+
+
Shares

कम्पनीका राम्रा वित्तीय विवरणले सेयर बजारमा किन पारेन प्रभाव ?

बैंक मात्रै होइन, वित्तीय विवरण सार्वजनिक गरेका हाइड्रोपावर कम्पनीको पनि नाफा बढ्ने निश्चित छ । आयोजना सञ्चालनमा आइसकेका र विवरण सार्वजनिक गरेका करिब सबैजसो हाइड्रोपावरको नाफा बढेको छ ।

कमल नेपाल कमल नेपाल
२०८२ साउन २९ गते ९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १० गुणा बढेको र १ अर्ब रुपैयाँ बराबर लाभांश दिने क्षमता बनाएको छ।
  • ग्लोबल आईएमई बैंकले पनि नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरी ५ अर्ब ३७ करोड रुपैयाँ लाभांश दिने क्षमता देखाएको छ।
  • सेयर बजारमा बैंक र हाइड्रोपावर समूहका कम्पनीको वित्तीय विवरण सकारात्मक भए पनि बजार मूल्य घटेको र कारोबारी मूल्य उतारचढावमा केन्द्रित भएको देखिएको छ।

२९ साउन, काठमाडौं । प्रभु बैंकले बुधबार गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्‍यो । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा एक वर्षमा १० गुणा बढ्यो । नाफा मात्रै बढेको छैन, सेयर कारोबारी तथा लगानीकर्तालाई दिन सक्ने लाभांश क्षमता पनि बढेको छ ।

गत आर्थिक वर्ष लाभांश नै नदिएको यो बैंकले यो पटक १ अर्ब रुपैयाँ बराबर लाभांश दिने क्षमता बनाएको छ । प्रतिकित्ता ४.४ रुपैयाँ लाभांश दिने क्षमता बैंकले बनाएको छ ।

वित्तीय विवरण आशलाग्दो देखिए पनि बैंकको सेयर मूल्य सोही दिन नै ०.३८ प्रतिशत घट्यो र २१७.८८ रुपैयाँमा झर्‍यो ।

ग्लोबल आईएमई बैंकले पनि सोही दिन नाफा बढेको वित्तीय विवरण सार्वजनिक गर्‍यो । ५ अर्ब ३७ करोड रुपैयाँ लाभांश बाँड्ने क्षमता देखिएको छ । बैंकको प्रतिकित्ता लाभांश दिने क्षमता १४ रुपैयाँ ११ पैसा हो ।

राम्रो वित्तीय विवरण आएकै दिन ग्लोबल आईएमईको सेयर मूल्य पनि १.०८ प्रतिशत घट्यो र २५१.५३ रुपैयाँमा झर्‍यो । मूल्य साढे दुई सय हाराहारी र लाभांश क्षमता अंकित मूल्यको १४ प्रतिशत हुँदा पनि आकर्षण देखिएन । अंकित मूल्य मात्रै नभई बजार मूल्यकै आधारमा पनि बैंकको लाभांश क्षमता वाणिज्य बैंकको औसत व्यक्तिगत मुद्दती निक्षेपको भन्दा बढी हुन आउँछ ।

प्रभु, ग्लोबल आईएमई मात्रै होइन, सबैजसो बैंकको वित्तीय विवरण तुलनात्मक रुपमा राम्रो आएको छ । तर सेयर बजार नै घटिरहेको छ । हालसम्म १५  सूचीकृत वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक वित्तीय विवरणमध्ये नेपाल एसबीआई र सिटिजन्सको खुद नाफा सामान्य घटेको छ तर अरु बैंकको बढेको छ । ती बैंकको लाभांश क्षमता पनि बढेको छ । १५ मध्ये तीन बैंक कुमारी, नेपाल र हिमालयन बाहेक अरुको वितरणयोग्य नाफा धनात्मक छ ।

बैंक मात्रै होइन, वित्तीय विवरण सार्वजनिक गरेका हाइड्रोपावर कम्पनीको पनि नाफा बढ्ने निश्चित छ । आयोजना सञ्चालनमा आइसकेका र विवरण सार्वजनिक गरेका करिब सबैजसो हाइड्रोपावरको नाफा बढेको छ ।

बैंकको ब्याज घट्दा हाइड्रोपावर कम्पनीहरुको वित्तीय लागत घट्न गई नाफामा सकारात्मक प्रभाव पारेको छ । वित्तीय लागत घट्दो क्रममै रहेकाले हाइड्रोपावर कम्पनीको नाफा पनि थप बढ्ने निश्चित छ ।

सेयर बजारमा बैंकिङ र हाइड्रोपावर नै सबैभन्दा शक्तिशाली समूह हुन् । त्यसैले यी समूहका कम्पनीको वित्तीय विवरणले बजारलाई सकारात्मक प्रभाव पार्नुपर्नेमा उल्टो प्रतिक्रिया देखिएको छ ।

मुख्यतः गत वर्षको बजार प्रवृत्तिले पनि यतिबेला कारोबारीलाई झस्काएको छ ।

अर्कोतर्फ फाइनान्स र विकास बैंकको पनि वित्तीय विवरण बैंकको जस्तै सुधार भएर आउनेछ । ती संस्थाको पनि लोन लस प्रोभिजन घट्दा नाफामा सुधार आएको छ।

‘अहिले कर्जा रिकभरी केही सुधारिएको छ, जसले गर्दा नोक्सानी व्यवस्थापन रकम फिर्ता भएकाले नाफामा सुधार देखिएको छ’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले भने ।

तर सेयर लगानीकर्तामा भने आश अझै बढेको छैन । यसअघि साउन १३ गते ३००२ अंकमा पुगेको सेयर बजार दुई सातामै ७.२२ प्रतिशत घटेर बुधबार २७८५ अंकमा झरेको छ । बजार अझै घट्ने आशले खरिद गर्नेहरु पर्खिरहेका छन् ।

