
१२ भदौं, काठमाडौं । आठ महिनाअघि दिवंगत भएका चक्रबन्धु अर्याललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने फैसला उल्ट्याउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन परेको छ ।
चक्रबन्धु अर्यालको मुद्दा सकार गर्ने साकार अर्यालले गत असारमै सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।
उक्त निवेदनमाथि सर्वोच्च अदालतका तीन न्यायाधीशको पूर्ण इजलासले विहीबार अध्ययन गर्दैछ । उक्त इजलासले पुनरावलोकनको अनुमती हुने वा नहुने भनी आदेश दिनेछ ।
दुई दशकदेखि भ्रष्टाचारमुद्दा खेपेका पूर्वसचिव चक्रबन्धु अर्याल गत पुसमा ८५ वर्षको उमेरमा दिवंगत भएका थिए । सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरेपनि फैसलाको पूर्णपाठ तयार नहुँदै उनको निधन भएको थियो ।
कसैको मुद्दा सकार गर्ने हकवाला वा नजिकको व्यक्तिले दिवंगत भएको व्यक्तिको हकमा समेत कानूनी उपचार खोज्ने हक राख्छ । फौजदारी मुद्दामा दोषी ठहर भएर कैद र जरिवाना तोकेको भए व्यक्तिको निधनपछि कैद र जरिवानाको लगत कट्टा हुन्छ ।
तर विगोको हकमा भने सम्बन्धित व्यक्तिको सम्पत्तिबाट असुलउपर गरिने व्यवस्था छ ।
प्रतिक्रिया 4