
गएको साउन २३ गते सामाजिक सञ्जाल मार्फत पूर्वस्वास्थ्य राज्यमन्त्री तथा दुईपटक नै संविधानसभा सदस्य बन्न सफल खड्गबहादुर बस्यालको मृत्यु खबरले दु:खित बनायो । हुनत उनी लामो समयदेखि मुटुको समस्याले पीडित भएर अस्पतालमा महिनौं बिताएका थिए तरपछि उनको मृत्युको कारण मुटुको रोग नभएर पेटको क्यान्सर भएछ ।
भन्न त उनको मृत्यु तीन महिनामा हुन सक्छ भनेर डाक्टरहरूले भनेका रहेछन् तर मुटुको रोगले पहिलेदेखि ग्रसित शरीरले क्यान्सर जस्तो घातक रोगलाई सहन नसकेपछि ७४ वर्षको आयुमै उनले देहत्याग गर्नुपर्यो । तर उनले आफ्नो जीवनमा जे–जति गरे र पाए, ती सबैलाई हेर्दा जीवनसँग गुनासो गर्नुपर्ने वा पछुताउनुपर्ने त्यस्तो केही पनि छैन भन्ने लाग्छ ।
मलाई के पनि लेख्न मन लाग्यो भने, रोगले ग्रसित भएर शारीरिक र मानसिक कष्ट पाउनु आफ्नो ठाउँमा छ तर; उनले एउटा सद्भाव र सम्मानजनक मृत्युवरण गरेको देख्दा सबैको मृत्यु त्यस्तै होस् भन्ने भावना जागेर आएको छ । यो शब्द–श्रद्धाञ्जलिको उद्देश्य पनि उनको सम्मानजनक मृत्युका केही पाटाहरूलाई केलाउनु रहेको छ ।
उनको विगतको जीवनलाई केलाउँदै जाँदा उनको जन्म २००८ सालमा भएको देखिन्छ र उनको बाल्यकाल एउटा दलित परिवारमा जन्मिएको हुँदा अरू जस्तो सुख–सयलमा हुर्कने कुरा भएन । र पनि बुवाले उनलाई त्यो जमानामा एसएलसीसम्म पढाएका रहेछन् किनकि उनी पनि सामाजिक र राजनैतिक रूपमा सक्रिय; पञ्चायतकालमै नेपाल राष्ट्रिय समाज कल्याण संघको केन्द्रीय सदस्य भएका थिए । जुन पढाइ त्यतिवेलाको परिवेश अनुसार एउटा गैरदलित परिवारमा समेत राम्रो मानिन्थ्यो ।
उनले सरकारी जागिर किन खाएनन् वा पाएनन्, त्यो पाटोको बारेमा कहिल्यै जानकारी भएन तर उनले भेटेरिनरी सम्बन्धी काम गर्दै अस्थायी शिक्षकको रूपमा सुर्खेत जिल्लाका विभिन्न ठाउँमा पढाएका रहेछन् । उनको जागिरे जीवन पञ्चायतकालमा भएतापनि एउटा पढे–लेखेको व्यक्ति भएको हुँदा प्रजातान्त्रिक विचारतिर झुकाव हुँदै उनी नेपाली कांग्रेससँग जोडिए र प्रजातान्त्रिक विचारको पक्षमा उनले लामो समय काम गरे ।
यसरी काम गर्दै गएपछि कांग्रेसका नेताहरूसँग जोडिनु स्वाभाविक भयो । उनी स्थायी शिक्षक थिएनन्, त्यसैले पेशालाई उनले जहिले पनि छोड्न सक्ने अवस्था भएन । उनलाई अन्य सामाजिक तथा राजनैतिक गतिविधिसँग जोडिन समस्या भएन ।
पञ्चायतकालको अन्त्यतिर गठन भएको एउटै सामाजिक संगठन नेपाल राष्ट्रिय दलित समाज कल्याण संघसँग उनी आबद्ध हुँदै यसको केन्द्रीय सदस्य भए । यसले उनलाई नेपालको दलित आन्दोलनसँग जोडिने र केही गतिविधि गर्ने मौका दियो ।
