
News Summary
Generated by OK AI. Editorially reviewed.- साउन १६ गते बहुविवाह कानुन संशोधनको विषयमा सामाजिक सञ्जालमा बहस सुरु भयो जसले पुरुषको घरबाहिर सम्बन्धलाई कानुनी मान्यता दिने प्रस्ताव राखेको छ।
- लेखमा महिलालाई सामाजिक, आर्थिक, सांस्कृतिक कारणले 'बिचरा' बनाइएको र सरकारले महिलाको सशक्तीकरणमा ध्यान दिनुपर्ने बताइएको छ।
- विवाहले सबै समस्याको समाधान गर्दैन र सम्बन्धमा प्रेम, विश्वास र सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।
साउन १६ गते बिहानै समाचारसँगै सामाजिक सञ्जालमा एउटा बहस सार्वजनिक भयो- अब बहुविवाहको कानुन परिवर्तन गरिने भन्दै ।
झट्ट शीर्षक मात्रै पढ्दा मनमा लाग्यो यो कुनै सांस्कृतिक समाजको लागि ल्याउन लागिएको कानुन होला, जसलाई एकल विवाहको कारण आर्थिक, सांस्कृतिक क्षेत्रमा असर परेको कारण उक्त परिस्थितिलाई खुला गर्न लागिएको होला ।
विशेषगरी हिमाली क्षेत्रमा भेडा र चौंरी पाल्ने केही समुदायमा भएको बहुपतिप्रथा बन्दहुने र आफ्नो थातथलोमा राष्ट्रिय निकुञ्ज खुल्नुले ठूला ठूला भेडीगोठ र चाैरीगोठ समाप्त हुँदै गएकोमा सरकारले विशेष ध्यान दिएर कानुनमा संशोधन गर्न लागेको होला भन्ने अनुमान लगाइयो ।
तर, पूरै समाचार पढेपछि थाहा भयो आम मानिसका वा विशेषगरी सीमान्तकृतका त्यस्ता समस्याको विषयमा कानुन संशोधन गर्न चाहनेहरूका लागि उक्त कुरा चासोको हुन्छ भन्नु आफ्नै मूर्खतापूर्ण परिकल्पना भएको स्वीकार गर्न पर्यो ।
संशोधन हुन लागेको उक्त कानुनी व्यवस्था घरमा श्रीमती हुँदाहुँदै आफ्नो यौन चाहना पूरा गर्नको लागि घरबाहिर अर्की महिलासँग सम्बन्ध विस्तार गर्ने, र त्यसरी सम्बन्ध विस्तार गर्ने क्रममा जन्मेका बालबालिकाको सवाल र महिलाका समस्यालाई समाधान गर्ने भन्ने सतही तर्कको आधारमा पुरुषका घर बाहिरका सम्बन्धलाई मान्यता दिनको लागि भइरहेको कानुनी व्यवस्थालाई संशोधन गर्न लागिएको रहेछ भन्ने थाहा पाउनु आम चेतनशील व्यक्तिको लागि पीडादायी कुरा हो ।
कानुन संशोधनको लागि गरिएका तर्क पनि हास्यास्पद रहेका छन्, ‘महिला र बालबालिका सडकमा नै आउने अवस्था भयो ।’ उक्त सतही स्टेटमेन्टले गम्भीर बहसको माग गर्छन् । पहिलो त महिला र बालबालिका सडकमा नै आउनुपर्ने बाध्यता कस्तो प्रकारको आर्थिक, सामाजिक अवस्थामा आउँछ ?
अर्को के महिलाका तमाम समस्या विवाह गरेर पछि समाधान हुन्छन् ? र, श्रीमान्–श्रीमती वा प्रेममा रहेका व्यक्तिहरूले उक्त सम्बन्ध पहिला टुंगोमा पुर्याउनुपर्ने हो कि उक्त सम्बन्धलाई पनि यत्तिकै राखेर, उक्त सम्बन्धको फाइदा लिंदै अर्को सम्बन्ध विस्तार गर्दै हिंड्ने हो ? यो लेख यिनै तीन प्रश्नको उत्तरमा केन्द्रित रहेको छ ।
महिला किन ‘बिचरा’ छन् ?
