
२५ साउन, सुर्खेत । बिहानैदेखि पानी दर्किरहेको थियो । झरीले काम रोकिएपछि १७ वर्षीय सुशील सिंह साथीहरूसँग क्यारेम खेलिरहेका थिए । मध्य दिउँसो उनलाई बुवा मानबहादुरको फोन आयो, ‘बाबु म आधा डुबिसकें छिटो बचाउन आइजा ।’
२० साउनमा भारत उत्तराखण्डको धराली गाउँमा अचानक आएको बाढी र पहिरोमा परेका मानबहादुरले छोरालाई गरेको अन्तिम फोन थियो त्यो ।
बुवाको फोनले अत्तालिएका सुशील बाहिर निस्किँदा कोलाहलबीच मान्छेहरूको भागाभाग चलिरहेको थियो ।
उनले बुवालाई फोन गरे । रिङटोन बज्यो, तर उठेन । ‘दौडिँदै बुवाले भनेको ठाउँमा पुगे । तर त्यो ठाउँ नै बाढीले बगाइसकेको थियो,’ जाजरकोट कुशे गाउँपालिका २, का सुशीलले बाढीको त्यो भोगाइ भारतको एक टेलिभिजनलाई यसरी सुनाए ।
मजदुरीका लागि सुनिलको परिवार नै उत्तराखण्ड गएको थियो । धराली बजारमा मजदुरी गर्दै आएका उनीहरू बजारभन्दा माथिको गाउँमा डेरा (कोठा भाडा) मा बस्थे ।
त्यो दिन सुशीलकी आमा र दिदी डेरामै थिए । सुशीलका बुवा, तीनजना अंकल, भिनाजु र दाइ कामको हिसाब गर्न भन्दै धराली बजार झरेका थिए । उनीहरू बजारमै रहेका बेला बाढी आएको थियो ।
सुशीलले आफ्नो बुवासँगको ३० सेकेन्डको अन्तिम फोन कल सम्झँदै भने, ‘बाबु म पनि आधा डुबिसके छिटो बचाउन आइजा ।’ सुशीलका अनुसार करिब एक घण्टासम्म बुवाको फोनमा रिङटोन गइरहेको थियो । पछि सम्पर्क हुन सकेन भन्यो । घटनापछि सुशीलले आफ्ना अंकलहरू, दाइ र भिनाजु सबैको खोजबिन गरे । तर कसैलाई फेला पार्न सकेनन् ।
करिब ३९ सेकेन्डमा आएको बाढीले सिङ्गो गाउँ नै तहसनहस बनाइदियो । घटनाको चार दिन बित्दा पनि अहिलेसम्म कोही नेपालीको शव फेला नपरेको सुशीलले बताएका छन् ।
घटनास्थलमा भारतीय सेनाले अरूलाई छिर्न दिएको छैन । सेनाको नियन्त्रण बाहिरको क्षेत्रमा सुशील प्रत्येक दिन आफ्ना आफन्तहरू खोज्न निक्लिन्छन् । तर बेलुका निराश डेमा फर्किने गरेको बताएका छन् ।
९ जनाको सुशीलको परिवारमा अहिले तीनजना मात्रै साथमा छन् । आमा, दिदी र उनी । सुशीलकी आमा घटनापछिका प्रत्येक दिन बुवालाई बगाएको ठाउँ पुग्छिन् । घण्टौँ टोलाएर बस्छिन् ।
अनि साँझसम्म कोही नभेटिएपछि रुँदै कोठामा फर्किन्छिन् । ‘आज चार दिन भयो आमा यसरी टोलाएर बस्न थालेको,’ सुशीलले भनेका छन्, ‘आमालाई अझै बुवा फर्किने आस छ । हामी पनि बुवा र परिवारको खोजीमै छौँ ।’ अहिले पनि सुशीलको कानमा बुवाले फोनमा भनेका शब्दहरू गुञ्जिन्छन् ।
चार दिन पहिलेसम्म हाँसो-ठट्टा गर्दै काम गरेको बजार बगर बनेको छ । अब उनीसँग केही सीमित यादहरूमै सीमित बनेका छन् ।
