+
+
Shares
भिडियो संवाद :

नीति भन्छिन् : मलाई गाउँले रोलमा कम्फर्टेबल लाग्न थालेको छ

‘कोशेढुंगा’मा निलिमा पात्रको रोलमा देखिएकी उनले यसका लागि भैंसी, बाख्रालाई खुवाइन्, दूध दोइन, घाँस काटिन् । सहरमा जन्मिएकी नीतिको लागि गाउँले जीवनको यो अनुभव नयाँ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नीति शाहले आगामी भदौ १२ गतेबाट प्रदर्शन हुने फिल्म 'कोशेढुंगा'मा निलिमा पात्रमा अभिनय गरेकी छन् र यसलाई महिला केन्द्रित फिल्म बताएकी छन्।
  • नीतिले दुई वर्षमा पाँच फिल्ममा अभिनय गरिसकेकी छन् र 'मोहर' उनको अहिलेसम्मकै सर्वाधिक व्यवसायिक सफल फिल्म हो।
  • नीतिले एरोस्पेस इन्जिनियर याच्नित राणासँग अदालती विवाह गरिन् र यसै वर्ष विवाह समारोह गर्ने तयारीमा छिन्।

काठमाडौं । ‘मिस नेपाल’ पेजेन्टको पृष्ठभूमिबाट चम्किएकी नीति शाह अहिले घरेलु फिल्मकी ब्यस्त अभिनेत्री हुन् । मिस नेपाल इन्टरन्यासनल उपाधिले उनलाई परिचय दिलायो ।

उनै नीति अहिले घरेलु फिल्मकी ब्यस्त अभिनेत्री हुन् । ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यू गरेकी नीतिले दुईवर्षको दौरान ५ फिल्ममा अभिनय गरेकी छन् । ‘मोहर’ उनको अहिलेसम्मकै सर्वाधिक व्यवसायिक सफल फिल्म हो ।

भदौ १२ गतेदेखि उनको आगामी फिल्म ‘कोशेढुंगा’ प्रदर्शन तयारीमा छ । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेल निर्देशित यो फिल्म दर्शकमाझ प्रतीक्षित पनि छ ।

यो फिल्मको महत्वपूर्ण भूमिकामा नीतिले अभिनय गरेकी छन् । अनलाइनखबर स्टुडियोमा नीतिले ‘कोशेढुंगा’, फिल्म करिअर, विवाह समारोहबारे गफगाफ गरिन् ।

‘कोशेढुंगा’मा निलिमा पात्रको रोलमा देखिएकी उनले यसका लागि भैंसी, बाख्रालाई खुवाइन्, दूध दोइन, घाँस काटिन् । सहरमा जन्मिएकी नीतिको लागि गाउँले जीवनको यो अनुभव नयाँ थियो ।

‘मेरो लागि यो रोल चुनौतिपूर्ण, रोचक र राम्रो अवसर पनि थियो’ उनले भनिन्, ‘निलिमा निकै रोचक पात्र, गोठमा काम गर्नुपर्‍यो । भैंसी बाख्राहरूसँग खाना दिनुपर्‍यो । निलिमाको पात्र निभाउन मलाई कोशेढुंगाको सुटिङमा एकदम रमाइलो लाग्यो । मेरो लागि यो पात्र स्मरणीय पनि हुन्छ कि ।’

महिलाकेन्द्रित यो फिल्म तीजजस्ता पर्वमा निकै सान्दर्भिक हुने उनको ठम्याइ छ । महिलाको नजरबाट फिल्म बनेको र महिला दर्शकलाई रिलेट गर्न सक्ने उनको बुझाइ छ ।

