+
+
Shares

गोंगबुमा श्रीमतीको हत्या गरेर बक्स पलङमा लुकाइयो शव, वीरगञ्जबाट श्रीमान् पक्राउ

भारत भाग्न लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरेर वीरगञ्जबाट पक्राउ गरी सेन्चुरीलाई काठमाडौं ल्याइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोंगबुमा श्रीमती ललिता बिकको हत्या गरी शव बक्स पलङमा लुकाएर फरार सन्तोष सेन्चुरीलाई वीरगञ्जबाट पक्राउ गरिएको छ।
  • सन्तोषले डिभोर्सको छलफल गर्न भन्दै २७ साउनमा श्रीमतीलाई होटलमा बोलाएर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
  • सन्तोषले २/३ घण्टा विवादपछि घाँटी थिचेर हत्या गरी फरार भएको र आफैंले परिवारका मान्छेलाई उजुरी गर्न लगाएको बताएका छन्।

१ भदौ, काठमाडौं । गोंगबुमा श्रीमतीको हत्या गरेर बक्स पलङमा लुकाएर फरार भएको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साको वीरगञ्जबाट पक्राउ गरेको हो ।

भारत भाग्न लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरेर वीरगञ्जबाट पक्राउ गरी सेन्चुरीलाई काठमाडौं ल्याइएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको छ ।

३० साउनको राति ११ बजेतिर गोंगबु मित्रनगरस्थित भीममाया लिंखाले सञ्चालन गरेको कोशी होटल एन्ड लजको कोठा नम्बर २०१ मा एक महिलाको शव भेटिएको थियो । मृत महिला २७ वर्षीया ललिता बिक रहेको खुलेको थियो । ललिता सन्तोषको श्रीमती रहेको प्रहरीले बताएको छ ।

डिभोर्सको छलफल गर्न भन्दै बोलाएर हत्या

२८ साउनमा ललिताका भाइ मोतिरामले आफ्नी दिदी हराएको भन्दै प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएका थिए । त्यसपछि वृत्त महाराजगञ्जले श्रीमान् सन्तोषलाई बोलाएर सोधपुछ समेत गरेको थियो । श्रीमान सन्तोषसहित परिवारका सदस्यले ललिताले काम गर्ने गार्मेन्टमा खोज्न समेत गएका थिए ।

तर ललिताको अवस्था पत्ता लागेको थिएन । हराएको भनिएको तीन दिनपछि होटलको कोठामा गन्ध आएको ३० साउनका राति ११ बजेतिर होटल सञ्चालक भीममाया लिंखाले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरी गएर कोठामा हेर्दा बक्स पलङभित्र लुकाएको अवस्थामा शव भेटिएको थियो । उक्त शव तीन दिनअघि नै हरायो भन्दै निवेदन दिएकी महिला ललिताको रहेको पुष्टि भयो ।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दा मुखमा कपडा कोचिएको अवस्थामा बक्स पलङभित्र लुकाएको अवस्थामा महिलाको शव भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानकै क्रममा हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढायो ।

सो क्रममा दुई वर्षअघि विवाह गरेका ललिता र सन्तोषको सम्बन्ध पछिल्लो समय राम्रो नभएको खुल्यो । सन्तोषको अर्को महिलासँग पनि सम्बन्ध रहेको ललिताले थाहा पाएपछि सम्बन्ध बिग्रँदै गएको पाइएको एक अनुसन्धान अधिकारीले बताए ।

जसकारण सन्तोषले ललितालाई शारिरीक र मानसिक यातना दिँदै आएको आरोप समेत छ । त्यसपछि दुवै जना सम्बन्ध बिच्छेद गरेर आफूखुसी बस्ने भन्दै सहमति समेत जनाएका थिए । सोही क्रममा यसैको अन्तिम छलफल गर्न भन्दै सन्तोषले श्रीमतीलाई २७ साउनमा उक्त होटलमा बोलाएको पाइएको अपराध अनुसन्धान कार्यालयका डीएसपी अंगुर जिसीले बताए ।

२७ साउनको दिउँसो उक्त होटलमा छिरेका उनीहरू दिउँसो ४ बजेतिर भने सन्तोष एक्लै उक्त होटलबाट बाहिरिएको सीसीटिभी फुटेजमा समेत देखिएको छ । २९ गते प्रहरीले बोलाएपछि महाराजगञ्ज गएका सन्तोष त्यसपछि भने मोबाइल अफ गरेर फरार भएका थिए ।

वीरगञ्जबाट पक्राउ परेका सन्तोषले २/३ घण्टा कुरा गरेपछि विवाद भएकाले घाँटी थिचेर हत्या गरी शव लुकाएर फरार भएको बताएका छन् । हत्यापछि आफैंले परिवारका मान्छेलाई नभेर प्रहरीमा उजुरी हाल्न लगाएको प्रहरीले सन्तोषलाई उदृत गर्दै भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?