
१२ भदौ, काठमाडौं । न्यु इनर्जी भेहिकल (एनईभी) निर्माता लिपमोटरले आजसम्म कुल ९ लाख युनिट गाडी वितरण पार गरेको घोषणा गरेको छ।
लिपमोटरले यस वर्ष पहिलो ६ महिनामा अभूतपूर्व प्रदर्शन देखाएको छ, जसले घरेलु तथा अन्तर्राष्ट्रिय बजार दुवैमा यसको बढ्दो गति र लोकप्रियता दर्शाउँछ । यसै वर्ष लिपमोटरले ‘फर्चुन चाइना ५००’ सूचीमा आफ्नो पहिलो उपस्थिति पनि सुनिश्चित गरेको छ ।
लिपमोटरले आफ्नो नवीनता, पहुँच योग्यता र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमताको बढ्दो प्रतिष्ठा यस उपलब्धिद्वारा पुष्टि गरेको छ । कम्पनीले स्तेलान्टिससँगको रणनीतिक साझेदारी मार्फत आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गर्दैछ ।
यस साझेदारी अन्तर्गत लिपमोटर इन्टरनेसनल नामक संयुक्त उद्यम स्थापना गरिएको छ, जसले अन्तर्राष्ट्रिय बिक्री र वितरण व्यवस्थापनको जिम्मेवारी लिनेछ ।
विस्तार योजना अन्तर्गत लिपमोटरले युरोप, मध्यपूर्व र अफ्रिका तथा एसिया–प्रशान्त क्षेत्रका ३० भन्दा बढी अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ ।
विश्वभरि ६ सयभन्दा बढी बिक्री तथा सेवा केन्द्र स्थापना गरेर कम्पनीले नयाँ उदीयमान विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूबीच विदेशी विस्तारको गति र परिमाणमा नयाँ मापदण्ड स्थापित गरेको बताएको छ ।
नेपालमा लिपमोटरले आकर्षक डिजाइन, आधुनिक सुविधा र किफायती मूल्यमार्फत ग्राहकको ध्यान आकर्षित गर्दै आएको छ । कम्पनीको उत्पादन तीन मोडेलमा उपलब्ध छ– सी१०, बी१० र टी०३ ।
सांग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेसन अन्तर्गत सन् २०१७ देखि प्युजो, २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटरको एकमात्र अधिकृत आयातकर्ता रहेको छ । कम्पनीले नेपालको बजारका विकासशील आवश्यकतासँग मेल खाने नवीन, स्टाइलिस र वातावरणमैत्री गाडी ल्याउन प्रतिबद्ध रहेको जनाएको छ ।
प्रतिक्रिया 4