिले ट्रम्पले भारतलाई ५० प्रतिशत भन्सारको डन्डा चलाइदिएका छन् ।

जनार्दन बराल जनार्दन बराल
२०८२ साउन २२ गते २२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ मा ह्युस्टनमा ट्रम्प सरकारलाई खुला रुपमा समर्थन गरेका थिए।
  • राष्ट्रपति ट्रम्पले भारतमाथि कुल ५० प्रतिशत भन्सार लगाएर व्यापार युद्धलाई चरमोत्कर्षमा पुर्‍याएका छन्।
  • ट्रम्पको भन्सार नीतिले भारतको अर्थतन्त्रमा गम्भीर समस्या सिर्जना गर्ने र दुई देशबीच कूटनीतिक सम्बन्ध तनावग्रस्त भएको छ।

‘अबकी बार, ट्रम्प सरकार ।’ अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा सन् २०१९ को सेप्टेम्बरमा भएको भारतीय–अमेरिकनहरूको एक विशाल सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाएको नारा हो यो ।

ह्युस्टनको एनआरजी स्टेडियममा उपस्थित ५० हजारभन्दा बढीको उपस्थितिमा भएको सो कार्यक्रम ‘पोप’बाहेक कोही पनि विदेशी नेता सहभागी भएको अमेरिकाको सबैभन्दा ठूलो कार्यक्रम थियो । अर्को वर्ष सन् २०२० मा राष्ट्रपतिका लागि नयाँ निर्वाचन हुँदै थियो । त्यसअघि तत्कालीन राष्ट्रपति ट्रम्पसँगै काँधमा काँध मिलाएर सभालाई सम्बोधन गर्दै मोदीले ‘अबकी बार, ट्रम्प सरकार’ भन्दै खुला रुपमा उनलाई समर्थन गरेका थिए ।

सन् २०२० को चुनाव ट्रम्पले हारे तर मोदीले निरन्तर ट्रम्पलाई आफ्नो निकटको मित्रका रुपमा प्रस्तुत गर्ने गरेका थिए । तर, सन् २०२४ मा भएको निर्वाचनमा ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भए, जसमा भारतीय मूलका अमेरिकीको योगदान पनि महत्वपूर्ण मानिन्छ ।

ट्रम्पले पहिलो कार्यकालमा चीनलगायत मुलुकसँग व्यापार युद्ध शुरु गरेका थिए । तर, भारतसँगको सम्बन्ध सौहार्द रह्यो । यसपटक भने संसारका अनेक देशलाई उच्च भन्सार लगाएर उनले व्यापार युद्धलाई चरमोत्कर्षमा पुर्‍याएका छन् । अझ आफ्ना निकट मित्र मानिएका मोदीको भारतमाथि त ५० प्रतिशत भन्सार पुर्‍याएर कठोर व्यापार युद्ध छेडेका छन् ।

ट्रम्पले जस्तालाई त्यस्तै भन्सार (रेसिप्रोकल ट्यारिफ) भनेर भारतलाई २५ प्रतिशत भन्सार पहिल्यै लगाएका छन्, जुन बिहीवारबाट कार्यान्वयनमा आयो । ट्रम्प त्यतिमै रोकिएका छैनन्, भारतले रुसबाट तेल किनेको भन्दै उनले थप २५ प्रतिशत भन्सार लगाइदिए, जुन २१ दिनपछि लागू हुनेछ । भारतकै लागि भनेर बुधवार राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमा सही २५ प्रतिशत भन्सार थपिदिएका हुन्, अब अमेरिकाले भारतमाथि यसअघि लगाउँदै आएको भन्सार ५० प्रतिशत पुग्नेछ । अर्थात् यसअघि लाग्दै आएको भन्सारमा ५० प्रतिशत थपिनेछ ।

‘भारत सरकारले रसियन फेडेरेसनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तल आयात गरिरहेको मैले पाएँ,’ ट्रम्पले कार्यकारी आदेशमा लेखेका छन् । यो अमेरिकाले कुनै पनि व्यापारिक साझेदारलाई लगाएको सबैभन्दा उच्च भन्सारदर मध्येमा पर्छ ।

