+
+
Shares
विशेष रिपोर्ट :

डाक्टर पलायन बढ्दो, विशेषज्ञको खडेरी

सरकारी छात्रवृत्तिमा पढेकासहित दक्ष चिकित्सक विदेशिएपछि राज्यको लगानी खेर गइरहेको छ । गुणस्तर घट्ने र भविष्यमा कमजोर चिकित्सकले उपचार गर्नुपर्ने जोखिम बढ्दै गएको छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ साउन ३१ गते १२:२५
ग्राफिक्स : अरुण देवकोटा/अनलाइनखबर

२९ साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकको संख्या ३८ हजार ४९९ छ । जसमा ११ हजार विशेषज्ञ छन् । तीमध्ये केही विदेशी चिकित्सक पनि छन् ।

मेडिकल काउन्सिलमा दर्ता चिकित्सकमध्ये अहिले नेपालमा कति छन्, यकिन तथ्यांक छैन ।

नेपाल चिकित्सक संघले २०७२ सालमा गरेको अध्ययनमा करिब ३६ प्रतिशत चिकित्सक देशबाहिर थिए । त्यसबेला काउन्सिलमा दर्ता भएका १७ हजार चिकित्सकमध्ये करिब ११ हजार मात्रै देशमा थिए ।

पछिल्लो समय कार्यस्थलमा सुरक्षाको प्रत्याभूत नभएको, पढाइ र समयको लगानीअनुसार तलब नभएको र नेपालमा करिअर नदेखेर चिकित्सक विदेशतर्फ आकर्षित भइरहेका छन् । जसको स्पष्ट संकेत मेडिकल काउन्सिलले प्रदान गर्ने ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ तथ्यांकबाट देखिन्छ ।

नेपालमा दर्ता रहेका चिकित्सकले विदेशमा अध्ययन वा काम गर्नका लागि नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिनुपर्छ ।

विदेशी नियामक निकायमा दर्ता हुन आवश्यक पर्ने गुड स्ट्यान्डिङ सर्टिफिकेट लिएका सबै व्यक्ति विदेश नै जान्छन् भन्ने चाहिँ हुँदैन ।

काउन्सिलका अधिकारीका अनुसार ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ पत्र लिएकामध्ये ७० प्रतिशत बढी विदेश गएको अनुमान छ ।

नेपाल मेडिकल काउन्सिलमा दर्ता ३८ हजार ४९९ चिकित्सकमध्ये ११ हजार विशेषज्ञ छन् । तर पछिल्ला वर्षमा ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिई विदेश जाने प्रवृत्ति भयावह रूपमा बढेको छ ।

विसं ०८१/०८२ मा विदेशमा अध्ययन वा कामका लागि चारित्रिक प्रमाणपत्र लिने चिकित्सकको संख्या २ हजार ६८१ छ । सन् २०२३ मा दुई हजार ३१८ जनाले गुड स्ट्यान्डिङ सर्टिफिकेट लिँदा २ हजार ६९२ जना डाक्टरले दर्ता लिएका थिए ।

यस्तै, सन् २०२२ मा २ हजार ६९२ जना डाक्टर दर्ता हुँदा गुड स्ट्यान्डिङ सर्टिफिकेट १ हजार ९५४ जनाको रहेका छन् ।

सन् २०२२ मा एक हजार ९५४, सन् २०२१ मा एक हजार ३२७ र सन् २०२० मा ८६९ जनाले यो सर्टिफिकेट लिएका थिए ।

सन् २०२१ मा १ हजार ३२७ जनाले असल चारित्रिक प्रमाणपत्र लिएका छन् । यो वर्ष १ हजार ७१६ जना डाक्टर दर्ता भएको मेडिकल काउन्सिलको तथ्यांक छ ।

सन् २०२० मा भने २ हजार १३१ जना डाक्टर दर्ता भएका थिए । सोही वर्ष ७५९ जनाले गुड स्ट्यान्डिङ सर्टिफिकेट लिएका थिए ।

अध्ययन, फेलोसिपप, श्रमिक भिसा र डिपेन्डेन्टलगायत प्रक्रियाबाट जानेको एकीकृत तथ्यांक कसैले नराखेकाले विदेशिनेको संख्या अझ बढी हुनसक्ने मेडिकल काउन्सिलका अधिकारी बताउँछन् ।