साउन १३ गते करिब ४ वर्षयताकै उच्चतम अंकमा बजार पुगिरहँदा कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक भएको थिएन । त्यसपछि जब बजार घट्दै गयो, वित्तीय विवरण भने सकारात्मक आउँदै गयो । वित्तीय विवरण सकारात्मक हुँदै जाँदा पनि बजारको ओरालो यात्रा थामिएको छैन । बीचबीचमा कुनै दिन बजार हरियो भए पनि टिकाउ भएको छैन ।

यस्तो किन भइरहेको छ ? बजारमा कारोबारी नै हाबी भएको र उनीहरुले जहिले पनि मूल्य परिवर्तनबाट हुने नाफा/नोक्सानीलाई मात्रै हेरेकाले यस्तो अवस्था आएको नेपाल स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट बताउँछन् ।

‘जतिबेला बजार बढिरहेको हुन्छ, त्यसबेला कुनै कम्पनीको वित्तीय विवरण नाजुक नै आए पनि त्यसको मूल्य बढ्ने गरेको छ’ उनले भने ‘तर जब बजार घट्ने प्रवृत्तिमा देखिन्छ, त्यसपछि जतिसुकै राम्रो वित्तीय विवरण आए पनि त्यसको प्रभाव नदेखिने गरेको अवस्था छ ।’ यसको पछाडिको मुल कारण नै मूल्य उतारचढावलाई मात्रै कारोबारीले नाफा/नोक्सानका रुपमा बुझ्ने गरेको उनले बताए । बजारमा कारोबारी नै हाबी भएकाले उनीहरुले लाभांशका लागि नभई मूल्यबाटै फाइदा लिने लक्ष्य राखेका हुन्छन् ।

फाइल तस्वीर

लाभांशबाट हुने फाइदाभन्दा मूल्यबाट हुने फाइदा धेरै र छोटो अवधिमै प्राप्ति हुने भएकाले वित्तीय विवरण वा लाभांश क्षमताले प्रभाव नपरेको उनको भनाइ छ ।

बजार बढिरहँदा पनि घट्ने सोच नआउने भएकाले एकोहोरोजस्तै बढ्ने र घट्न थालेपछि बढ्ने सोच नआउँदा त्यस्तै किसिमले बजार घट्ने गरेको लगानीकर्ता बताउँछन् ।

‘बजार बढ्दा अझै बढिरहन्छ भन्ने मानसिकता र घट्दा अझै घटेर नोक्सान भइरहने किसिमको बुझाई व्याप्त भयो’ सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले भने ‘यस्तो अवस्थामा अन्य घटनाक्रमको पनि असर नपर्ने गर्छ ।’

मुख्यतः गत वर्षको बजार प्रवृत्तिले पनि यतिबेला कारोबारीलाई झस्काएको छ । गत वर्षको साउन ३१ गते पनि बजार ३००० अंक पुगेको थियो । तर त्यसपछि घटेर असोज २४ गते २४६४ अंकसम्म झर्‍यो । अहिले पनि साउन १३ गते ३००२ अंक पुगेको बजार लगातार ओरालो लागेपछि धेरैको मानसिकतामा गत वर्षकै झझल्को छ । गत वर्ष त्यसरी झरेको बजार फेरि त्यहीं विन्दुमा पुग्न करिब एक वर्ष नै लाग्यो ।

यसले गर्दा अहिले खरिदकर्ताको क्षमता कमजोर भइरहेको छ भने बिक्रीकर्ताको मानसिकतामा डर छ । पोर्टफोलियोको मूल्य आज हेर्‍यो झन् कमी, भोलि हेर्‍यो अझै कमी हुन थालेपछि डराएर पनि कतिपयले बिक्री बढाएका छन् ।

तर यतिबेला सम्हालिनुपर्ने अवस्था रहेको फुल्लेल बताउँछन् । ‘ अहिले कारोबार रकम पनि सुक्दै गएको छ यसले अब धेरै नघट्ने संकेत दिइरहेको छ’ उनले भने ‘यसको अर्थ डराएर सेयर बेच्नेहरु अब सकिँदै गएका छन्, त्यसकारण जुनसुकै विन्दुबाट फेरि बजारले लय लिन्छ ।’

उनको भनाइजस्तै कारोबार रकम छोटो समयमा उच्च दरले घटेको छ । गत साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा अहिले यो रकम एक चौथाईभन्दा कममा खुम्चिएको छ । बजारमा अहिले कारोबार रकम ६ अर्ब हाराहारीमा झरेको छ । २०८१ साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड छ ।

बजारमा अहिले आत्तिएर बेच्नुपर्ने अवस्था नरहेको फुल्लेल बताउँछन् । ‘ब्याजदर बढ्ने अवस्था छैन, प्रणालीको तरलता घट्न सकेको छैन, नीतिगत व्यवस्थाले साथ दिइरहेको छ, अझ अहिले त कम्पनीका वित्तीय विवरणले पनि साथ दिन थालेका छन्’ उनले भने ‘त्यसकारण खरिदको मौका बजारले दिँदैछ ।’

सबै पक्षमा राम्रो वातावरण भएका बेला बजारको यो घटाइलाई नकारात्मक रुपमा नभई मौकाका रुपमा बुझ्नुपर्ने उनी बताउँछन् । ‘राम्रो लाभांश क्षमता भएका कम्पनी सस्तो मूल्यमा पाउने मौका फेरि आएको छ, यो डराउने बेला होइन, खुसी हुने विषय हो’ उनले भने ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?