
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरका विभिन्न स्थानबाट संकलन गरिएका २८ पानी नमुनामध्ये ११ मा फिकल कोलिफर्म फेला परेको छ।
- जनस्वास्थ्य कार्यालय ललितपुरले दूषित पानीले टाइफाइड, झाडापखाला र हैजा फैलन सक्ने चेतावनी दिएको छ।
- सरकारले दूषित पानी स्रोतको नियमित परीक्षण र शुद्धीकरण गर्नुपर्ने र पानी उमालेर मात्र पिउन सुझाव दिएको छ।
२३ साउन, काठमाडौं । ललितपुरका विभिन्न स्थानबाट परीक्षणका लागि संकलन गरिएका पानीका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पाइएको छ । ललितपुर जनस्वास्थ्य कार्यालयका अनुसार नमुना गोदावरी नगरपालिका र माहांकाल गाउँपालिका क्षेत्रका खानेपानी स्रोत संकलन गरिएको हो ।
स्वास्थ्य शाखाले दिएको विवरण अनुसार ८ साउनमा गोदावरी नगरपालिकाबाट ल्याइएका १० पानीको जारमध्ये ६ मा कोलिफर्म भेटिएको थियो ।
१६ साउनमा बागमती गाउँपालिकाको पाङ्रेटार र ज्यामिरे खानेपानी स्रोतबाट ल्याइएका ६ नमुनामा कोलिफर्म भने देखिएन । तर १९ साउनमा माहाँकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट ल्याइएका पाँचै नमुनामा फिकल कोलिफर्म भेटिएको हो ।
फिकल कोलिफर्म पानीमा मानव वा जनावरको दिसा मिसिएको संकेत हो ।
यस्तो दूषित पानी पिउँदा टाइफाइड, झाडापखाला र हैजासम्मका रोग फैलन सक्छन् ।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले ललितपुरका केही क्षेत्रमा गरिएको पानी परीक्षणमा दिसाबाट फैलिने जीवाणु कोलिफर्म फेला परेको बताए ।
उनका अनुसार पानीको नियमित स्क्रिनिङका क्रममा विद्यालय, समुदाय र गोदावरी क्षेत्रका केही नमुनामा उक्त जीवाणु भेटिएको हो ।
‘हैजाको बिरामी भने भेटिएको छैन, तर कोलिफर्म देखिनु राम्रो होइन,’ डा. पौडेलले अनलाइनखबरसँग भने, ‘यसले खानेपानीमा दिसा मिसिएको संकेत दिन्छ । पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र खानु सुरक्षित हुन्छ ।’
उनका अनुसार कोलिफर्म देखिएको पानी पिउनाले हैजा मात्र होइन, टाइफाइडलगायत अन्य पानीजन्य रोगको जोखिम उच्च हुन्छ ।
जनस्वास्थ्य कार्यालयले गोदावरीमा जार पानीमा समेत कोलिफर्म देखिएपछि सम्बन्धित निकायलाई कारबाहीका लागि पठाइसकेको छ ।
डा. पौडेल भन्छन्, ‘ कोलिफर्म भेटिनुले पानीका मुहानहरू प्रदूषित भन्ने देखाउँछ । त्यसैले नियमित परीक्षण र स्रोतको शुद्धीकरण अत्यावश्यक छ ।’
उनका अनुसार यस्तो पानी प्रत्यक्ष पिउनु खतरनाक हुन्छ । अनिवार्य रूपमा उमालेर मात्र सेवन गर्नुपर्छ ।
काठमाडौंमा पहिले धारा तथा इनारको पानी बढी प्रयोग गर्ने गरिन्थ्यो । यी पानीको शुद्धीकरणमा ध्यान नदिँदा झाडापखाला अनि हैजा जस्ता रोगहरू फैलने गर्दथ्यो ।
