
News Summary
Generated by OK AI. Editorially reviewed.- बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को पछिल्ला दुई एपिसोडमा कुल ३ करोड रुपैयाँको लगानी जुटेको छ।
- ‘वायु दृष्टि’ले ४० प्रतिशत इक्विटीको लागि पाँचै शार्कबाट १ करोड रुपैयाँ लगानी जुटाएको छ।
- ‘नेप-मेड्स’ले ४० प्रतिशत इक्विटीको लागि २ करोड रुपैयाँको डिल पक्का गरेको छ।
काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को पछिल्ला दुई एपिसोडमा ३ करोड रुपैयाँको लगानी जुटेको छ ।
बुधबार प्रसारित एपिसोडमा सक्रिय पाण्डे र श्रीषा पाण्डेको ‘वायु दृष्टि’ले ४० प्रतिशत इक्विटीको लागि पाँचै शार्कबाट १ करोड रुपैयाँ लगानी जुटायो ।
वायु शुद्ध पार्ने र हावाको गुणस्तर मापन गर्ने यान्त्रिक प्रविधिको यो योजना प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनसम्बन्धी दीर्घकालीन समाधानका लागि प्रस्तुत गरिएको थियो।
बिहीबारको एपिसोडमा भने केदार चौलागाईंको ‘नेप-मेड्स’ले मात्र डिल गर्न सक्यो । अनलाइन स्वास्थ्य सेवा दिने यस प्लेटफर्ममार्फत फार्मेसी, डाक्टर कन्सल्टेसन, प्याथोलोजी ल्याब र हेल्थ लाइब्रेरी चारवटा सेवा एकै स्थानबाट लिन सकिन्छ ।
अहिलेसम्म यो सेवा नेपालका ७० जिल्लामा विस्तार भैसकेको छ । उनले १० प्रतिशत इक्विटीको लागि ५० लाखको अफर गरेका थिए भने शार्क आनन्द बगरियाले ४० प्रतिशत इक्विटीको लागि २ करोडको डिल गरे ।
यो बाहेक सगुन तन्डुकार, गौरव कार्की र हरिशरण खत्रीको ‘स्टिरिंग इन्टरनेसनल’ले नेपालमै गिटार निर्माण गर्ने उद्योगको योजना पिच गरे ।
यस्तै रुपेश रेग्मीको ‘वाइज एडमिट’ र सिता पाण्डेको ‘मुना बजार’ पनि प्रस्तुत भए तर यी तीनै आइडियामा डिल हुन सकेन ।
११औं एपिसोडमा १ करोड र १२औं एपिसोडमा २ करोडको डिल हुँदै पछिल्ला दुई दिनमा कुल ३ करोड रुपैयाँ बराबरको लगानी पक्का भएको हो ।
‘शार्क ट्यांक नेपाल’ प्रत्येक बुधबार र बिहीबार हिमालय टिभीमा राति ९ बजे र युट्युबमा ९ः३० बजे प्रसारण हुने गरेको छ ।
प्रतिक्रिया 4