राष्ट्रपति ट्रम्प रुसलाई दबाब दिएर युक्रेनमाथिको आक्रमण रोक्न चाहन्छन् । त्यसका लागि उनले रुससँग व्यापारिक कारोबार गर्ने मुलुकहरूलाई दण्डित गर्ने बताउँदै आएका थिए । अमेरिका तथा अन्य पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाइरहँदा भारतले उसबाट पेट्रोलियम पदार्थ किनिरहेकोमा अमेरिका विगतदेखि नै खुसी दिएन । अहिले भारतलाई रुसबाट तेल किन्न बन्द गर्न पटकपटक अनुरोध गरे पनि भारतले त्यो नमानेपछि २५ प्रतिशत भन्सार थपेका हुन् ।

यसरी ट्रम्पले एकैपटक भारतमाथि ५० प्रतिशत भन्सार बढाएपछि घनिष्ठ मित्र मानिएका भारत र अमेरिकाबीच कूटनीतिक सम्बन्ध इतिहासकै सबैभन्दा तल्लो तहमा पुगेको कुटनीतिज्ञहरूले बताएका छन् ।

अमेरिकाले आफ्नो कृषि, डेरी तथा अटोमोबाइलसम्बन्धी उत्पादनमा भन्सार घटाउनुपर्ने माग राखेकोमा भारतले नमानेपछि आफूमाथि उच्च भन्सार लगाइएको भारतीयहरूको बुझाइ छ । अमेरिकाले ५० प्रतिशत भन्सार लगाएपछि पहिलोपटक बोल्दै भारतीय प्रधानमन्त्री मोदीले जतिसुकै ठूलो मूल्य तिर्नुपरे पनि आफूले देशका किसानको हितमाथि सम्झौता नगर्ने बताए ।

‘हाम्रा लागि हाम्रा किसानको कल्याण नै सबैभन्दा ठूलो हो,’ मोदीले नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा अमेरिका र ट्रम्पको नाम नलिईकनै भने, ‘भारतले आफ्ना किसानहरू, दुग्ध क्षेत्र र माछा मार्ने पेसा गर्नेहरूको हितमा कहिल्यै सम्झौता गर्नेछैन । मलाई थाहा छ, यसको लागि ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

कसरी बिग्रियो ‘ट्रम्प–मोदी’ टर्म

कोल्डवार सकिएपछि विशेषगरी सन् २००० पछि विश्वका दुई ठूला प्रजातन्त्रान्त्रिक मुलुकहरू भारत र अमेरिकाबीच नजिकको सम्बन्ध रहँदै आएको थियो । पारमाणविक सम्झौता, सैन्य सम्झौता, बढ्दो दुईतर्फी व्यापार तथा लगानी, प्रविधि, शिक्षा तथा क्षेत्रीय सुरक्षामा दुई मुलुकले हातमा हात मिलाएर काम गरिरहेका थिए ।

अझै सन् २०१४ मा प्रधानमन्त्री बनेका मोदी र सन् २०१६ देखि अमेरिकी राष्ट्रपति रहेका ट्रम्पबीच त अत्यन्तै निकट सम्बन्ध रहेको अघिल्लो निर्वाचनअघि मोदी अमेरिका पुगेरै ट्रम्पको पक्षमा सार्वजनिक भाषण गरेबाटै स्पष्ट हुन्छ । तर पछिल्लो पटक भन्सार तथा रुससँगको रणनीतिक टकरावका कारण यी दुई मुलुकबीचको सम्बन्धको जग अहिले गम्भीर रुपमा दबाबमा रहेको अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने पूर्वउपसहायक विदेशमन्त्री तथा कार्नेजी इन्डोउमेन्ट फर इन्टरनेशनल पिसका उपाध्यक्ष इभान ए फेगेनबाउमले उल्लेख गरेका छन् । ‘धेरै मेहनत गरेर बनाइएको यो सम्बन्धलाई ट्रम्पले भत्काउने प्रक्रिया सुरु गरेका छन्,’ उनले लेखेका छन् ।

पहिले इरानबाट हुने तल आयातलाई तेललाई प्रतिबन्ध लगाइयो, त्यसपछि भेनेजुएलाको तेलमा, अब रूसी तेल आयात नगर भनिँदै छ । तेल आयातका सबै स्रोतहरू बन्द गरिदिएपछि भारतले आफ्नो अर्थतन्त्रलाई कसरी जोगाउने ?-रञ्जित रे, भारतीय कूटनीतिज्ञ

राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै ट्रम्पले अमेरिकामाथि अन्य व्यापारिक साझेदारहरूले जति भन्सार लगाइरहेका छन्, अमेरिकाले पनि त्यस्तै गर्ने अर्थात् ‘जस्तालाई त्यस्तै’ भन्सार लगाउने घोषणा गरेका थिए । त्यस्तो भन्सारबाट भारतलाई बचाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगत्तै अमेरिकाको भ्रमण गरे । त्यस क्रममा ट्रम्पले मोदीलाई आफूभन्दा पनि चलाख ‘वार्ताकार’ रहेको भन्दै प्रशंसा गरे । तर जस्तालाई त्यस्तै भन्सारका सन्दर्भमा भारतलाई अलग रुपमा नहेर्ने पनि बताए ।

राष्ट्रपति ट्रम्पले संसारभरका मुलुकलाई २ अप्रिल २०२५ बाट रेसिप्रोकल भन्सार दर घोषणा गरे, जसमा भारतमाथि २६ प्रतिशत थप कर लगाउने उल्लेख थियो ।

९ अप्रिलमा ट्रम्पले तीन महिनाका लागि रेसिप्रोकल भन्सार तीन महिनाका लागि स्थगन गर्दै व्यापारिक साझेदारहरूसँग दुईपक्षीय व्यापार वार्ता र सम्झौता गर्ने घोषणा गरेका थिए । त्यसबीचमा भारत र अमेरिकाले बृहत् व्यापार सम्झौता गर्नका लागि सघन वार्ता गरेका थिए । रेसिप्रोकल भन्सार दर स्थगनको म्याद समाप्त हुनुअघि ९ जुलाईभित्र नै विस्तृत व्यापार सम्झौता गर्ने तयारी गरे पनि त्यो असफल भएको थियो ।

अमेरिकासँग व्यापार वार्ता असफल भएपछि भारतीय वाणिज्यमन्त्री पीयूष गोयलले म्याद तोकेर भारतले कहिल्यै पनि व्यापार सम्झौता नगर्ने भन्दै असन्तुष्टि पोखेका थिए ।

अमेरिकासँगको व्यापार सम्झौतालाई अहिलेसम्म अन्तिम रुप दिन नसक्नुको प्रमुख कारण भनेको ट्रम्पले संवेदनशील कृषि उत्पादन, दुग्ध पदार्थ तथा जनरल मोटर्स (जीएम)का उच्पादनलगायत लगभग सबै वस्तुहरूको सहज बजार पहुँचमा जोड दिइरहनु रहेको वरिष्ठ भारतीय पत्रकार तथा द हिन्दू बिजनेसलाइनकी सहसम्पादक अमिती सेन बताउँछिन् । ‘भारतमा ती वस्तुमा त्यति धेरै सहुलितपूर्ण बजार पहुँच दिन राजनीतिक रुपमा सम्भव छैन,’ सेनले अनलाइनखबरसँग भनिन् ।

अर्कातिर, टेक्सटाइल तथा छालाजन्य उत्पादनजस्ता श्रमप्रधान भारतीय वस्तुहरूलाई थप बजार पहुँच दिन अमेरिका इच्छुक नभएको उनको भनाइ छ । त्यस्तै, श्रम भिसा जारी गर्ने विषयलाई सहज बनाउन अमेरिका तयार नभएको पनि सेन बताउँछिन् ।

धेरै मेहनत गरेर बनाइएको यो सम्बन्धलाई ट्रम्पले भत्काउने प्रक्रिया सुरु गरेका छन्-इभान ए फेगेनबाउम,अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने पूर्वउपसहायक विदेशमन्त्री

‘त्यसैले अमेरिका भारतसँगको स्वतन्त्र व्यापार सम्झौतालाई एकतर्फ बनाउन चाहन्छ, त्यो भारतका लागि स्वीकार्य छैन,’ उनी भन्छिन् ।
व्यापार वार्ता हुन नसकेपछि अमेरिकाले भारतलाई २५ प्रतिशत भन्सार थप्‍यो ।