पछिल्लो केही वर्ष यता काठमाडौंमा जारमा बन्द व्यावसायिक पानीको व्यापक प्रयोग बढेको छ । विद्यालय, कार्यालय, घर, चमेना गृह/रेस्टुरेन्ट वा सार्वजनिक स्थानमा जारका पानीको उपभोग व्यापक बढ्दो छ ।
त्यस्ता जारका पानीको विभिन्न समयमा गरिएका प्रयोगशाला परीक्षणहरूमा ‘फिकल कलिफोर्म’ प्रमाणित हुने गरेको देखिन्छ । अर्थात् त्यस्ता जारका पानी दिसा मिश्रित अनि स्वास्थका लागि पिउन योग्य नभएको भन्ने हो ।
पानीको कोलिफम भेटिँदा हैजा, टाइफाड र झाडापखला जस्ता स्वास्थ्य समस्या हुन्छन् ।
प्रत्येक वर्ष दूषित पानीका कारण हैजा फैलिने गरेको छ । विगतको तुलनामा हाल अस्पताल भर्ना हुने हैजा बिरामीको संख्यामा उल्लेखनीय कमी आएको छ । यद्यपि हैजा प्रकोपको जोखिम काठमाडौंमा यथावत नै देखिन्छ । केही वर्ष अगाडि कपिलवस्तुको कृष्णनगर नगरपालिका–७, ८ र ९ मा हैजा फैलिँदा केही बिरामीको मृत्यु भएको थियो ।
वर्षेनी मनसुनमा हुने भारी वर्षाबाट उत्पन्न बाढी जस्ता प्राकृतिक प्रकोपले हैजाको जोखिमलाई अरू थप बढाइ दिएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

हैजा एक उच्च संक्रामक तथा घातक ब्याक्टेरिया हो । कडा हैजा देखिएको केही घण्टाभित्रै उपचार नपाए बिरामीको मृत्यु समेत हुनसक्छ । संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र लक्षणहरु देखिने गर्छ । चौलानी पानी जस्तो दूधिलो पातलो दिसा तारन्तार हुनु, बान्ता हुनु, मांसपेशी (खासगरी पिडुँलाको) बाउँडिनु, बेचैनी हुनु हैजामा देखिने प्रारम्भिक लक्षण हुन् ।
धेरै संक्रमितहरुमा लक्षणहरु कि त मध्यम वा सामान्य हुने गर्छन् कि लक्षणविहीन हुने गर्छ । तर त्यस्ता संक्रमितहरूले दिसा मार्फत हैजाको ब्याक्टेरिया भने फैलाइरहेको हुन्छ ।
अहिले वर्षातको समय भएकाले महामारीको रूप लिनुपूर्व नै रोकथाम गर्न सर्तकता अपनाउनुपर्ने उनी बताउँछन् । कसैलाई तारन्तार झाडापखाला भए जीवनजल पिउन र अस्पताल जान डा. पुनको सुझाव छ ।
चिकित्सकहरूका अनुसार लक्षणविहीन संक्रमितले संक्रमण फैलाउन प्रमुख भूमिका खेल्छ । बिरामी शौचालय गएपछि राम्रोसँग हात नधोएर अन्य व्यक्तिलाई खानेकुरा तथा पानी दिए हैजाको संक्रमण हुन सक्छ ।
हैजा, झाडापखलाबाट बच्न शौचालयमा मात्रै दिसा पिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचीमिची साबुन पानीले हात धुने, खाना बनाउनु अघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने डा. पुनको सुझाव छ ।
सरसफाइमा ध्यान दिनु नै हैजा रोकथामको प्रमुख विकल्प चिकित्सक बताउँछन् ।
पानीको नमूना परीक्षण गर्न काठमाडौं टेकुस्थित केन्द्रीय प्रयोगशाला वा सम्वन्धित जिल्लाको जनस्वास्थ्य कार्यालयमा जान सकिन्छ ।
प्रतिक्रिया 4