कुनै पनि मामलामा महिला र पुरुषका बारेमा सवाल आउँदा जहिले पनि जहाँ पनि महिलालाई ‘बिचरा’ अरूको भरमा बाँचिरहेको व्यक्तिको रूपमा प्रस्तुत गरिन्छ ।
बहुविवाहको कानुनको सन्दर्भमा पनि महिलालाई ‘सडकमा नै आउने अवस्था आयो’ भन्दै बिचरी महिलाको रूपमा प्रस्तुत गर्न खोजिएको छ ।
यहींनिर प्रश्न उठ्छ, के महिला प्राकृतिक रूपमा नै वा उनका कर्मका कारण बिचरा हुन् कि उनीहरूलाई सामाजिक, आर्थिक, सांस्कृतिक पक्षले बिचरा बनाएको हो ! पक्कै पनि उनीहरूको प्राकृतिक स्वरुप वा कर्मका कारण नभई सामाजिक, आर्थिक, सांस्कृतिक कारणले महिलालाई बिचरा बनाएको ।
पैतृक सम्पत्तिमा समान पहुँच नहुनु, घरभित्र नै दोस्रो दर्जाको नागरिकको रूपमा बाँच्न सांस्कृतिक कारणले बाध्य रहनु, महिलाको पहिचानलाई समाज र कानुनले स्वीकार गर्न नसक्नु (उदाहरणको रूपमा आमाको नामबाट सहज रूपमा नागरिकता नदिनु) र घरभित्रको काम जो मूलत: अहिलेसम्म महिलाको रहेको छ, त्यसको उचित मूल्यांकनको व्यवस्था नहुनु जस्ता कारणले महिला अहिले ‘कठै’, वा ‘बिचरा’ बनेका हुन् ।
यसै पनि वर्तमान विश्वको मानवअधिकारका सवालबाट हेर्ने हो भने कोही व्यक्ति ‘बिचरा’ वा दयाका पात्र हुँदैनन् । ती कोही व्यक्तिमा महिला, गरिब, सीमान्तकृत, पूर्ण अपांगता भएका व्यक्तिलाई पनि बिचरा भन्न मिल्दैन ।
उनीहरूको जिम्मेवारी सरकारले लिने हो, कसैलाई टाँसो लगाउने होइन । जो–कोही व्यक्ति कमजोर छ भने उसको सशक्तीकरण कसरी गर्ने भन्ने विषयमा सरकारले काम गर्ने हो, योजना बनाउने हो र कार्यान्वयनमा लैजाने हो ।
यसरी प्रक्रियागत रूपमा काम गर्न नसक्नु त्यस समाजको अकर्मन्यता हो, विशेषगरी सरकारको अकर्मन्यता हो ।
महिला र बालबालिका सडकमै आए भन्नुको अर्थ यदि पिता खोज्दै आए भन्ने हो भने, सरकारले आफ्नो देशको सरहदमा जन्मेका बालबालिकाका आधारभूत आवश्यकता जरुरत परेको खण्डमा पूरा गर्ने र सहज रूपमा आमाको नाममा नागरिकताको व्यवस्था गरिदिने बित्तिकै महिला र उनका छोराछोरीले आफूलाई पिता खोज्दै हिंड्ने झन्झट गर्न पर्दैन ।
तर, सरकार र कानुन नै महिलालाई कतै सजिलो पो हुन्छ कि भन्दै आपराधिक मानसिकता भएका व्यक्तिको पक्षमा लाग्छ भने केही भन्न सकिन्न ।
विवाहले मानिसका दु:खको निवारण गर्छ त ?