भारतसँगको व्यापार वार्ता असफल भएपछि अमेरिका यसै पनि भारतसँग चिढिएको थियो । त्यसपछि ट्रम्पले रुसबाट तेल किनेर भारतले युद्धका लागि सघाएको आरोप लगाए । र, भारतलाई त्यसका लागि दण्डित गर्ने बताउँदै आएका थिए । त्यसलाई प्रतिवाद गर्दै भारतले अमेरिका र युरोपली मुलुकहरू आफैँ रुससँगको व्यापार गरिरहेकाले आफूलाई मात्रै निसाना बनाइनु अनुचित र अन्यायपूर्ण रहेको बताएको थियो ।

तर, ट्रम्पले कार्यकारी आदेश नै ल्याएर भारतमाथि थप २५ प्रतिशत भन्सार थप्यो, अर्थात् कुल थप भन्सार दर ५० प्रतिशत हुने भयो ।

ट्रम्पले रुसलाई युक्रेनमाथिको आक्रमण बन्द गर्न भनेका थिए, जसलाई रुसले मानेन । त्यसो हुँदा ट्रम्पले रुससँग व्यापारिक सम्बन्ध भएका मुलुक खासगरी भारतमाथि थप भन्सार लगाएर पुटिनलाई दबाबमा राख्न खोजेका छन् ।

भारतका वरिष्ठ कूटनीतिज्ञ तथा नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रे यसलाई अमेरिकाले व्यापक रुपमा दोहोरो मापदण्ड लगाएको आरोप लगाउँछन् । ‘धेरै देशहरूले रूससँग तेल र ग्यासमा व्यापार गरिरहेका छन् । तर थप भन्सार शुल्क भारतमाथि मात्रै लगाइएको छ,’ रेले अनलाइनखबरसँग भने ।

भारत तेल आयातमा अत्यधिक निर्भर रहेको र यो यस क्षेत्रमा विश्वमै एक प्रमुख विश्वव्यापी भएको रे बताउँछन् । ‘पहिले इरानबाट हुने तल आयातलाई तेललाई प्रतिबन्ध लगाइयो, त्यसपछि भेनेजुएलाको तेलमा, अब रूसी तेल आयात नगर भनिँदै छ । तेल आयातका सबै स्रोतहरू बन्द गरिदिएपछि भारतले आफ्नो अर्थतन्त्रलाई कसरी जोगाउने ?’ उनी प्रश्न गर्छन् ।

विगतमा विश्वव्यापी तेल बजारको स्थिरताका लागि भन्दै अमेरिकाले आफैंले भारतलाई रूसी तेल किन्न प्रोत्साहित गरेको उनको भनाइ छ । ‘भारतले रूसी तेल आयात गर्दा वास्तवमै तेलको विश्वव्यापी मूल्य भएको छ,’ उनले भने ।

भियतनाम, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया, मलेसियाजस्ता प्रतिस्पर्धी देशहरूमा भारतको तुलनामा १९–२० प्रतिशत कम भन्सार दर लाग्छ, त्यसो हुँदा भारतीय निर्यातकर्ताको अमेरिका निर्यात पूर्ण रुपमा बन्द हुन सक्छ ।-अमिती सेन, भारतीय पत्रकार

५० प्रतिशत भन्सारले भारतको अर्थतन्त्रमा गम्भीर समस्या

आर्थिक वर्ष २०२५ मा अमेरिकामा भारतको निर्यात ८६ अर्ब ५० करोड अमेरिकी डलर (११९ खर्ब ३७ अर्ब रुपैयाँबराबर) पुगेको छ । ट्रम्पको यो नीतिले भारतको यो निर्यातमा गम्भीर धक्का लाग्ने वरिष्ठ पत्रकार सेन बताउँछिन् । अमेरिकाले भारतले कूल निर्यातको १८ प्रतिशत हिस्सा ओगट्छ ।

भारतीय निर्यातकर्ताहरूले ५० प्रतिशत भन्सार शुल्क थेग्न नसक्ने सेनको भनाइ छ । ‘खासगरी लत्ताकपडा, छालाका सामान, रत्न तथा आभूषणजस्ता श्रमप्रधान उत्पादन निर्यातकर्ताहरूलाई ठूलो धक्का लाग्नेछ,’ उनी भन्छिन्, ‘भियतनाम, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया, मलेसियाजस्ता प्रतिस्पर्धी देशहरूमा भारतको तुलनामा १९–२० प्रतिशत कम भन्सार दर लाग्छ, त्यसो हुँदा भारतीय निर्यातकर्ताको अमेरिका निर्यात पूर्ण रुपमा बन्द हुन सक्छ ।’