नेपालमा चिकित्सा क्षेत्रबाट योग्य जनशक्तिको निरन्तर पलायन भइरहेको छ । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार वर्षेनी डाक्टर विदेशी जाने संख्या बढ्दो छ ।

गत पाँच वर्षमा ९ हजार डाक्टरले मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिएका छन् । यसरी प्रमाणपत्र लिनेमध्ये सबैभन्दा बढी अमेरिका जाने प्रक्रियामा लाग्ने चिकित्सक छन् ।

पछिल्लो पाँच वर्षमा दुई हजार ४६६ जनाले अमेरिका जान प्रमाणपत्र लिएका छन् । जसमा सन् २०२० मा २७६ जना, सन् २०२१ मा २७३ जना, सन् २०२२ मा ४९६ जना, सन् २०२३ मा ८४३ जना र विसं ०८१/०८२ मा २ हजार ४६६ जना रहेका छन् ।

बेलायत जाने प्रक्रियामा लाग्ने चिकित्सकको संख्या पनि डरलाग्दो छ ।

पछिल्ला पाँच वर्षमा ९ हजार डाक्टरले ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिएका छन्, जसमा सबैभन्दा धेरै अमेरिका, बेलायत, माल्दिभ्स, अस्ट्रेलिया, यूएई लगायतका देश गइरहेका छन् ।

पछिल्लो पाँच वर्षमा दुई हजार १२८ जनाले बेलायत जान प्रमाणपत्र लिएका छन् । सन् २०२० मा १६२ जना, सन् २०२१ मा ३१९ जना, सन् २०२२ मा ५९२, सन् २०२३ मा ५०५ र सन् २०२४ मा ५५० जनाले बेलायत जान प्रमाणपत्र लिएको काउन्सिलको तथ्यांक छ ।

यस्तै, माल्दिभ्स जान सन् २०२० मा २१६ जना, सन् २०२१ मा ४०३ जना, सन् २०२२ मा ४५३ जना, सन् २०२३ मा ३९५ जना र सन् २०२४ मा ३८४ जनाले प्रमाणपत्र लिएका छन् । अस्ट्रेलिया, यूएई, क्यानडा र कतार जाने चिकित्सकको संख्या पनि बढ्दै गएको तथ्यांकले देखाउँछ ।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार पछिल्ला वर्षमा चिकित्सक विदेश जाने प्रवृत्ति उल्लेखनीय रूपमा बढेको छ ।

डा. देवका अनुसार गुड स्ट्यान्डिङ सर्टिफिकेट पत्र विदेशमा अध्ययन, तालिम, फेलोसिप वा रोजगारीका लागि जाने चिकित्सकले माग्छन् ।

‘चिकित्सकमा युके, अमेरिका, माल्दिभ्स, अस्ट्रेलिया, युएई जस्ता मुलुकप्रति उच्च मोह छ,’ उनले भने ।

अमेरिका जाने धेरैजसो चिकित्सक रेसिडेन्सी प्रोग्राममा सहभागी हुन चाहन्छन् । माल्दिभ्स र यूएईका लागि जाने चिकित्सकहरूको प्रमुख उद्देश्य रोजगारी हो । अस्ट्रेलियामा भने अध्ययन र रोजगारी दुवैका लागि जान चाहनेको संख्या उल्लेखनीय छ ।

डा. देवले चिकित्सकहरूको पलायनले भविष्यमा नेपालमा दक्ष जनशक्ति अभाव हुने चेतावनी दिए । उनका अनुसार माल्दिभ्सको तलब नेपालभन्दा न्यूनतम ६–७ गुणा, कतारको ८–१० गुणा र अमेरिकाको त झन् धेरै गुणा बढी छ ।

‘राज्यले आकर्षक अवसर र जीवनस्तर नदिएसम्म दक्ष चिकित्सकलाई रोक्न गाह्रो हुन्छ,’ उनले भने ।

पलायन हुँदैछ उपचार

पछिल्लो समय तीव्र गतिमा बढेको चिकित्सकको विदेश पलायनले केही विशिष्ट र जटिल रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको अभाव हुन थालेको छ ।

डीएम र एमसीएच (सुपर स्पेसलिस्ट रिसर्च डिग्री) को प्रवेश परीक्षाका केही वर्षदेखि मुटु सर्जन, मिर्गौला र कलेजो विशेषज्ञ अध्ययनका चिकित्सकको भर्ना नै भएका छैनन् ।