विवाह गरेपछि महिलाका समस्या वा दु:खको निवारण गर्दछ भन्ने सोच अत्यन्तै पुरातनवादी हो । वर्तमान विश्वमा प्रेम, पार्टनरसिप वा विवाह जस्ता सम्बन्ध पनि प्रेम, विश्वास र पनि आपसी सहकार्यमा टिकेको हुन्छ ।
प्रेम, विश्वास र आपसी सहकार्य नभएको सम्बन्ध वा विवाहले कुनै पनि व्यक्तिको समस्याको निवारण गर्दैन । विवाह वा प्रेम सम्बन्धको जड एउटा कागजको खोस्टाले भन्दा बढी आपसी माया, साथ–सहयोग र लामो समयसम्मको सहकार्यले बलियो बनाउने हो । त्यस सहकार्यमा भावनात्मक, आर्थिक, सामाजिक, सांस्कृतिक सहकार्यले निर्माण गर्ने हो ।
तर, ती कुनै पनि पक्षमा सहकार्य नहुने र कागजी रूपमा मात्रै विवाह गर्दैमा न त महिलाको न पुरुषका समस्याको निवारण हुन्छ । यदि हुन्थ्यो भने संसारभरि विवाह गर्ने दरमा कमि आउँदैनथ्यो वा विवाह गरिसकेपछि सम्बन्धविच्छेदका लागि पहलको दर बढ्दैनथ्यो । संसारभर विवाहको दरमा कमि आउनु र विवाह गरेका जोडीका बीचमा पनि सम्बन्धविच्छेदका दर बढ्नुले विवाह भन्ने संस्था माथि नै वर्तमान विश्वमा गम्भीर प्रश्न उठिरहेको छ ।
यसै पनि लामो समयदेखि महिलावादी र मार्क्सवादीहरूले विवाह नामक संस्था महिला र बालबालिकाको लागि दमनकारी छ भन्ने विषयमा लबिइङ गर्दै आएका छन् । विवाह महिला बालिबालिकाको लागि दमनकारी बन्नको लागि राज्यले नै कानुन बनाएर अझ सहज बनाइदिएको छ ।
आफ्नो केही दिनको यौन तिर्सना मेट्न आफूलाई अविवाहित वा सम्बन्धविच्छेद गरेको वा गर्नै लागेको भनि झुटो कुरा गरेर सम्बन्ध स्थापित गरेपछि भागेको पुरुषलाई सन्तानको लागि नागरिकताको खोस्टो लिनको लागि श्रीमान् मानिदिनुपर्ने, वा आफ्नी आमालाई यौन सम्बन्धको लागि वस्तु जस्तो प्रयोग गरेर आफूहरूलाई अलपत्र छोडेको पुरुषलाई पिता मानिदिनुपर्ने र त्यसले सामाजिक, मानसिक रूपमा पारेका असर नै राज्य निर्देशित हिंसा हो ।
मन नमिलेका पार्टनरसँग बस्नुपर्ने बाध्यताको जरो
नेपाली समाजमा विवाह बाहेकको यौन सम्बन्धलाई आज पनि धेरै हदसम्म स्वीकार गरिंदैन । तर यौन व्यवसाय बाहेकका कुनै पनि सम्बन्धमा चाहे त्यो लिभिङ टुगेदर (सामाजिक, कानुनी र सांस्कृतिक रूपमा विवाह नगरिएको, तर सँगै बस्ने, खाने र यौन सम्बन्ध कायम भएको सम्बन्ध) होस्, वा प्रेम सम्बन्ध (जो बस्ने खाने त छुट्टाछुट्टै गर्छन्, तर यौन सम्बन्ध पनि राख्छन्) समेत पार्टनरको प्रतिबद्धता माग गरिन्छ । अर्थात् उसले अर्को व्यक्तिसँग यौन सम्बन्ध राख्दै हिंड्ने कुराको परिकल्पना गरिंदैन ।
‘पुरुषहरूको घरमा भएकी श्रीमतीसँग मन नमिलेका कारण श्रीमतीसँग बाहेक पनि यौन सम्बन्ध स्थापित हुने गरेको’ भन्ने जुन सवाल छ, त्यो सोचनीय छ । विवाहित श्रीमतीसँग कुरा नमिल्ने कारण के हो त्यो विषयमा अध्ययन हुन जरूरी छ ।
