
१२ भदौ, बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचारले नेपाल खाइसकेको बताएका छन् ।
सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै विप्लवले भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थलमा एकै दिन ५० लाख घुस खाने गरिएको प्रसंग उल्लेख गर्दै विप्वले यस्तो बताएका हुन् ।
‘हामीले रमेश लेखकलाई कांग्रेसभित्रको बुद्धिजिवी ठानेका थियौं, तर उहाँमाथि नै दैनिक ५० लाखसम्म घुस बुझाएको उहााकै कर्मचारीले आरोप लगाएको देखियो नि’, विप्लवले भने, ‘यस्तै घुस र भ्रष्टाचारका घटनाहरू अन्य धेरै क्षेत्रमा भएका छन् बाहिर आइरहेका पनि छन् ।’
उनले उपप्रधानमन्त्री भइसकेका नारायणकाजी श्रेष्ठले न्यायलयमा पैसाबिना केही नहुने भनेर दिएको अभिव्यक्तिले देशको अवस्था झल्काएको पनि बताए । उनले मुलुकमा देखिएको वर्तमान समस्या दलाल पूजीँवादी संरचना भएको बताए ।
उनले नेपाली राजनीति गणतन्त्र प्राप्तीपछि कुन वर्ग, कुन विचार र कुन नेतृत्व भन्ने टुंगोमा नपुग्दा आएको बताए । उनले गणतन्त्रसम्मको परिवर्तनलाई आत्मसाथ गर्दै यसपछिको नेतृत्वको पुर्नगठन जरुरी रहेको बताए ।
उनले नेपाली समाजलाई अगाडि बढाउन सच्चा, इमान्दार कम्युनिष्ट पार्टीले नै नेतृत्व गर्नुपर्ने बताए । ‘आजको संकटको कारण गणतन्त्रको अर्थतन्त्रमा परिवर्तन नआउनु हो’ उनले भने ।
उनले वर्तमान संकटबाट समाधान गर्नका लागि आफूहरुले एउटा बहसको थालनी गरेको बताए । उनले आफू सहित तीन जनाले काठमाडौंमा बहस गरेपछि देशभर तरंग पैदा गरेको बताउँदै बुटवलको यो छलफललाई पनि चासोका साथ हेरिएको बताए ।
‘यो बहस के हो ? नयाँ पार्टी बनाउने हो की ? भनेर जिज्ञासा राखेको पाइन्छ,’ महासचिव विप्लवले भने, ‘यो यति हो भनेर भन्न सकिँदैन, ८–१० वटा अन्तरक्रियापछि सकिन पनि सक्छ ।’
उनले अहिलेको बहस व्यक्तिको नभई मुलुकको आवश्यकताले सृजना भएको बताए ।
उनले नेपालको कम्यूनिष्ट आन्दोलन दिग्भ्रमित भएकाले दिग्दर्शन गर्नका लागि आफूहरुले छलफलको सुरुवात गरेको बताए । उनले एकता, उज्यालो र श्रमिक जनताको चाहनाको बाटो पहिल्याउने अन्तरक्रिया भएको बताए ।
प्रतिक्रिया 4