धेरै भारतीय निर्यातकर्ताहरूले पनि यति ठूलो भन्सार दर आफूहरूको क्षमताभन्दा बाहिरको रहेको बताएका छन् । अमेरिकाले बढाएको भन्सार कार्यान्वयन हुने हो भने त्यसले भारतको आर्थिक वृद्धि नै ०.४ प्रतिशतसम्मले कम हुने बीबीसीले उल्लेख गरेको छ ।

के होला अब दुई देशबीचको सम्बन्ध ?

अब दुई देशबीचको कूटनीतिक सम्बन्ध व्यापार वार्ता कसरी अघि बढ्छ त्यसले तय हुने देखिएको छ । ‘भारत र अमेरिका अहिले पनि व्यापार सम्झौताका लागि वार्ता गरिरहेका छने, आशा छ– यी मुद्दाहरू दुई देशहरूबीचको रणनीतिक सम्बन्धमा गम्भीर क्षति हुनुअघि नै यी समस्याहरू समाधान हुनेछन्,’ भारतीय कूटनीतिज्ञ रेले अनलाइनखबरसँग भने ।

पत्रकार सेन पनि द्विपक्षीय व्यापार सम्झौताको वार्ता कसरी अगाडि बढ्छ भन्ने कुरामा दुई मुलुकबीचको कूटनीतिक सम्बन्धका धेरै कुरा निर्भर रहने बताउँछिन् । दुवै पक्षले कृषि र दुग्धजन्य पदार्थको बजार पहुँचजस्ता जटिल मुद्दाहरूको दुवैलाई मान्य समाधानमा पुग्न सके भने कूटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहनेछ, जुन कठिन कुरा हो,’ उनी भन्छिन्, ‘होइन, व्यापार वार्ता असफल भयो र अमेरिकाले लगाएको ५० प्रतिशत भन्सारले निरन्तरता पायो भने द्विपक्षीय सम्बन्धमा तनाव बढ्न सक्छ ।’

नजिकिँदै भारत, चीन र रुस

भारतमाथि उच्च अमेरिकी भन्सारले भारत चीन र रुसलाई थप नजिक बनाउने देखिएको छ । युक्रेनमाथिको आक्रमण रोक्न दबाब दिनका लागि आगामी साता ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । त्यसअघि ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा रुसी राष्ट्रपति पुटिनलाई बुधवार भेटेका थिए । त्यसपछि ट्रम्पको कार्यकारी आदेश आएको छ ।

अहिले भारत सरकारका प्रमुख सुरक्षा सल्लाहकार अजीत डोभाल पनि रुसको भ्रमणमा छन् । यो वर्षको अन्त्यतिर रुसी राष्ट्रपति पुटिनलाई भारत भ्रमण गराउन उनले सहमत गराएको पनि मिडियाहरूले उल्लेख गरेका छन् ।

यसका साथै भारतीय प्रधानमन्त्री मोदीले सात वर्षपछि चीनको भ्रमण गर्न लागेको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् ।

अमेरिकासँग व्यापारमा तनाब भइरहेको अवस्थामा सांघाई कोअपरेसन अर्गनाइसेजनको सम्मेलनमा भाग लिन मोदी चीन जान लागेको सरकारी स्रोतलाई उल्लेख गर्दै मिडियाहरूले जनाएका छन् । यसअघि मोदी सन् २०१८ मा चीन भ्रमणमा गएका थिए । सन् २०२० मा लद्दाखमा दुई मुलुकबीच सैन्य तनाब भएपछि उनीहरूको सम्बन्ध चिसिएको थियो ।

हालै ब्राजिलमा भएको ब्रिक्स सम्मेलनले अमेरिकाको व्यापार युद्धको विरोध गरेको थियो, जसमा रुस, चीन, भारत, ब्राजिललगायतका देशहरू एकजुट भएका थिए ।

लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?