
News Summary
Generated by OK AI. Editorially reviewed.- लेखक भीम न्यौपानेको पहिलो संस्मरणात्मक पुस्तक ’बादलमुनिको बागलुङ’ काठमाडौंमा लोकार्पण भएको छ।
- फिल्म निर्देशक नीर शाहले पुस्तकलाई राष्ट्रिय र पितृसत्तात्मक मनोविज्ञानसँग जोडिएको गहन पुस्तक भने।
- लेखक नयनराज पाण्डे र राधा पौडेलले पुस्तकको मौलिकता र आममान्छेको संघर्षको कथा भएको उल्लेख गरे।
काठमाडौं । लेखक भीम न्यौपानेको पहिलो संस्मरणात्मक पुस्तक ’बादलमुनिको बागलुङ’ लोकार्पण भएको छ ।
फिल्म निर्देशक तथा अभिनेता नीर शाह, लेखक नयनराज पाण्डे, कवि तथा लेखक एलबी क्षेत्री, लेखक अभियन्ता राधा पौडेल, लेखक न्यौपानेकी आमा पल्लबी न्यौपाने र लेखक भीम न्यौपानेले पुस्तकको संयुक्त लोकार्पण गरेका हुन्।
कार्यक्रममा शाहले लेखक न्यौपानेलाई पहिलोपटक चलचित्र कलाकार संघमा भेटेको सम्झिए । पचासको दशकमा संघको सदस्यता लिन पुगेका युवा भीमको स्मरण गर्दै उनले भने, ‘उद्यमशिलतामा हात हालेपछि त्यसलाई पार लगाउन सक्ने क्षमतावान व्यक्तिका रुपमा लिन्छु उहाँलाई ।’
पुस्तकको टिप्पणी गर्दै उनले भने, ‘तत्कालिन राष्ट्रिय मनोविज्ञान, पितृसत्तात्मक सामाजिक मनोविज्ञानसँग जोडिएको गहन पुस्तक हो बादलमुनीको बागलुङ ।’
कुनै समय बागलुङको चिरपानीको भोजमा जाँदा आफू हुर्किएको गाउँ पुगेको अनुभूति सुनाएका शाहले पुस्तक अनेकन विशेषता बोकेको बताए ।
‘म जुन पनि किताबलाई सिनेम्याटिक दृष्टिकोणबाट पढ्ने गरेको छु । सिनेमा मबाट अलग गरिदिएमा म मनै हुँदिनँ र यो किताब पढ्दा सिनेमा हेरेजत्तिकै भयो’ उनले भने ।
‘बादलमुनीको बागलुङ’लाई शाहले बागलुङको सेरोफेरोमा मात्रै नभएर सिङ्गो नेपालको दृष्य आँखामा आउन किताबमा रुपमा लिएको पनि बताए ।
लेखक पाण्डेले लेखक न्यौपानेलाई लेखनको सुझाव दिएको स्मरण गर्दै भने, ’यो किताबबाट म प्रभावित हुनुको कारण आममान्छेको कथामा पनि साहित्य चेत भयो भने संस्करणात्मक पुस्तक बन्न सक्दोरहेछ ।’
’अत्यन्तै मसिनो ढंगले लेखिएको यो पुस्तकको बलियो पक्ष भनेको मौलिकता हो, मिहिन प्रस्तुति हो,’ पाण्डेले भने ।
लेखक तथा अभियन्ता पौडेलले पुस्तकमाथि टिप्पणी गरेकी थिइन् । ’कालीगण्डकीको सेरोफेरोमा बोलिने मौलिक भाषा सिक्नका लागि नयाँ पुस्ताले च्याटजिपिटी होइन यो किताब पढे हुन्छ’ उनले भनिन् ।
उनले थपिन्, ’पुस्तकले आममान्छेको अभाव र संघर्षको कथा भन्छ र आम मान्छे सफल कसरी हुन सक्छ भन्न यो किताब पढ्न पर्छ ।’ कार्यक्रमको अध्यक्षता गरेका कवि तथा लेखक एलबी क्षेत्रीले पुस्तक मानवीय संवेदनाले भरिएको बताए ।
लेखक न्यौपाने लेखकका साथै फिल्मका निर्माता पनि हुन् । ’बाटोमुनीको फूल २’ ’दोख,’ सुनकेशरी’जस्ता फिल्म निर्माण गरेका छन् । अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका उनी ट्राभल व्यवसायी पनि हुन् ।
प्रकाशक किताब किरोले प्रकाशन गरेको किताबको मूल्य ७९५ रहेको छ।
प्रतिक्रिया 4