
४ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले पाकिस्तान र नेपालबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको बताएका छन् । बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँगको भेटमा सभामुख देवराज घिमिरेले यस्तो बताएका हुन् ।
काठमाडौंमा जारी द हिन्दुकुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुखले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे चर्चा गरे ।
भेटमा उनले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीहरूलाई साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । यही क्रममा सभामुख घिमिरेले दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको समेत बताएका हुन् । यसमा संसदीय सहकार्य गर्न सकिने धारणा सभामुख घिमिरेको छ ।
प्रतिनिधि मण्डलकी नेतृ हसनले नेपालले हिन्दुकुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ सफलरूपमा सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गरे । नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकी संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरे ।
प्रतिक्रिया 4