+
+
Shares
एमालेको दृष्टि :

कमजोरलाई ‘शत्रु’ करार, प्रमुख प्रतिस्पर्धीसँग सहकार्य

अपानि अनुसार अहिले एमालेविरुद्ध हमला गर्ने चार शक्ति छन्, जसलाई परास्त गर्न एमाले ओलीकै नेतृत्वमा एकताबद्ध हुन जरुरी छ ।

सइन्द्र राई सइन्द्र राई
२०८२ भदौ ६ गते २१:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले दोस्रो विधान महाधिवेशनका लागि १३ भदौमा केन्द्रीय कमिटी बैठक बोलाएको छ जसले विधान मस्यौदामा सुझाव समावेश गर्नेछ।
  • एमालेले विधानको धारा ६४ हटाउने निर्णय गरेको छ जसले ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रतिबन्ध हटाउनेछ।
  • एमालेले पार्टीमाथि हमला गर्ने चार शक्ति रहेको उल्लेख गर्दै ओलीको नेतृत्व आवश्यक भएको बताएको छ।

६ भदौ, काठमाडौं । दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदाबारे निर्णय लिनेगरी नेकपा एमालेले आगामी १३ भदौमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । यो बैठकले मातहतका कमिटीहरूमा संकलन भएको सुझावलाई विधान मस्यौदामा समावेश गर्नेछ ।

‘पार्टीका संगठनात्मक संरचना र सदस्यहरूले आफूलाई लागेको सुझाव दिन पाउँछन्, त्यस्तो सुझाव संकलन गरिरहेका छौं’ प्रचार विभागका प्रमुख राजेन्द्र गौतम भन्छन्, ‘१३ गतेको केन्द्रीय कमिटी बैठकले संकलन भएको सुझाव समेटेर मस्यौदा तयार पार्छ ।’

१० भदौको डेडलाइन तोकेर एमालेले गत १२ साउनमा अपानि–१२ जारी गरेको थियो । उक्त अपानिमा छलफल र सुझाव संकलन गरिने एजेण्डाहरू समावेश छन् । अपानिलाई आधार मानेरै सातै प्रदेश, गैरभौगोलिक सहित ८८ जिल्ला, जनसंगठन र विभागहरूले सुझाव संकलन गरिरहेका छन् ।

सुझाव संकलनका क्रममा एमालेभित्र विधानको धारा ६४ हटाउने प्रस्तावलाई चासोका साथ हेरिएको छ । उक्त धारामा ७० वर्षे उमेर हद र दुई कार्यकाल बढी एउटै कार्यकारी पदमा बस्न नपाइने व्यवस्था छ ।

यो व्यवस्था कायमै राखेमा एघारौं राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्षमा तेहेरिन पाउँदैनन् । ‘आगामी चुनाव–०८४ बाट एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन केपी ओलीकै नेतृत्व आवश्यक छ भन्ने निर्णय प्रतिनिधि परिषद्को बैठकले गरिसकेको छ’ स्थायी कमिटी सदस्य गौतम भन्छन्, ‘केपी ओलीकै नेतृत्व आवश्यक छ भनेपछि उहाँलाई रोक्ने व्यवस्थाहरू हटाउनु पार्टीको दायित्व हो । ७० वर्षेले रोक्छ, त्यो हटाउनुपर्छ । दुई कार्यकालका कुराले रोक्छ, त्यो हटाउनुपर्छ ।’

साउन पहिलो साता बसेको सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकबाट पनि यो दुवै व्यवस्था हटाउने निर्णय अनुमोदन गरिएको छ । बैठकले अनुमोदन गरेको निर्णयलाई अपानिमा राखेर छलफलका निम्ति तल्ला कमिटीहरूमा पठाइएको छ ।

अपानि राखिएको, तर छलफलमा रोक लगाइएको विषय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नहुने निर्णय हो ।

बैठकको एजेण्डामै नभएपनि ५–६ साउनमा सम्पन्न केन्द्रीय कमिटीको बैठक पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने विषयमै केन्द्रीत भएको थियो । केही पदाधिकारीकै असहमतिबीच जारी विद्या भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने निर्णय भएको थियो ।