२०४६ सालको राजनैतिक परिवर्तनपछि उनलाई खुला पार्टी राजनीतिमा जोडिएर आफ्ना गतिविधिहरू बढाउन सजिलो भयो र उनीसँग जोडिए प्रा. मानबहादुर विश्वकर्मा जो २०४८ सालपछि स्वर्गीय गिरिजाप्रसाद कोइरालाका निकटस्थ दलित नेता थिए ।
खड्ग बस्याल नेपाली कांग्रेसको राजनीतिमा जिल्ला तहदेखि जोडिएको भएतापनि केन्द्रीय तहमा पहिचान बनाउन सजिलो थिएन । अत: उनले मानबहादुरको बलियो साथ र सहयोग पाए । त्यस्तोमा नेपाली कांग्रेसको दलित भ्रातृ संगठनको अवधारणा आयो र त्यसलाई मूर्तरूप दिन मानबहादुर लागिपरे र पचहत्तरै जिल्लाको भ्रमणमा निस्किए अनि उनलाई साथ दिए बस्यालले ।
यसरी देशव्यापी दौडाहामा निस्कँदा देशभरिका दलितहरूले उनलाई चिन्ने मौका मात्रै पाएनन्, माओवादी युद्ध शुरु भएको दुई वर्षमा अर्थात् २०५४ सालमा भएको प्रथम अधिवेशनले उनलाई नेपाल दलित संघको प्रथम सभापतिको रूपमा चुन्यो ।
बस्यालले सो भ्रातृ संगठनको नेतृत्व गर्ने अवसर पाउँदा उनको राजनैतिक उचाइ निकै माथि पुग्यो । उनलाई किन यत्ति धेरै च्याप्नुभयो भनेर मानबहादुरलाई सोधिन्थ्यो ।
त्यतिबेला एमालेको तर्फबाट दलित नेताको रूपमा गोल्छे सार्कीको नाम निकै चर्चामा थियो । मानबहादुरले भने, ‘नेपाली कांग्रेसभित्र गोल्छे सार्कीको उचाइको कुनै नेता नभएको र खड्ग बस्याल पनि सार्की समुदायको व्यक्ति हुँदा उनलाई अघि सार्ने नीति मैले लिएको हुँ ।’ जवाफ सुनेपछि गिरिजाको पनि थप साथ–सहयोग पाए ।
उनी नेपाल दलित संघको एक कार्यकालको सभापति भएतापनि दोस्रो कार्यकालको लागि भएको चुनावमा अर्का दलित नेता तथा पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्मासँग पराजित भए । तर उनको राजनैतिक यात्रा यत्तिमै टुंगिएन । उनी सुर्खेत जिल्लाको नेपाली कांग्रेसको उपसभापति भए र धेरै पटक कार्यवाहक सभापति भएर पनि काम गर्ने मौका पाए ।
माओवादी युद्ध उत्कर्षमा पुगेको बेलामा उनलाई सुर्खेत बस्ने वातावरण भएन । त्यसैले लामो समय काठमाडौंमा बस्नु पर्दा फेरि उनै मानबहादुरको साथ–सहयोग पाए । जनआन्दोलन २०६२/६३ ताका पार्टीले आन्दोलनको केही भागको नेतृत्व मानबहादुरलाई गर्न लगाएकोमा उनका अनन्य सहयोगी बने बस्याल र आन्दोलनका विभिन्न मोर्चामा उनी खटिए, लडे र भिडे ।
उनलाई मानबहादुरले केवल साथ मात्र दिएनन्, आफ्नो बुताले भ्याएसम्म अवसर पनि दिए । मानबहादुर दलित विकास समितिको उपाध्यक्ष बन्दा बस्याललाई त्यस कार्यसमितिको सदस्य बनाउँदै सन् २००१ मा दक्षिण अफ्रिकाको डर्बानमा भएको रंगभेद तथा जातिभेद सम्मेलनमा सरकारी प्रतिनिधि मण्डलको सदस्य समेत बनाएर लगे । त्यसपछि राष्ट्रिय दलित आयोगको जम्बो समितिमा सदस्य समेत बने ।