जानकारहरूका अनुसार सर्जरीमा मुटु र विशेषज्ञ विधातर्फ मिर्गौला, कलेजोमा सुपर स्पेसलिस्ट अध्ययन गर्ने चिकित्सक केही वर्षदेखि नै शून्य छन् वा साह्रै कम छन् ।

जसले एकातर्फ मुटु, मिर्गौला, कलेजो लगायतका रोग बढ्दै जाने र अर्कोतर्फ अध्ययन गर्न चिकित्सकले रुचि नै नदेखाउनाले आगामी केही वर्षमा मुलुकमा यस्ता विधाका चिकित्सकको खडेरी हुने प्रष्ट छ ।

मुटु, न्यूरो सर्जरी, मिर्गौला, कलेजो लगायतका विशेषज्ञ पढ्नमा आकर्षण कम हुनुमा केही कारण छन् ।

जटिल तथा लामो अध्ययन, अत्यधिक परिश्रमको काम, मिहिनेत र खटाइअनुसार तलब–भत्ता कम, जोखिमयुक्त काम, सरकारी अस्पतालबाट अवकाश पाएपछि निजी अस्पतालमा काम नपाइने वा सरकारीमा पनि जागिरको सुनिश्चितता नहुनु मुख्य कारण हुन् ।

पछिल्ला दिनमा नसर्ने रोगको प्रकोप बढिरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार नसर्ने रोगको एक कारक तत्व मुटुसम्बन्धी समस्या बन्दै गएको छ । त्यसैगरी, क्यान्सर, मिर्गौला, क्षयरोगको भार पनि उत्तिकै बढ्दो मात्रामा छ । अहिले पनि यस्ता बिरामीले सर्जरीका लागि लामो समय पर्खनुपर्ने बाध्यता हुनु भनेको पर्याप्त मात्रामा विशेषज्ञ चिकित्सक नहुनु हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की भन्छन्, ‘सरकारले चिकित्सकलाई देशभित्रै बस्ने वातावरण नबनाउने हो भने १० वर्षमा विदेशबाट डाक्टर ल्याएर उपचार गर्नुपर्ने स्थिति आउन सक्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशित गरेको नेपाल हेल्थ अकाउन्ट २०१७ मा विशिष्टीकृत सेवाका लागि राज्यले लगानी नगर्दा स्वास्थ्योपचारकै लागि वार्षिक दुई खर्बभन्दा बढी विदेशिने गरेको र करिब १७ प्रतिशत नागरिक स्वास्थ्य सेवा लिएकै कारण गरिब बनेको विवरण उल्लेख छ ।

सरकारको जनशक्तिको योजना तर्जुमा र व्यवस्थापनको नीति कमजोर हुँदा विभिन्न विषयका चिकित्सक उत्पादन हुन नसकेको र समयमै विशेषज्ञ सेवाका नपाएर सर्वसाधारणको मृत्यु भइरहेको विज्ञ बताउँछन् ।

किन छाडिरहेका छन् चिकित्सकले देश ?

नेपालबाट विदेशिने चिकित्सकका कारण एकरूप छैनन् । कसैले स्वदेशमै सुरक्षित रोजगारीको अवसर नपाएर, कसैले अनुकूल कार्य वातावरण नपाएर, कसैले निजी अस्पतालको शोषण सहनु परेको कारण विदेश रोजेका छन् ।

निजी खर्चमा पढेका धेरैको तर्क छ– नेपालको कमाइले पढाइमा लागेको लगानी नै उठ्दैन । यी सबैका साझा आकर्षण भने विदेशमा हुने तुलनात्मक रूपमा उच्च आम्दानी हो । कारण फरक–फरक भए पनि वैदेशिक पलायनको तीव्र गतिले भविष्यमा नेपालमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक पाउन कठिन हुने जोखिम बढाएको छ ।

सरकारले नयाँ दरबन्दी थप्ने त कुरै भएन, भएकै दरबन्दीमा पदपूर्तिका लागि लोकसेवा आयोगमार्फत विज्ञापन नखोलेको ८ वर्ष भइसकेको छ । केन्द्रीय अस्पतालमा सतप्रतिशत विशेषज्ञ दरबन्दी खाली छन् । जसको उदाहरण डडेलधुरा र गजेन्द्र नारायण अस्पताललाई लिन सकिन्छ ।

