+
+
Shares

बागमतीका ‘कान्छा’ मन्त्री कृष्णकुमार

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ मा जन्मिएका तामाङ ३२ वर्षका भए । २९ वर्षको उमेरमा उनी सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (ख) बाट निर्वाचित भएका हुन् ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८२ साउन ३० गते २१:३५

३० साउन, हेटौंडा । इन्द्र बानियाँ नेतृत्वको बागमती प्रदेश मन्त्रिपरिषद्मा शुक्रबार पाँच जना मन्त्री थपिएसँगै सरकारले पूर्णता पाएको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा १३ (मुख्यमन्त्रीबाहेक) जना मन्त्री बनेका छन् । १४ सदस्यीय मन्त्रिपरिषद्‌मा एमालेबाट स्वास्थ्यमन्त्री भएका भक्तपुरका किरण थापाबाहेक सबै नयाँ अनुहारका हुन् ।

२०७४ देखि २०८२ साउनसम्म बागमती प्रदेशमा ६ मुख्यमन्त्री र ८२ जना मन्त्री बनिसकेका छन् । बहादुर सिंह लामा नेतृत्वको सरकारसम्म ५ मुख्यमन्त्री र ७० जना मन्त्री भएका थिए ।

एउटै अनुहार दोहोर्‍याएरसमेत मन्त्री बन्दा बितेको ८ वर्षमा मन्त्री नियुक्त भएकाहरूको संख्या भने झण्डै १०० नजिक पुगेको छ ।

३२ वर्षमा मन्त्री

बागमती प्रदेशका सबैभन्दा कान्छा मन्त्रीको रेकर्ड सिन्धुपाल्चोकका कृष्णकुमार तामाङले बनाएका छन् । गत २० साउनमा मुख्यमन्त्री बानियाँको पहिलो रोजाईको मन्त्रीको रुपमा तामाङले खानेपानी, ऊर्जा तथा सिचाईंमन्त्री हुने अवसर पाए ।

सोहीदिन मुख्यमन्त्री नियुक्त भएका बानियाँले आफूसँगै कांग्रेसबाट तामाङलाई खानेपानीमन्त्री बनाए भने धादिङका शिवराज अधिकारीलाई विना विभागीय मन्त्रीको शपथ गराए । खानेपानी मन्त्रालय बागमतीको १३ वटा मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालयपछि सबैभन्दा ठूलो बजेट आकारको मन्त्रालय हो ।

बागमती प्रदेशका पूर्वमन्त्री तथा माओवादी सांसद रत्नप्रसाद ढकालले तामाङ हालसम्मकै कान्छो मन्त्री भएको बताए । २०७८ कार्तिकमा युवा तथा खेलकुदमन्त्री भएका ढकाल त्यतिबेलाको क्याबिनेटमा कान्छा (४० वर्ष) मन्त्री थिए ।

एमालेबाट २०७८ मा आर्थिक मामिलामन्त्री बनेकी दोलखाकी रचना खड्का, प्रदेशसभाको दोस्रो कार्यकालमा मन्त्री भएका हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य पनि ४० वर्षका थिए । उनी यसअघिका सरकारमा कान्छा उमेरका मन्त्री हुन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ मा जन्मिएका तामाङ ३२ वर्षका भए । २९ वर्षको उमेरमा उनी सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (ख) बाट निर्वाचित भएका हुन् । ‘म प्रदेशसभा आउँदा २९ वर्षको थिएँ । यहाँ आएको पहिलो पटकमै उनी मन्त्री हुने अवसर पाएको छु । अहिले म ३२ वर्षको भएँ,’ उनले अनलाइनखबरसँग भने ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग मन्त्री तामाङ ।

आफू सिन्धुपाल्चोकका जनता र पार्टी नेतृत्वको विश्वासको कारण सानो उमेरमै मन्त्री सफल भएको उनले सुनाए । तामाङ २५ मंसिर २०४९ सालमा बाबु श्रीमान् तामाङ र आमा ठूली तामाङको कोखबाट जन्मिएका हुन् । सपना तामाङसँग २०७० सालमा विवाह गरेका उनका कृष्पा र क्रिष्टल दुई छोरी छन् ।

स्नातक तह अध्यनन गरेका तामाङले सरस्वती माध्यमिक विद्यालय, महांकाल ग्याल्थुममा कक्षा ७ मा अध्ययन गर्दा नै नेपाल विद्यार्थी संघको सदस्यता प्राप्त गरेको बताए । ‘मैले ७ कक्षामा पढ्दादेखि नै संगठनमा आबद्ध भएर राजनीति बारे बुझ्न थालेको हो । नेविसँगको विद्यालय समितिको विभिन्न पदमा रहेर काम गरेँ,’ उनले भने ।

१२ कक्षा पढ्दासम्म उनी नेविसंघमा आबद्ध थिए । त्यसपछि नेपाल तरुण दलमा आबद्ध भएर वडा कार्यसमिति, क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिमा सदस्य पदमा रहेर जिम्मेवारी निर्वाह गरेको मन्त्री तामाङ बताउँछन् ।

नेपाली कांग्रेसको १२ औ महाधिवेशनबाट उनले पार्टीको क्रियाशील सदस्यता पाएका हुन् । १३ औं महाधिवेशनमा तत्कालीन थकनी गाविसको गाउँ इकाई समितिको सभापति भएका थिए । १४ औं महाधिवेशनका पुन: वडा कार्यसमितिको सभापति हुँदै क्षेत्रीय सभापतिको प्रत्यासी बन्न पुगेको उनले बताए ।

मन्त्री तामाङ २०७४ को स्थानीय तह निर्वाचनबाट मेलम्ची नगरपालिका वडा नम्बर ४ को वडा सदस्य पदमा निर्वाचित भएका थिए । पार्टी जिम्मेवारीमा जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको सदस्य रहेका उनी वडा सदस्यबाट सिधै प्रदेशसभा सदस्य निर्वाचित भए । प्रदेशसभामा आएपछि कांग्रेस बागमती प्रदेश संसदीय दलको सदस्य सचिव बने ।

लामाले खानेपानी मन्त्रालयमा नीतिगत सुधारको काममा हात अगाडि बढाएका छन् । ‘मन्त्रालयमा आवश्यक कानुनहरु निर्माण भएका रहेनछन् । कार्यविधिबाट मात्रै काम गर्नुभन्दा कानुन नै बनाउनुपर्छ भनेर तत्काल दुई वटा कानुनको मस्यौदा निर्माणको तयारीमा लागेको छु,’ उनले भने, ‘एउटा खानेपानी र अर्को सिचाई सम्बन्धी कानुन ल्याउँछु ।’

उनले प्रदेशभित्र खानेपानी र सिचाईंको क्षेत्रमा गुणस्तरीय काम गर्ने बताए । नागरिकको लागि खानेपानी र सिचाईं महत्त्वपूर्ण कुरा रहेकाले त्यसमा बढी जोड दिएर लाग्ने उनको भनाई छ ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?