उनी सुर्खेत निवासी भएकोले पनि होला उनको सम्बन्ध स्व. सुशील कोइरालासँग पनि राम्रो रहेको बताइन्छ । यता मानबहादुर मार्फत गिरिजासँग पनि राम्रो सम्बन्ध भएका र क्षेत्रीय हिसाबले सुशीलसँग पनि राम्रो सम्बन्ध भएकोले हुनुपर्छ, समानुपातिक सूचीबाट दुईपटकसम्म संविधानसभाको सदस्य बन्ने केही सीमित भाग्यमानीमध्ये उनी पनि परे ।
यहीक्रममा उनले उमाकान्त चौधरी स्वास्थ्य मन्त्री हुँदा राज्यमन्त्री हुने मौका पाए । नेपालका कुनै पनि मन्त्रीहरूले आफ्नो पूरा कार्यकाल पूरा गर्ने अवसर नपाए जस्तै उनी पनि करीब १३ महिना मात्र राज्यमन्त्रीको भूमिकामा रहे ।
म आफैं पनि दलित अधिकारको क्षेत्रमा क्रियाशील रहेको हुँदा उनीसँग व्यक्तिगत चिनजान नहुने कुरै भएन । संविधानसभाको समय थियो । त्यसलाई लक्षित गरी मैले दलित निगरानी भन्ने विचार सहितको न्युज बुलेटिन प्रकाशित गर्थें तर त्यसलाई दिगो बनाई निरन्तरता दिने अवस्था थिएन ।
स्वास्थ्य मन्त्रालयले विभिन्न मिडियाहरूलाई लोककल्याणकारी विज्ञापनहरू प्रदान गर्छ भन्ने सुनेको थिएँ । उनलाई भेट्न कार्यकक्षमा पुगेको थिएँ । कार्यकक्षमा पुगेपछि देखेको दृश्यले मलाई धेरै कुरा महसुस गरायो । मन्त्रीलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले कस्तो व्यवहार गर्दा रहेछन् र निकम्मा बनाउन लागिपर्दा रहेछन् भन्ने नजिकबाट अनुभूत गरें ।
राज्यमन्त्रीको कार्यकक्ष ठूलै थियो । त्यहाँ कम्तीमा पनि ५० जना जति कांग्रेसका कार्यकर्ताहरू थिए । यदि बस्न मिल्ने भए मन्त्रीकै कुर्सीमा पनि बस्थे होलान् जस्तो गरेर अटेसमटेस गरेर बसेका थिए । कतिपयले भुईंको कार्पेटलाई आसन बनाएका थिए । सबै सम्भवत: स्वास्थ्य मन्त्रालयले बाँड्ने राहत वा त्यस्तै सुविधा पाउन त्यहाँ जम्मा भएका थिए ।
कोलाहल यति थियो कि मन्त्रीको कार्यकक्ष नभएर त्यो कुनै सार्वजनिक बसपार्क हो । यत्तिकैमा एउटी अधबैंसे महिला चिच्याउँदै र कराउँदै भित्र प्रवेश गरिन् र एक अर्थमा भन्ने हो भने उनले राज्यमन्त्रीलाई थर्काइन् । उनलाई मैले पनि जनआन्दोलनको बेलामा जुलुसमा धेरै पटक देखेको थिएँ । उनले आफूले धेरै ठाउँमा आन्दोलन गरेको र पार्टीलाई सफल बनाएको हुँदा त्यसको बदलामा उनले आफूले पाउनुपर्ने सहयोग र सुविधाको फेहरिस्त सुनाइरहेकी थिइन् ।
यस्तोमा राज्यमन्त्री बस्याल केही लाचारी प्रकट गर्दै मूकदर्शक भएर त्यहाँ भेला भएका कार्यकर्ताहरूको कुरा सुनिरहेका थिए । मैले मन्त्रीसँग छुट्टै भलाकुसारी गर्ने आशामा करीब एक घण्टा बिताउँदा पनि कुरा गर्ने अवसर नपाउने जस्तो भएपछि मन्त्रीलाई अप्ठेरो लागेछ क्यारे ! उनले आफ्नो गोप्य कार्यकक्षमा लगेर मेरो कुरा केही सुन्दै थिए ।
तर दुर्भाग्य, ढोकाको चुक्कुल नलागेको हुँदा त्यहाँ पनि कार्यकर्ताहरू छिरेर मन्त्रीलाई घेरे । त्यसपछि मैले आफ्नो कुरा भनेर मात्रै बाहिर निस्किएँ । उनी स्वास्थ्य राज्यमन्त्री भएकोले दलितका पक्षमा केही कामहरू गर्लान् कि भन्ने हाम्रो आशा विपरीत उनले केही गर्न सकेको देखिएन ।