सुझाव संकलनका क्रममा पनि विधानको धारा ६४ हटाउने र पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा रोक लगाउने प्रस्ताव नै चासोको विषय बन्यो । तर ओलीलाई फेरि पनि एमाले अध्यक्ष बनाउनुपर्ने निष्कर्षका पछाडि गरिएको तर्कलाई धेरैले ध्यान दिएको देखिएन ।

जुन कुरा अपानिको पहिलो नम्बरमै लेखिएको छ । राजनीतिक प्रतिवेदनको अन्तर्वस्तु भनेर राखिएको ओलीको मन्तव्य अपानिको १ नम्बरमा छ, जहाँ वर्तमान नेतृत्वलाई थप बलियो बनाउनुपर्ने तर्क गरिएको छ ।

अपानि अनुसार अहिले एमालेविरुद्ध हमला गर्ने चार शक्ति छन्, जसलाई परास्त गर्न एमाले ओलीकै नेतृत्वमा एकताबद्ध हुन जरुरी छ । ‘एमालेमाथि चौतर्फी हमला गर्ने शक्तिहरूबारे हामीले एउटा निष्कर्ष निकालेका छौं । जुन कुरा अपानिमा लेखिएको हो’, प्रचार प्रमुख गौतम भन्छन् ।

तर पार्टीविरुद्ध हमला गर्ने तत्व भनेर उल्लेख गरिएका शक्तिहरू आफैंमा संकटग्रस्त देखिन्छन्, एमालेलाई चुनौती दिएपनि तत्कालको विकल्प बन्ने देखिन्नन् ।

नयाँ शक्तिहरू

लोकप्रियतावाद र अराजकतावादको साहरा लिएर अगाडि बढिरहेको नयाँ शक्तिहरूले एमालेलाई कमजोर पार्न खोजिरहेको तर्क अपानिमा छ ।

‘उनीहरू आफ्नो उद्देश्य पूरा गर्नका लागि नेकपा (एमाले)ले बाधा पुर्याउने ठानेर हाम्रा विरुद्धको कूप्रचारमा केन्द्रीत छन्’ अपानिमा लेखिएको छ, ‘नीतिविहीन लोकप्रियतावाद र अराजकतावादले नेपाली समाजमा पुर्‍याउन सक्ने क्षतिका बारेमा हाम्रो पार्टी सचेत र स्पष्ट छ ।’

आफूलाई वैकल्पिक शक्ति मान्ने नयाँहरूको हमला एमालेमाथि भएको उल्लेख गरे पनि एमालेले थप खुलाएका छैनन् ।

यसको अर्थ सहकारी बचत रकम अपचलन मुद्दामा थुनामा रहेका रवि लामिछानेलाई एमालेले चुनौती मानेको बुझ्न सकिन्छ । रवि सँगसँगै बालेन, हर्क साम्पाङहरूलाई एमालेले चुनौती मानेका छन् ।

राजावादीहरू

प्रचार प्रमुख गौतमका अनुसार प्रतिगामी शक्तिहरू सबै यही कोटीमा पर्छन् । ‘नाम भनिरहनु परेन, तर राजालाई फर्काउनुपर्छ भनेर हिँडेका सबै यही कोटीका हुन्’, उनी भन्छन् ।

एमालेले दोस्रो चुनौती मानेका राजावादीहरूमध्ये दुर्गा प्रसाई, धवल शमशेर जबरा, रविन्द्र मिश्रहरू तिनकुने प्रकरणमा मुद्दा खेपिरहेका छन् । पार्टीमाथि हमला गर्ने शक्ति मानेको अरु राजावादीहरूसँग त एमाले चुनावी सहकार्य नै गर्दै आएको छ ।

राजेन्द्र लिङदेनसँग झापामा ओलीले आमचुनावहरूमा गठबन्धन गरेका थिए भने कमल थापालाई सूर्य चिन्हबाट लड्ने अनुमति नै दिएका थिए । तर ओलीको नेतृत्व फेर्न नसकिने तर्क गर्न एमालेले राजावादी शक्तिहरूलाई चुनौती मानेको छ ।

