
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले उपसभामुख इन्दिरा रानालाई हटाउन आवश्यक भएको प्रतिक्रिया दिएका छन्।
- कांग्रेस र एमालेका सांसदहरूले उपसभामुख रानालाई हटाउनका लागि हस्ताक्षर संकलन सुरु गरेका छन्।
- प्रतिनिधि सभाको नियम २१० अनुसार उपसभामुख हटाउन दुई तिहाइ सांसदको समर्थन आवश्यक पर्छ, जुन हाल १८३ जना हो।
३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले उपसभामुख इन्दिरा रानालाई हटाउन आवश्यकता परेको प्रतिक्रिया दिएका छन् ।
सिंहदरवारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले आवश्यकता पर्यो । अहिले हटाउन सुरु गर्याैं । हस्ताक्षर गर्न दलले निर्देशन दियो । हस्ताक्षर गर्याैं ।’
अहिले कांग्रेस र एमालेका सांसदहरूले रानालाई हटाउने गरी सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका छन् ।
हस्ताक्षर गरेपछि सांसद थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ ।
यो नियम अनुसार कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधि सभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग गर्दै प्रस्ताव लैजान सकिन्छ । २७५ सदस्यीय सभामा एक चौथाई भनेको ६९ जना सांसद हो ।
तर, पदबाट हटाउनका लागि भने सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट पारित हुनुपर्छ ।
हाल प्रतिनिधि सभामा २७४ जना बहाल रहेका छन् । रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन भएकाले उक्त स्थान रिक्त छ ।
यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुई तिहाइ (१८२.६६) अर्थात, १८३ जना सांसद आवश्यक पर्छ ।
नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ जोड्दा १६७ पुग्छ ।
सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् । जनमत पार्टीका ६, लोकतान्त्रिक समावादी पार्टीका ४ जना सांसद छन । नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन् ।
प्रतिनिधि सभामा नेकपा माओवाद केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् ।
जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको एक, आजपाको १ र स्वतन्त्र २ जना रहेका छन् ।
प्रतिक्रिया 4