पछिल्लो पटक २०७४ सालमा मात्र १०० जना चिकित्सक सरकारी अस्पतालमा नियुक्त भएका थिए । स्वास्थ्य प्रणाली २५ वर्षभन्दा पहिलाको पुरानो दरबन्दी संरचनामै अड्किँदा नयाँ चिकित्सकलाई प्रवेशको बाटो प्रायः बन्द छ । यसकारण धेरैको विकल्प विदेश मात्र बचेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालीन प्रमुख विशेषज्ञ डा. टंकप्रसाद बाराकोटी संयोजकत्वको सरकारी अध्ययन टोलीले गरेको सर्वेक्षणले डाक्टरहरूको ठूलो हिस्सा विदेश जान इच्छुक रहेको देखाएको छ ।

चिकित्सक विदेश पलायनले मुटु, मिर्गौला, कलेजो जस्ता जटिल रोगका सुपर–स्पेसलिस्ट अध्ययन गर्नेको संख्या शून्य वा अत्यन्त कम भएको छ । जसले भविष्यमा खडेरी ल्याउने खतरा बढाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज मेडिकल क्याम्पसबाट सन् २०२२ मा एमबीबीएस उत्तीर्ण गरेका ४३ विद्यार्थीमध्ये सतप्रतिशतले विदेश जाने सोच बनाएको पाइएको छ ।

प्रतिवेदनअनुसार, तीमध्ये ४१ जनाले (करिब ९५ प्रतिशत) पहिले नै विदेशी परीक्षाका लागि दर्ता गरिसकेका थिए । ४१ मध्ये पाँचजनाले परीक्षा पास गरी म्याचिङ प्रक्रियामा प्रवेश गरेका छन् भने ३१ जना परीक्षा दिँदै छन् । अधिकांशले अमेरिकाको मेडिकल लाइसेन्स परीक्षा दिने योजना बनाएका छन् ।

डा. बाराकोटीका अनुसार, कार्यस्थलमा सुरक्षा नहुनु, पढाइ र समयको लगानीअनुसारको तलब नपाइनु र नेपालमा करिअरको भविष्य नदेखिनु चिकित्सकहरू विदेशतर्फ आकर्षित हुने मुख्य कारण हुन् ।

प्रतिवेदनले पनि न्यून तलब–सुविधा, अर्थपूर्ण तथा सम्मानित कामको अभाव, अध्ययन–अनुसन्धान र वृत्ति विकासका अवसरको कमी, स्वास्थ्य संस्थामा बढ्दो हिंसा र परिष्कृत पूर्वाधारको कमीलाई चिकित्सक पलायनका मुल कारकका रूपमा औंल्याएको छ ।

पढ्दा–पढ्दै उतै बस्ने प्रवृत्ति

नेपालमा चिकित्सक बन्न स्नातक तहमा पाँच वर्ष ६ महिना अध्ययन गर्नुपर्छ । त्यसपछि स्नातकोत्तर तहका लागि तीन वर्ष डिएम/एमचिएच तहका लागि तीन–तीन वर्ष अध्ययन गर्नुपर्छ । स्नातक तहभन्दा माथि अध्ययन गर्न चाहिने कार्य अनुभवको कारण अध्ययन पूरा गर्दा नै धेरै चिकित्सक उमेर ४० वर्ष लागेको हुन्छ । नेपाली चिकित्सकको आधाभन्दा धेरै जीवन अध्ययनमै बित्ने गर्छ ।

तर, जीवनको १२/१५ वर्ष र करोड रुपैयाँ खर्चेर पढेका चिकित्सकले जागिरको राम्रो अवसर नहुने, सेवा-सुविधा निकै कम हुँदा उनीहरूको आकर्षण नै विदेश बन्न जान्छ ।

देशमा आर्थिक, राजनीतिक र सामाजिक परिवेश डामाडोल छ । विशेष गरेर चिकित्सकमा नैराश्य छाएको कारण यो परिस्थिति आएको हो ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को पूर्वडीन डा. जगदीशप्रसाद अग्रवालले नेपालमा दक्ष चिकित्सकको विदेश पलायनको आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तरमा गम्भीर असर पार्ने बताउँछन् ।

उनका अनुसार नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षा पास गर्नेमध्ये अधिकांश उच्च क्षमताका चिकित्सक विदेश जाने तयारीमा हुन्छन् ।