‘कोशेढुंगालाई महिला केन्द्रित फिल्म नै भनौं । नेपालका धेरै घरबाट धेरैजसो काम गर्न खाडी मुलुक जानुभएको छ’ भन्छिन्, ‘श्रीमतीहरु श्रीमानलाई कुर्नुहुन्छ । उहाँहरुको आफ्नै संघर्ष छ । महिलाको नजरबाट फिल्म बनेको छ । इमोसनल छ । दर्शकले आफूलाई रिलेट गर्न सक्नुहुन्छ ।’

भन्छिन्, ‘आशा गरेको छु कि पूर्णबहादुुरको सारंगी मन पराउनुभयो, त्यसैगरि कोशेंढुंगा पनि मन पराउनुभयो ।’

नीतिले नृत्य गरेका ३ फिल्मका गीत निकै हिट रहे । ‘ज्वाइँसाब’को कसम बत्तीको, नरसिंहा अवतारको ‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’ र कोशेढुंगाको ‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीत खुबै रुचाइए ।

गीतमा ह्याट्रिक गरेकी उनी अब फिल्ममा पनि ह्याट्रिक गर्न चाहन्छिन् । उनको यो सुरुवात ‘मोहर’बाट भएको छ ।

यहाँसम्म आइपुग्न नीतिले धेरै कठिनाइ खेप्नुपर्‍यो । डेब्यू अघि उनले साइन गरेका केही फिल्म अलपत्र परे । त्यसले नीतिलाई मानसिकरुपमा निकै दबाबमा राख्यो । तर, उनी धैर्यशील बनिन् । यो कुराले उनलाई आगामी समयको लागि धेरै पाठ सिकायो ।

उनी जीवनमा आउने उतारचढावलाई महत्वपूर्ण ठान्छिन् । ‘जीवनमा आउने यी उतारचढाव भएन भने त जीवनको अर्थ नै भएन । जति उतारचढाव उति राम्रो हुन्छ जीवन’ भन्छिन्, ‘अहिले ‘मोहर’को जित सेलिब्रेट गरिरहेको छु । धेरै कुरा सिक्न पाएँ । दुईतीन वटा फिल्म साइन गरेर बनेन । अपेक्षा गरेको फिल्म पनि हिट भएको छैन ।’

अघि भन्छिन्, ‘जीवनमा कहिलेकाहिँ नसोचेको कुरा हुन्छ । मेरो दुई वर्षको फिल्म यात्राको सिकाइ यही हो कि– सकारात्मक हुनुपर्‍यो ।’

उनलाई कलाकारिता अनिश्चित लाग्छ । ‘सोचेको जस्तो कहिलेकाहिँ हुँदैन, नसोचेको कुरा झनै राम्रो भएर आउँछ । यो कुरालाई सकारात्मकरुपमा लिनुपर्छ भन्ने मेरो सिकाइ र बुझाइ हो’ भन्छिन् ।

‘कोशेढुंगा’बाट आफूले ठूलो अपेक्षा राखेको उनी बताउँछिन् । ‘मैले यसबाट अझै धेरै अपेक्षा राखेकी छु । पूर्णबहादुको सारंगी हेरेका दर्शकले यसमा झनै आशा राखेका छन्’ उनी भन्छिन् ।

करिअरका २ वर्षले नीतिलाई धेरै कुरा सिकाए । उनी अब स्क्रिप्टमा ध्यान दिएर फिल्म छनोट गर्ने मुडमा छिन् । ‘सुरुमा फिल्म पाओस्, प्रोजेक्ट हातमा पाओस् भन्ने हुन्थ्यो भने, पाँचौ फिल्म गरिसकेँ, अब स्क्रिप्टमा ध्यान जान्छ होला साइन् गर्नुअघि’ उनी सुनिइन् ।

अहिले संख्याभन्दा गुणस्तरीय फिल्ममा केन्द्रित भएको उनी बताउँछिन् । ‘दर्शकको मन छुने, राम्रा राम्रा क्यारेक्टर, राम्रो टिम र राम्रो को–एक्टर पायो भने आफैमा राम्रो हुन्छ र आफ्नो काम पनि राम्रो देखिन्छ’ भन्छिन्, ‘दर्शकले मेरो कामलाई महसुस गरेर मन पराउनुभयो भने त्यो दिन सक्सेसफूल आर्टिस्ट हुन्छुजस्तो लाग्छ । त्यो अपेक्षा राखेर प्रयास गर्दैछु ।’

