+
+
Shares

धितोपत्र ब्रोकरले दीपेन्द्र अग्रवाल समूहलाई सेयर किन्ने ‘लिमिट’ नदिने 

दीपेन्द्रले उधारोमा सेयर किन्ने र पैसा नतिरी उल्टै दु:ख दिएपछि  ब्रोकरले धितोपत्र कारोबारको ‘लिमिट’ नदिने अनौपचारिक सहमति गरेका हुन् । 

भुवन पौडेल भुवन पौडेल
२०८२ साउन २९ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धितोपत्र दलाल कम्पनीले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई सेयर खरिद गर्न नदिने भएका छन् ।
  • दीपेन्द्र समूहले उधारोमा सेयर किन्ने, पैसा नतिर्ने र ब्रोकरलाई दु:ख दिने घटना दोहोरिँदै आएको छ।
  • दीपेन्द्र समूहका सदस्य नरेश जोशीले ४ करोड रुपैयाँ बराबरको सेयर खरिद गरी भुक्तानी नगरेको विषयमा स्टक ब्रोकर एसोसिएसनले छलफल गरेको छ।

२९ साउन, काठमाडौं । धितोपत्र दलाल कम्पनीले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई सेयर खरिद गर्न नदिने भएका छन् ।

दीपेन्द्रले उधारोमा सेयर किन्ने र पैसा नतिरी उल्टै दु:ख दिएपछि  ब्रोकरले धितोपत्र कारोबारको ‘लिमिट’ नदिने अनौपचारिक सहमति गरेका हुन् ।

दीपेन्द्रले अरूका नामबाट कारोबार गर्ने र ब्रोकरलाई दु:ख दिने गरेका घटना दोहोरिँदै आएका छन् । उनले शिल्पा, हातेमालो, श्रीकृष्ण सेक्युरिटिज, सिप्रबी सेक्युरिटज कम्पनीसँग सेयर कारोबार गर्ने तर आफूले तिर्नुपर्ने पैसा नतिर्ने गरेका छन् ।

उनले उल्टै धितोपत्र ब्रोकरले आफूलाई दिनुपर्ने भन्दै प्रहरी समक्ष जाहेरी समेत दिने र प्रक्राउ नै गराएपछि स्टक ब्रोकर एसोसिएसनले नै यस विषयमा छलफल गरेको छ ।

दीपेन्द्र सहित उनको समूहलाई सेयर बिक्री गर्न दिने भए पनि खरिद गर्न दिने पक्षमा कुनै पनि दलाल कम्पनी नभएको एक ब्रोकरले बताए ।

‘सेयर बिक्री गर्न दिने तर खरिद गर्नका लागि लिमिट नै नदिने अनौपचारिक सहमति भएको छ,’ ती ब्रोकरले अनलाइनखबरसँग भने, ‘दीपेन्द्रको समूहले गर्दा ब्रोकरले धेरै दु:ख पाउनु परेको छ, उधारोमा कारोबार गर्ने त्यो पनि अरूका नाममा, त्यसपछि सम्बन्धित व्यक्तिका नाममा भुक्तानी गरेको पैसा दीपेन्द्रले ब्रोकरसँग आफूले दिएको पैसा फिर्ता मलाई नै देऊ भनेर दाबी गर्ने, त्यस्तो पनि हुन्छ ?’

दीपेन्द्र लगायतको समूहले धेरै ब्रोकर कम्पनीलाई यसरी दु:ख दिएको ती ब्रोकरको भनाइ छ । दीपेन्द्र एक्लैले १५ जनाभन्दा धेरैका नामबाट कारोबार गर्ने गर्छन् । साथै, उनले एउटा सेयर ती व्यक्तिबीच खरिद–बिक्री गर्ने र मूल्य बढाउने गर्दै आएका छन् ।

दीपेन्द्र आफूले मूल्य बढाइसकेपछि उक्त सेयर खरिद गर्नका लागि सर्वसाधारणलाई सामाजिक सञ्जाल मार्फत उकास्ने काम गर्दै आएका छन् ।

उनले ज्योति अग्रवाल, मिता मुरारका अग्रवाल, रेसु अग्रवाल, सविता अग्रवाल, नरेन्द्रकुमार अग्रवाल, हाआन मुरारका, सीमाकुमारी अग्रवाल, वीरेन्द्रबहादुर साउद, रामसिंह साउद लगायत व्यक्तिका नामबाट काराबोर गर्छन् ।

उनले ती व्यक्तिसँगै अन्य धेरै व्यक्तिको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता सञ्चालन गर्दे आएका छन् । पछिल्लो समय उनले दिनेशप्रसाद साहको पनि  टीएमएस चलाउँथे ।

दिनेश र दीपेन्द्रबीचको लेनदेन विवाद प्रहरीसम्म पुगेको छ । त्यो विवादमा दीपेन्द्र पत्नी मिता मुरारका अग्रवाल र बहिनी ज्योति अग्रवालले ब्रोकरले ठगेको भन्दै उजुरी दिएपछि सिप्रबीका महाप्रबन्धक जयन्त श्रीवास्तव ३ दिन प्रहरी हिरासतमा बस्नुपरेको थियो ।

दीपेन्द्र समूहकै नरेश जोशीले पनि तिर्दैनन् सेयर किनेको पैसा  

पछिल्लो समय दीपेन्द्र समूहकै एक सदस्य नरेश जोशीले नागरिक स्टक डिलरबाट ४ करोड रुपैयाँ बराबरको सेयर खरिद गरेर समयमा भुक्तानी दिएका छैनन् ।

ब्रोकर कम्पनीले सम्पर्क गर्दा नरेश लामो समयपछि बिहीबार उपस्थित भएका छन् । उनले उधारोमा सेयर खरिद गरी बैंकबाट कर्जा लिएर भुक्तानी दिने भन्दै आफ्नो खातामा सेयर आएपछि नामसारी गरी करिब २० दिन मोबाइल नै बन्द गरेर सम्पर्कमा नआएको सीआईटी स्टक डिललका कम्प्लायन्स अफिसर कृष्णजंग थापाले बताए । कारोबार रकम भने ४ करोड नै नभएको उनले बताए ।

तर, स्टक ब्रोकर एसोसिएसनको छलफलमा भने नरेशले ४ करोडको सेयर उधारोमा किनेर लामो समय सम्पर्कविहीन भएको विषयमा पनि छलफल भएको एक धितोपत्र ब्रोकरले बताए ।

साथै, छलफलमा दीपेन्द्र लगायत उनको समूहका सदस्यले कारोबार गरेर भुक्तानी नदिएको अवस्थामा कुन ब्रोकरकोमा कस्तो छ भन्ने विषयमा छलफल भएको ती ब्रोकरको भनाइ छ ।

पछिल्लो समय धितोपत्र बजार अस्थिर देखिनुको एउटा कारण ब्रोकरले उधारो कारोबारमा कडाइ गरेकाले पनि भएको ती ब्रोकरको बुझाइ छ ।

के हो कारोबार लिमिट ?

सेयर खरिद गर्न चाहने लगानीकर्ताले अग्रिम २५ प्रतिशत भुक्तानी गरेपछि मात्र आफूले चाहेको सेयर खरिद गर्न सक्छन् । १ लाख रुपैयाँ अग्रिम भुक्तानी गर्‍यो भने ४ लाखसम्मको सेयर खरिद गर्दा सोही दिन बाँकी ७२ प्रतिशत भुक्तानी गर्नु नपर्ने व्यवस्था नै कारोबार लिमिट हो ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?