तस्वीर : एआई।

‘जुन एकदमै कम्पिटेन्ट हुन्छ, त्यही व्यक्ति जान्छ । पढ्दा–पढ्दै उतै बस्ने प्रवृत्ति धेरै छ,’ डा. अग्रवाल भन्छन् ।

न्यून तलब–सुविधा, सम्मानित कामको अभाव, अनुसन्धानको कमी, स्वास्थ्य संस्थामा बढ्दो असुरक्षा र पूर्वाधारको अभाव पलायनका मुख्य कारण हुन् ।

सरकारी छात्रवृत्तिमा पढेका समेत विदेशिँदा राज्यको कराडौं लगानी खेर गएको छ ।

उनले मेडिकल शिक्षा प्रणालीमा कमजोर शैक्षिक आधार भएका विद्यार्थीलाई चिकित्सा शिक्षा दिने प्रचलन रोक्नुपर्ने धारणा राखे ।

‘विदेश जाने ट्रेन्ड यस्तै रह्यो भने नेपालमा स्वास्थ्य सेवा प्रदायकहरूको स्तर घट्दै जान्छ,’ डा. अग्रवाल भन्छन्, ‘भोलिका दिनमा काउन्सिल परीक्षामा ३२ पटक फेल फेल भएको मानिसले उपचार गर्नुपर्ने अवस्था आउन सक्छ ।’

चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीका अनुसार नेपालमा काम गर्ने अवसर पनि न्यून छन् ।

‘नेपालमा अवसर नै छैन । अनि बाहिर खोज्नु स्वाभाविक भयो । नेपालमा चिकित्सकले पाउने सुविधा न्यून, जीवनयापन गाह्रो हुने खालको अवस्था छ,’ डा. गिरी भन्छन् ।

विदेशमा अध्ययन गरेका चिकित्सक त्यहीँ काम पाउने सम्भावनालाई अर्को कारणका रूपमा उनले उल्लेख गरे ।

‘अमेरिकामा पढ्न गयो भने त्यहीँ काम पाउने सम्भावना बढी हुन्छ । त्यसकारण अध्ययन गर्ने जाने चिकित्सक यतै बस्ने परिपाटी देखिएको छ,’ डा. गिरी भन्छन् ।

‘१० वर्षमा विदेशबाट डाक्टर ल्याउनुपर्ने स्थिति आउँछ’

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले नेपालमा स्वास्थ्यकर्मी तथा चिकित्सकको विदेश पलायन दर तीव्रगतिमा बढ्दै गएको चेतावनी दिँदै यो प्रवृत्ति रोक्न तत्काल नीतिगत सुधार आवश्यक भएको बताए ।

उनका अनुसार राज्यले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी नगर्नु, मानव संसाधनको उचित व्यवस्थापन नहुनु, न्यून तलब–सुविधा, कानुनी जटिलता र कार्यस्थलको असुरक्षाले चिकित्सकमा गहिरो नैराश्यता पैदा गरेको छ ।

‘यो अवस्था सुधार नभए नेपालमा १० वर्षमा विदेशबाट डाक्टर ल्याएर उपचार गर्नुपर्ने स्थिति आउन सक्छ,’ डा. कार्की भन्छन् ।

उनका अनुसार विदेशको उच्च पारिश्रमिक, जीवनस्तर र सुरक्षित कार्य वातावरणले विदेश जाने प्रवृत्तिलाई थप तीव्र बनाएको छ ।

उनले छात्रवृत्ति करार प्रणाली, मास्टर्स अध्ययनअघि अनिवार्य एक वर्षको अनुभव नियम, स्थायी दरबन्दी नबढ्नु, तलब–सुविधा नबढ्नु र अत्यधिक कार्यचापलाई पलायनका प्रमुख कारणका रूपमा औंल्याए ।

सरकारले विदेशबाट दक्ष जनशक्ति फर्काउन सक्ने र टिकाइराख्ने गरी सामाजिक, आर्थिक, राजनीतिक र सुरक्षाको प्रत्याभूति र बाँच्न पुग्ने सेवा–सुविधा वृद्धि गर्नुपर्छ उनको भनाइ छ ।

सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी बढाउन, सुविधामा सुधार गर्न, नीतिगत अवरोध हटाउन र कार्यस्थलमा सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दै डा. कार्की भन्छन्, ‘विदेश गयो भनेर मात्रै गुनासो गर्ने होइन, समाधान निकाल्ने बानी बसाल्नुपर्छ ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?