धरालीको पहिरोसँग सुशीलका जस्तै दर्दभरि कहानी कति दबिएका छन् यकिन छैन । ‘अब के गर्ने ? केही सोच्न सकेको छैन । आफ्नै आँखा अगाडि यो सब भयो । बाबाले बचाउ भन्दा पनि बचाउन सकिएन,’ सुशीलले भने, ‘आज यो बाटो हिँड्दै गर्दा, अस्तिसम्म काम गरेको, हाँसो ठट्टा गरेको झलझली याद आइरहेको छ ।’
सुशीलले भारत सरकारलाई सहयोगका लागि अपिलसमेत गरेका छन् । बाढीमा बगेका परिवारको खोजबिन गर्न र केही राहत सामग्री उपलब्ध गराइदिन उनले उक्त टेलिभिजनमार्फत आग्रह गरेका छन् ।
‘बुवा र अंकलहरूसहित बेपत्ता भएकाहरूको अत्तोपत्तो छैन । कोठामा भएको रासनसमेत सकिन थालेको छ,’ उनले भने, ‘थाहा छैन, यहाँबाट कसरी निक्लिने हो ।’
४३ वर्षीय मानबहादुर सिंह गत चैतमा श्रीमती, छोराछोरी ज्वाइँ र आफ्ना दाजुभाइ लिएर रोजगारीका लागि उत्तराखण्ड गएका थिए । कक्षा १० को परीक्षा एसइई दिएर बुवा-आमासँगै उत्तराखण्ड गएका थिए सुशील । केही पढाइ खर्च जुटाएर दशैंमा घर फर्किने उनीहरूको योजना थियो ।
मानबहादुर घरमा ताला लगाएर तीन छोराछोरी कोहलपुरस्थित भाडाको कोठामा छोडेर रोजगारीका लागि परिवारका अन्य सदस्य लिएर उत्तराखण्ड गएका थिए । ‘१०‐१२ वर्षदेखि बाबुआमा कमाइका लागि कालापहाड गइरहनुभएको थियो । मजदुरी गरेर आजसम्म कमाएको पैसाले हामी ५ भाइबहिनीलाई पढाउँदा-हुर्काउँदा ठिक्क भयो,’ मानबहादुरकी छोरी अनिता भन्छिन्, ‘अबको कमाइले कोहलपुरमा जग्गा जोड्ने हो भन्दै यो पटक त दाइलाई पनि लिएर लानुभएको हो ।’
कक्षा १० मा पढ्दै भाइबहिनी हुर्काइरहेकी अनिताले आफूलाई दाइले म्यासेन्जरमा आमा दिदी र आफू सुरक्षित रहे पनि बुबा र भिनाजुको कुनै अत्तोपत्तो नभएको भन्दै खबर छोडेका थिए । मानबहादुरको परिवार मात्रै होइन कुशे‐२, डाढगाउँका कति जना उत्तराखण्ड गएका थिए र कति बाढीमा परे भन्ने यकिन तथ्याङ्क अहिलेसम्म प्राप्त भएको छैन ।
उत्तराखण्डको हर्षिल क्षेत्रमा ठाउँठाउँमा पहिरो गएका कारण गंगोत्री मार्ग अवरुद्ध छ । जसले गर्दा बाढीले पुरेको ठाउँमा हातैले खोजी कार्य गर्न असम्भव जस्तै छ । हेलिकप्टरमार्फत उक्त क्षेत्रमा खोज उद्धारका लागि ब्याक लोडर लगायतका उपकरणहरू पुर्याउने कार्य भइरहेको भारतीय मिडियाले जनाएका छन् । उनीहरूका अनुसार, गंगोत्री मार्गमा फसेकाहरूलाई पनि हेलिकप्टरबाट उद्धार गर्ने काम भइरहेको छ ।
बाढीमा परी हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार भएको जानकारी दूतावासलाई गराएका छन् । बाढीमा परेर कर्णालीका १५ जनासहित २२ नेपाली बेपत्ता भएको बताइएको छ । त्यहाँ खोजी कार्य जारी छ ।
गत बुधबार दिउँसो आएको बाढीमा परेर १०० बढी बेपत्ता छन्, ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4