‘कोशेढुंगा’का सह-कलाकारबाट उनी प्रभावित छिन् । आर्यन सिग्देलमा उनी ऊर्जा पाउँछिन् । ‘उहाँ फायर हुनुन्छ, राम्रो कलाकार । को एक्टरको रुपमा एकदमै सर्पोटिभ’ भन्छिन् । उनलाई ऋचा शर्मा र सुरक्षा पन्त अभिनयको खानीजस्तै लाग्छ । ‘अभिनयमा अब्बल कलाकार । उहाँहरुसँग काम गर्न पाउँदा खुसी छु’ उनी भन्छिन् ।

जीवनले केही महिनाअघि एरोस्पेस इन्जिनियर याच्नित राणासँग अदालती विवाह गरिन् । अब उनी विधिपूर्वक विवाह समारोह गर्ने तयारीमा छिन् । सम्भवतः यसैवर्षभित्र विवाह समारोह आयोजना गर्ने उनको तयारी छ ।

दुवैजना ब्यस्त भएकाले विवाह समारोह गर्न ढिलाइ भएको उनको भनाइ छ । ‘मेरो पनि बिजी लाइफ । याच्नित पनि व्यस्त हुनुहुन्छ’ उनी भन्छिन् । दुवैजनाले काम र निजी जीवनलाई समझदारी र आपसी सम्मानसागै अघि बढाइरहेको उनको भनाइ छ ।

‘कलाकार भएपछि हाम्रो कामै हो, सकेसम्म भिन्न रोल निभाउने । मेरो लागि ड्रिम जब हो परिवार’ उनी भन्छिन्, ‘अहिले त हामी मोर्डन सोसाइटीमा बाँचिरहेका छौं । राम्रो पार्टनर पायो भने त जीवन सहज हुन्छ भन्छन् नि । याच्नितले मेरो व्यवसायिक जीवनमा सहयोग र साथ दिनुभएको छ ।’

उनले सकेसम्म साधारण तरिकाले विवाह समारोह आयोजना हुने बताइन् । ‘मलाई त सकेसम्म सिम्पल र परिवार खुसी हुनुपर्‍यो । सबैजना रमाउनुपर्‍यो । भोलिको दिनमा गएर यस्तो हुनुपर्‍यो भनेर सम्झनालायक हुनुपर्‍यो । यसरी नै साधारण ढंगमा विवाह गर्छुहोला’ उनी सुनिइन् ।

नीतिले फिल्मभित्र लगातार ग्रामीण चरित्रमा आफूलाई प्रस्तुति गरिरहेकी छिन् । उनले गाउँले रोलमै आफूलाई कम्फर्टेबल देख्न थालेकी छन् । ‘अहिले त मैले फिल्म गर्न थालेपछि, मलाई गाउँकै रोल सुट हुन्छ कि, अझै मैले रिलेट गर्न सक्छु कि जस्तो लाग्न थाल्या छ के आजकल । म अझै कम्फर्टेबल हुन्छु होला सायद’ उनी भन्छिन् ।

यसबाहेक, नीति आफ्नो सौन्दर्य प्रशाधन व्यवसाय ‘ब्यालेस्टड ब्यूट’लाई अघि बढाउने तयारीमा छिन् । कोरोना महामारीको समयमा उनले खोलेको यो अनलाइन व्यवसाय निष्क्रियजस्तै थियो । नीति अहिले ‘कोशेढुंगा’को प्रचारप्रसारमा ब्यस्त छिन् ।

भिडियो/तस्वीर : आर्यन धिमाल

भिडियो सम्पादन : अविकृत मुखिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?