कुतर्क गर्नका लागि धेरै कुतर्क होलान् । तीमध्ये हाम्रो समाज देखिने, सुनिने कुतर्कहरू श्रीमतीका रुखा वचन, झगडा, शंका, आफ्नो हैसियत अनुसारको श्रीमतीको हैसियत (आफ्नो अनुसारको शैक्षिक योग्यता, बौद्धिक क्षमता, रूपरंग, लवाइखवाइ) नभएको देखि श्रीमतीको यौन अरुचि, शारीरिक सुन्दरतासम्म रहेको समाजका गन्यमान्य टोपलिएका धेरै पुरुषले आफ्नी श्रीमतीसँग राम्रो सम्बन्ध नरहेको गफ धेरै ठाउँमा गरिरहेका पाइन्छन् ।
त्यसमाथि कतिपयले आफ्नी श्रीमतीको अर्को पुरुषसँगको सम्बन्ध, आफूलाई गर्ने हेपाहा व्यवहार र कतिपय अवस्थामा शारीरिक रूपमा गर्ने कुटपिटका कारण पनि श्रीमतीसँग आफ्नो सम्बन्ध राम्रो नभएको गफ गरिरहेको पाइन्छ ।
विवाह भन्दा अगाडि नै रुपरंग हेरेर, हैसियत हेरेर विवाह गरेका श्रीमान्–श्रीमतीका बीचमा समयक्रममा रूप, रंग, हैसियत नमिल्नेको कारण के हो त्यो महिलावादी आँखाबाट हेर्दा सोचनीय सवाल हो ।
त्यसको एउटा बलियो पक्ष पुरुषले आफ्नो पढाइ र पेशामा केन्द्रित भइरहँदा महिलाले श्रीमान्, श्रीमान्को परिवार, श्रीमान्को घर-व्यवहार र छोराछोरीमा गरेको लगानीका कारण महिलाको आर्थिक, शैक्षिक र सामाजिक हैसियत जहाँको त्यहीं रोकिन्छ र पुरुषको हैसियत महिलाको योगदानमा टेकेर बढ्दै जान्छ । जुन मार्क्सवादी भाषामा महिलाप्रतिको शोषण हो, न कि महिलाको नालायकी ।
श्रीमान्को हैसियत बनाउन महिलाले योगदान गरिरहँदा, महिलाको हैसियत बनाउन सहयोग गर्न नसक्ने व्यक्ति कुनै हैसियतवाला होइन नालायक हो । यति धेरै संंरचनात्मक लाभमा उभिएर पनि एउटा पुरुष यदि कुनै प्रकारको हिंसा खेपिरहेको छ र त्यसको बावजुद पनि श्रीमतीलाई छोड्न सक्दैन र म ‘श्रीमती पीडित’ भन्दै बिचरा बन्दै हिंड्छ भने त्यस्ताले अर्की महिलाको रक्षा कसरी गर्न सक्छ ?
अन्त्यमा, महिलाहरूलाई संविधानले नै उपलब्ध गराएका हकलाई सरकारले आम महिलाका पहुँचमा पुर्याउनका लागि पहल गर्नुपर्ने, घरभित्र महिलाले गर्ने कामको उचित मूल्यांकनको प्रावधान विकास गर्नुपर्ने, आफ्नो सरहदमा जन्मेका बालबालिकाको हेरविचार, पठनपाठनको जिम्मेवारी सहित पहिचानका लागि विना शर्त नागरिकता उपलब्ध गराउनुपर्ने, महिलालाई आर्थिक सशक्तीकरण गर्नको लागि पहल गर्नुपर्नेमा सजिलो बाटो छोडेर, आपराधिक मानसिकता भएको, ढाँट–छल गरेर सम्बन्ध स्थापित गर्ने र जिम्मेवारीबाट भाग्ने पुरुषलाई श्रीमान् र पिता भनेर मानिदिन किन परेको हो ? र यस्तो विषयमा वकालत गर्ने व्यक्तिलाई शासक, प्रशासक मानिदिनुपर्ने सभ्य समाजको दुर्भाग्य हो ।
प्रतिक्रिया 4