‘नेपालमा राजसंस्था पुनःस्थापनाको सपना देखेका प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरू । उनीहरू हाम्रा कारणले उनीहरूको चाहना पुरा नभएको ठान्छन्, र हाम्रा विरुद्धमा केन्द्रीत छन्’, अपानिमा भनिएको छ ।

माओवादी

एमालेविरुद्ध हमला गर्ने अर्को शक्तिमा माओवादीलाई राखिएको छ । ‘हाम्रा कारणले उनीहरूको सत्ता राजनीतिको म्याजिक नम्बर औचित्यहीन बनेको र भूमिका खोसिएको ठानेर विछिप्त छन्’ एमालेले भनेको छ, ‘उनीहरू हाम्रा विरुद्धमा अराजनीतिक र अपराधिक तरिकाबाट पद्मरुपमा हमला गरिरहेका छन् ।’

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु – Online Khabar

अर्थात् कुनैबेला एउटै पार्टी बनाएको र २०७९ को चुनावपछि पनि सत्ता सहकार्य गरेको माओवादीलाई एमालेले आफ्नो चुनौतीमा ठानेको छ ।

देशभक्तिको अडान नचाहने शक्ति

मुलुकमा अस्थिरता चाहने शक्तिहरूलाई एमालेले यो श्रेणीमा राखेको छ । ‘हाम्रो देशभक्तिपूर्ण अडान र भूमिका मन नपराउने शक्ति । जो आफ्नो प्रभुत्व र स्वार्थका लागि नेपालमा देशभक्त पार्टी र नेतृत्वलाई कमजोर बनाउन चाहन्छ’, अपानिमा लेखिएको छ ।

तर यस्तो प्रवृत्ति सधैं एमालेसँग पराजित हुँदै आएको पनि तर्क गरिएको छ । ‘पार्टीले त्यसप्रकारको हमलाको सुरुदेखि नै प्रतिवाद गरेर नै पार्टीलाई यहाँसम्म ल्याउन सफल भएको हो’, एमालेको निष्कर्ष पनि छ ।

यस्तो शक्ति मुलुकभित्र छन् अथवा बाह्य शक्ति हुन् भन्ने चाहिँ एमालेले खुलाएको छैन । तर पार्टीलाई हमला गरिरहेको शक्ति मानेका छन् ।

पार्टीविरुद्ध हमला गर्ने शक्तिहरूले गोयवल्स शैलीमा एमालेविरुद्ध प्रचार गरिरहेको सन्देश पनि कार्यकर्ता पंक्तिलाई दिएको छ । ‘उनीहरू गोयवल्स शैलीमा आम सञ्चार माध्यम र सामाजिक सञ्जाललाई हाम्रा विरुद्धमा दुरुपयोग गरिरहेका छन्’, एमालेले भनेको छ ।

विगतका तथ्यहरू केलाउँदा भने एमालेको बुझाइ र विश्लेषण पूर्ण देखिँदैन । २०६४ सालको संविधान सभा चुनावको नतिजालाई छोड्ने हो भने एमालेको प्रमुख चुनौती नेपाली कांग्रेस हो ।

एमालेका नेताहरूले यो तथ्य अस्वीकार पनि गरेका पनि छैनन् । ‘हाम्रो प्रमुख प्रतिस्पर्धा र प्रतिद्वन्द्विता कांग्रेससितै हो । तर अहिले दुवै दल मिलेर सरकार बनाएकाले एकता, सहकार्य र सहमतिको बाटोबाट अगाडि बढ्छौं’, एमाले प्रचार प्रमुख गौतम भन्छन् ।

अर्थात् एमालेले जस्ता शक्तिहरू देखाएर एमालेमाथि हमला भइरहेको सन्देश ग्रासरुटका कार्यकर्तासम्म दिए, त्यो आंशिक मात्रै हो।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?