+
+
Shares

अनलाइनखबरले सार्वजनिक गर्‍यो ४० वर्षमुनिका ४० युवाको सूची

अनलाइनखबरले ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार २०८२ सालका प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते १८:१७

२६ साउन, काठमाडौं । अनलाइनखबरले ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार २०८२ सालका प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौंमा आयोजित विशेष समारोहमा ४० युवाहरूको नाम सार्वजनिक र उनीहरूलाई अवार्ड प्रदान गरे ।

देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीचमा पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले गतवर्षदेखि ४० युवाहरूको सूची सार्वजनिक गर्न थालेको हो ।

‘चालिस मुनिका चालिस मार्फत् हामीले अँध्यारोका बीचमा तिनै जुनकिरीहरू खोज्ने प्रयास गरेका छौं‍,’ अनलाइनखबरका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालले भने,‘यस्ता पात्रहरू अरु थुप्रै हुनुहुन्छ, जसले नेपालमा केही भएको छैन, केही हुनेवाला छैन, भन्ने भाष्यलाई चुनौती दिँदै आ–आफ्नो क्षेत्रबाट योगदान दिइरहनुभएको छ । यो सूची त्यसैको एक प्रतिबिम्ब हो ।’

४० मुनिका ४० को सूचीले समर्पण, लगनशीलता र आ–आफ्नो क्षेत्रमा युवाहरूले गरेको महत्वपूर्ण योगदानलाई पहिचान दिने र समाजलाई प्रगतिको दिशातर्फ डोहोर्‍याउन मद्दत गर्ने अनलाइनखबरको अपेक्षा रहेको भुसालले बताए ।

४० जनाको सूची तयार पार्न संयोजक सुदर्शन खतिवडा नेतृत्वको अनलाइनखरको टीमले झण्डै चार महिनासम्म काम गरेको थियो ।

आवेदन र सिफारिसमार्फत् प्राप्त करिब साढे ५ सय नामबाट ४० जना छान्न उपलब्ध प्रारम्भिक सूचीलाई निर्णायक अर्थात् छनोट समितिसमक्ष पेश गरिएको थियो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, उद्यमी छाया शर्मा, अनुसन्धाता डा.उत्तमबाबु श्रेष्ठ र अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत रहेको निर्णायक समितिले ४० जनाको सूचीलाई अन्तिम रुप दिएको हो ।

‘देशका विभिन्न कुनामा बसेर योगदान गरिरहेका युवाहरू, अनि प्रवासमा समेत रहेर काम गर्ने पौरखी प्रतिभाहरूको छनोट गर्ने अवसर आफैंमा हामी निर्णायकका लागि, अनि म स्वयंका लागि सम्मानको विषय बन्न गयो,’ निर्णायक समितिका संयोजक पूर्वन्यायाधीश सिन्हाले भने, ‘हामीले आफ्नो तार्किकता, बुद्धि, तथ्यपरक खोजी अन्वेषण सबै प्रयोग गरेर यी परिश्रमी अनि लगनशील ४० युवाहरू छानेका छौं ।’

उनले यो सूची छान्दा न्यायिक विवेक प्रयोग गरेको जानकारी दिए ।

‘देशमा केही भइरहेको छ, जबकी गर्न धेरै गर्न बाँकी छ । हामी आशा गरौं यी युवा, अनि धेरै युवाहरूले गर्ने योगदान नै अबको हाम्रो समृद्धि, उन्नतिको बाटो हो,’ सिन्हाले भने ।

अनलाइनखबरका प्रधानसम्पादक बस्नेतले ४० युवाहरूको खोजी आफैंमा रोचक अनुभव रहेको भन्दै ओझेलमा परेका यस्ता थुप्रै युवाहरूलाई रिपोर्टिङ, विश्लेषण आदिका माध्यमबाट सधैं अग्रणी भूमिका उभ्याउने काम गरिरहने बताए ।

उनले गत वर्षबाट सुरु यो रचनात्मक अभियान अझै नयाँ दायरामा बिस्तार गर्न अनलाइनखबरले अग्रणी भूमिकामा रहेर पहल गर्ने जानकारी दिए ।

छनोटकर्ता निर्णायक टोलीमा सदस्य रहेका बस्नेतले यो सूची एउटा आँखीझ्याल भएको भन्दै अरु थुप्रै युवाहरू समेट्ने काम यतिमै सीमित नहुने समेत प्रष्ट गरे ।

‘राज्य र समाजका कतिपय सीमितता हुँदाहुँदै युवाहरूले जेजति गरिरहेका छन्, यो अत्यन्तै सराहना गर्न लायक छ, हामीले ४० वर्षमुनिका ४० युवाहरूको खोजीको दायरा गत वर्षभन्दा अझै फराकिलो पारेका छौं । न्युजरुमका सहकर्मी साथीहरूले गरेको मेहनतबाट त्यो झल्किन्छ,’ बस्नेतले भने, ‘योसँगै हामी ओझेलमा परेका अरु धेरै युवाहरू जो सूचीमा अटाउन सकेनन्, उनीहरूलाई समेत कसरी मन्च सिर्जना गर्ने भन्नेमा संवेदनशील छौं । यो समय नै युवाहरूको हो । समाजका सबै क्षेत्रमा युवा पुस्ताको पहल, हस्तक्षेप र नेतृत्वलाई हामी खुला हृदयका साथ साथ सहयोग गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?