
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला अदालतले सेयर कारोबारी दीपेन्द्र अग्रवालकी पत्नी मिता मुरार र बहिनी ज्योति अग्रवाललाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको छ।
- दीपेन्द्र अग्रवाललाई प्रहरीले १० दिन हिरासतमा राखेर हाजिर जमानीमा रिहा गरेको छ भने मिता र ज्योति फरार सूचीमा छन्।
- मिता र ज्योतिले सिप्रबी सेक्युरिटिजका सञ्चालक जयन्त श्रीवास्तवलाई ठगीको उजुरी दिएका थिए, जसलाई प्रहरीले अनुसन्धान गरी हाजिर जमानीमा रिहा गरेको छ।
२५ साउन, काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालकी पत्नी मिता मुरारका र बहिनी ज्योति अग्रवाल दुवैलाई काठमाडौं जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको छ । तर, प्रहरीले दीपेन्द्र अग्रवाललाई मात्र पक्रेर १० दिन हिरासतमा राखेर हाजिर जमानीमा रिहा गरेको छ ।
अदालतले दीपेन्द्रसँगै पत्नी मिता र बाहिनी ज्योतिलाई पनि पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको छ । उनीहरू दुवै अहिले प्रहरीको फरार सूचीमा छन् ।
फरार सूचीमा रहेका मिता र ज्योतिले सिप्रबी सेक्युरिटिजका सञ्चालक तथा महाप्रबन्धक जयन्त श्रीवास्तवलाई पक्राउ गर्न उजुरी दिएका थिए ।
ज्योति र मिताले सरकारी वकिल मार्फत धितोपत्र ब्रोकर सिप्रबीका सञ्चालक तथा महाप्रबन्धक श्रीवास्तवले ठगी गरेको भन्दै जाहेरी दिएपछि श्रीवास्तव आफैं काठमाडौ प्रहरी परिसरको सम्पर्कमा पुगेका थिए । प्रहरीले उनलाइ ३ दिन हिरासतमा राखेर शुक्रबार रिहा पनि गरिसकेको छ ।
प्रहरी स्रोतका अनुसार फरार अभियुक्तको जाहेरीले प्रहरी नियन्त्रणमा रहेका श्रीवास्तवलाई अनुसन्धान गरी हाजिरी जमानीमा छाडिएको छ । साथै, जाहेरीकर्ता दुवैको कारोबार उक्त सिप्रबी सेक्युरिटिजसँग नभएको प्रहरी अनुसन्धानका क्रममा देखिएको एक प्रहरी अधिकृतले बताए ।
‘दीपेन्द्र अग्रवाल र दिनेश साहको कारोबारको विवादमा सिप्रबीलाई तानिएको देखिन्छ,’ ती प्रहरी अधिकृतले भने, ‘दीपेन्द्र आफैंले पनि सिप्रबीसँग कारोबार नभएको र सिप्रबीका श्रीवास्तवले पनि उनीहरू आफ्ना ग्राहक नभएको बताएका छन् ।’
दीपेन्द्रको कारोबार दिनेश साहसँग भएको प्रहरीको भनाइ छ । दिनेशले भने सिप्रबीबाट सेयर खरिद–बिक्री गरेको अनुसन्धानले देखाएको छ ।
दीपेन्द्रले दिनेशको सेयर कारोबार मिलाउन सिप्रबी सेक्युरिटिजलाई भुक्तानी दिएको दाबी गरेको प्रहरीको भनाइ छ । तर, दीपेन्द्रले सिप्रबीलाई दिएको पैसा भने दिनेशको सेयर कारोबार राफसाफका लागि भएको धितोपत्र ब्रोकरको भनाइ छ ।
दीपेन्द्र र दिनेशको कारोबार नमिलेपछि दीपेन्द्रले उक्त पैसा भुक्तानी लिन ब्रोकर समेत तानेको प्रहरी अनुसन्धानमा देखिएको प्रहरी अधिकृत बताउँछन् ।
मिता र ज्योतिले भने सिप्रबीले ११ करोड ठगी गरेको आरोप लगाएका छन् । त्यसैगरी दीपेन्द्र, ज्योति र मितालाई करिब ८ करोड ठगी तथा विश्वासघातको अरोप लागेको छ । दुवै विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4