राजाबाट मनोनीत राष्ट्रिय सभाका सदस्य मानबहादुर विश्वकर्मा किड्नी फेल भएपछि लामो समय वीर अस्पतालको शय्यामा बिताएर मृत्युवरण गरेका थिए । त्यतिबेला मन्त्री बस्याल मन्त्री पदबाट निवृत्त भइसकेका थिए । उनको आर्थिक हैसियत निकै नाजुक थियो । अस्पताल प्रशासनले उनको शवलाई बाहिर निकाल्न दिइरहेको थिएन ।
केही अत्यावश्यक शुल्क हामीले उठाएर तिरिदिएका थियौं तर अस्पतालको ठूलै बिल भुक्तान गर्न भने सक्ने स्थिति थिएन । यस्तोमा बस्यालले आफ्नो पुरानो स्वास्थ्य मन्त्रालयको जिम्मेवारीको उपयोग गर्दै वीर अस्पतालका निर्देशकसंँग लामो कुरा गरेपछि उनले तिर्नुपर्ने शुल्क मिनाहा गरिदिने भएछन् । यहाँ भने स्वर्गीय बस्यालले एउटा दलित नेताको अन्तिम यात्रालाई सहज र सम्मानित बनाइदिएका थिए ।
संविधानसभाताका हाम्रा धेरै कार्यक्रम हुने गर्थे । ती कार्यक्रमहरूलाई बस्यालले पनि सम्बोधन गर्थे र सम्बोधन गर्दा उनले कतिपय साँच्चिकै वा कतिपय आफैंले बनाएर कथाहरू भनेर श्रोताहरूलाई मन्त्रमुग्ध पार्थे । उनको कथा भन्ने शैली बाहिर हुने कार्यक्रममा त प्रचलित थियो नै स्वयं संविधानसभा भित्र पनि चर्चाको विषय भएको थियो ।
एकपटक उनले मुख्य विषयमा नबोली कथा भन्न थालेछन् । सभामुख सुवास नेम्वाङले उनलाई रोक्दै भनेछन्, ‘माननीयज्यू अरू पनि कथा भन्न बाँकी छ कि !’
खड्ग बस्यालको अन्तिम यात्रामा काठमाडौंबाट पनि निकै साथीहरू सहभागी हुनको लागि विमानको प्रतीक्षामा थिए तर दुर्भाग्यवश लामो समय एअरपोर्ट भित्र कुर्दा पनि अन्तिम समयमा उडान रद्द भएको खबर आउँदा उनको अन्तिम यात्रामा साथीहरू संलग्न हुन पाएनन् ।
तर, सुन्नमा आए अनुसार जिल्लाका नेता तथा कार्यकर्ता तथा आम सर्वसाधारण समेत उनको शवयात्रामा ठूलो संख्यामा संलग्न भए । उनी पूर्व मन्त्री भएको हुँदा नेपाली सेनाको एउटा टुकडीले शव जलाउनुपूर्व सलामी पनि दिएछ । यता नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाकै निर्देशन बमोजिम पार्टी सचिवले प्रेस विज्ञप्ति निकालेर श्रद्धाञ्जलि दिएका रहेछन् र यसलाई पछ्याएको थियो– नेपाल दलित संघका सभापति लोकबहादुर विश्वकर्माको अर्को प्रेस विज्ञप्तिले ।
यी सबै घटना र परिघटनाहरूलाई हेर्दा यो संसारमा जन्म लिएर भाग्यमानी हुने सीमित व्यक्तिहरूमध्ये स्व. खड्ग बस्याल पनि पर्छन् भन्दा अत्युक्ति नहोला । उनले जीवनमा जे–जति दु:ख–कष्ट भोगे र पार्टी जीवन बाँचे, त्यसको बदलामा पार्टीले पनि उनलाई त्यत्तिकै सम्मान र आदर दियो । अल बिदा स्व. बस्याल !
प्रतिक्रिया 4