+
+
Shares

उखु किसानको आन्दोलनलाई किसान महासंघको ऐक्यबद्धता, बक्यौता भुक्तानी गर्न माग

सरकारले हरेक वर्ष किसानले आफ्नो उत्पादनमा पाउनुपर्ने समर्थन मूल्यबापत रकम विनाकारण रोकेर अव्यावहारिक निर्णय गरेको भन्दै महासंघले त्यसको भर्त्सना गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १८:४७

९ भदौ, काठमाडौं । अखिल नेपाल किसान महासंघले गत आर्थिक वर्षको अनुदान रकम भुक्तानीको माग राख्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेका उखु किसानहरूको आन्दोलनप्रति पूर्ण समर्थन र ऐक्यबद्धता जनाएको छ ।

महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै किसानका माग तत्काल पूरा गर्न सरकारसँग जोडदार माग गरेको छ । माग पूरा नभए उत्पन्न हुने गम्भीर परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी समेत दिएको छ ।

महासंघ अध्यक्ष डा. प्रेम दंगालले जारी गरेको विज्ञप्तिमा देशका विभिन्न जिल्लाबाट आएका उखु किसानले गत आर्थिक वर्षको पाउनुपर्ने अनुदान रकम भुक्तानीको माग राख्दै ८ भदौदेखि माइतीघरमा धर्ना सुरु गरेको कार्यक्रमप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सरकारले हरेक वर्ष किसानले आफ्नो उत्पादनमा पाउनुपर्ने समर्थन मूल्यबापत रकम विनाकारण रोकेर अव्यावहारिक निर्णय गरेको भन्दै महासंघले त्यसको भर्त्सना गरेको छ ।

‘यसअघि किसानहरूले सरकारलाई सचेत गराउँदै ज्ञापनपत्र बुझाउनेदेखि मुलुकका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दा पनि समस्याको सुनुवाइ नभएपछि बाध्य भएर काठमाडौंमा आएर संघर्ष गर्नुपरेको हो,’ विज्ञप्तिमा छ, ‘महासंघले समेत पटक–पटक उखु किसानका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए पनि त्यसको उचित सुनुवाइ भएको छैन ।’

महासंघले किसानहरूको गत वर्षको सम्पूर्ण बक्यौता रकम शतप्रतिशत उपलब्ध गराउन, आगामी वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तत्काल तोक्न र उखु उत्पादक किसानहरूलाई नीति निर्माणको तहमा प्रतिनिधित्व गराउने व्यवस्था गर्न माग गरेको छ । यसका साथै उखु क्षेत्रका समग्र समस्याका दिगो समाधान खोज्न र उखु उत्पादनको विकास तथा विस्तारमा ध्यान दिन पनि सरकारलाई आग्रह गरिएको छ ।

सरकारले आन्दोलनरत किसानसँग तत्काल वार्ता गरी समस्या समाधान खोज्नुपर्नेमा जोड दिँदै महासंघले किसानका यी अत्यन्त जायज माग बेवास्ता गरी अकर्मण्यता प्रकट गरे त्यसबाट उत्पन्न हुने कुनै पनि गम्भीर परिस्थितिको जिम्मेवारी अरू कसैले नभई स्वयं सरकारी निकायले नै लिनुपर्ने छ भन्ने स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?