+
+
Shares

ट्रम्पविरुद्धको ठगी मुद्दामा साढे ८६ अर्ब जरिवाना आदेश खारेज

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते २२:११

५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै ८६ अर्ब ५० करोडको ठगी मुद्दा खारेज भएको छ ।

राष्ट्रपति ट्रम्पविरुद्ध गत वर्ष दायर दायर भएको न्यूओर्कको नागरिक ठगी मुद्दाको जरिवाना आदेशलाई बिहीबार उच्च अदालतले खारेज गरिदिएको हो ।

ट्रम्पले आफ्नो सम्पत्ति बढाएर देखाएको आरोपमा न्यूयोर्क राज्यले गत वर्ष उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

न्यूयोर्कका महान्यायाधिवक्ता लेटिटिया जेम्सले ट्रम्पविरुद्ध मुद्दा दायर गरेकी थिइन् । उनले व्यापारीबाट राजनीतिज्ञ बनेका ट्रम्पले ‘जालसाँजी र ठूलो ठगी’ गरेको दाबी गर्दै मुद्दा हालेकी थिइन् ।

बिहीबारको फैसलापछि उनको कार्यालयले हालसम्म यसबारे प्रतिक्रिया दिएको छैन ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएर ह्वाइट हाउस प्रवेश गरेको सात महिनापछि फैसला आएको हो ।

न्यूयोर्कको मध्यस्तरीय पुनरावेदन अदालतका न्यायाधीशहरूको पाँच सदस्यीय इजलासले ट्रम्पको रियल स्टेट (घरजग्गा) व्यवसायलाई धक्का दिनसक्ने गरी आएको ५१५ मिलियन डलर भन्दा बढी जरिवानाको फैसला अत्यधिक भएको ठहर गरेको छ ।

न्यायाधीश आर्थर एन्गोरोनले गत वर्ष ट्रम्पलाई ऋणदाता र बीमाकर्ताहरूलाई दिइएको वित्तीय विवरणमा जानीजानी मूल्य बढाएकोमा ३५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएका थिए ।

ब्याजसहित यो रकम ५१५ मिलियन डलर (साढे ८६ अर्ब नेपाली रूपैयाँभन्दा बढी) नाघेको थियो ।

ट्रम्प अर्गनाइजेसनका अन्य केही कार्यकारीहरूलाई समेत दोषी देखाउँदै जरिवाना भराउने आदेश भएको थियो ।

ट्रम्पका छोरा एरिक र डोनाल्ड जुनियरलाई समेत मुछिएको मुद्दामा कुल रकम ब्याजसहित ५२७ मिलियन डलर बढी पुगेको थियो ।

‘अदालतले दिएको आदेश प्रतिवादीहरूको व्यवसायलाई नियन्त्रण गर्नका लागि उपयुक्त भए पनि झन्डै आधा बिलियन डलर जरिवाना तिर्न निर्देशन दिने अदालतको आदेश अत्यधिक जरिवाना हो र यसले संयुक्त राज्य अमेरिकाको संविधानको आठौँ संशोधनको उल्लङ्घन गर्दछ,’ न्यायाधीश डियान टी रेनविक र पिटर एच मौल्टनले पुनरावेदन अदालतको फैसलामा भनेका छन् ।

मुद्दाको र तल्लो अदालतको ठगीसम्बन्धी फैसलामा विभाजित भएको अदालतले एन्गोरोनले लगाएको सम्पूर्ण जरिवाना खारेज गरिदिएको छ ।

साथै थप पुनरावेदनका लागि सर्वोच्च अदालत जाने बाटो खुला छाडेको छ ।

न्यायाधीश एन्गोरोनले यसअघि ट्रम्प र उनका दुई ठूला छोराहरूलाई केही वर्षसम्म कर्पोरेट नेतृत्वमा काम गर्नबाट पनि प्रतिबन्ध लगाएका थिए ।

अदालतले फैसला गर्न सामान्य अवधि भन्दा बढी समय लगाएको गार्जिएनले लेखेको छ ।

मौखिक तर्कपछि ट्रम्पको पुनरावेदनलाई लगभग ११ महिनासम्म मुल्याकंनमा रहेको भन्दै अड्काइएको थियो । सामान्यत: पुनरावेदनको फैसला केही हप्तामै हुने गर्छन् ।

ट्रम्पसहित प्रतिवादीहरूले यो मुद्दाको अभियोगलाई यसअघिदेखि नै अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?