
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले पोखरामा पहिलो पटक ‘डिजिटल नोम्याड समिट–बेसक्याम्प नोम्याड’ आयोजना गरेको छ।
- पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई डिजिटल नोम्याडका लागि विश्वकै उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य राखेको बताए।
- सम्मेलनमा ३० भन्दा बढी अन्तर्राष्ट्रिय र ४० भन्दा बढी नेपाली डिजिटल नोम्याड सहभागी भएका थिए।
१५ भदौ, काठमाडौं । नेपाललाई डिजिटल नोम्याडका लागि विश्वकै आकर्षक गन्तव्य बनाउने लक्ष्यसहित पोखरामा ‘नोम्याड बेसक्याम्प’ आयोजना गरिएको छ ।
नेपाल पर्यटन बोर्डले साराङसँगको सहकार्यमा आयोजनामा पहिलो पटक ‘डिजिटल नोम्याड समिट–बेसक्याम्प नोम्याड’ आयोजना गरिएको हो ।
अगस्ट २७ देखि ३१ सम्म सञ्चालन भएको नोम्याड बेसक्याम्पमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो पहल नेपाली पर्यटनको नयाँ अध्याय भएको बताए ।
‘आज हामी केवल एक समिट आयोजना गर्दैछौं भन्ने होइन, बरु नेपालले आफूलाई विश्वसामु प्रस्तुत गर्ने नयाँ अध्याय थालेको छ,’ जोशीले भने ।
हालै ‘रिमोट वर्क’ र ‘डिजिटल नोम्याडिज्म’ प्रवृत्तिले विश्वकै काम गर्ने ढाँचा परिवर्तन गरेको उल्लेख गर्दै सीईओ जोशीले नेपाल यसका लागि आदर्श गन्तव्य बन्न सक्ने धारणा राखे ।
‘प्राकृतिक सुन्दरता, सांस्कृतिक गहिराइ, मानवीय आतिथ्य र सुरक्षित वातावरणका कारण नेपाल डिजिटल नोम्याडहरूका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ,’ उनले भने ।
पोखरा आफैंमा विश्व ब्रान्ड बनिसकेको उल्लेख गर्दै शान्त ताल, हिमालको सौन्दर्य र जीवन्त जीवनशैली सहित यसलाई प्रविधिमैत्री संरचना, कोवर्किङ स्पेस र स्वागतयोग्य वातावरणसँग जोड्दा डिजिटल नोम्याडका लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।
पहिलो डिजिटल नोम्याड सम्मेलनमा ३० भन्दा बढी अन्तर्राष्ट्रिय डिजिटल नोम्याड र ४० भन्दा बढी नेपाली सहभागी थिए । यसले नेपाल केवल भ्रमण गन्तव्यमात्र नभई सिर्जना, सहकार्य र नयाँ अर्थतन्त्रमा योगदान गर्ने थलोका रूपमा स्थापित हुन सक्ने सन्देश दिएको पनि सीईओ जोशीले बताए ।
‘नेपालको पर्यटनलाई पारम्परिक दायराबाट निकालेर ज्ञान पर्यटन, सिर्जनशील पर्यटन र डिजिटल युगको जीवनशैलीतर्फ अघि बढाउनु हाम्रो लक्ष्य हो,’ जोशीले भने, ‘डिजिटल नोम्याडका लागि उपयुक्त वातावरण सिर्जना गर्न सके नेपाल विश्वकै केन्द्र बन्न सक्छ ।’
सम्मेलन मार्फत नेपालले एसियामा डिजिटल नोमाडिज्मको नेतृत्व गर्न सक्ने सम्भावना देखिएको र यसलाई दीर्घकालीन अभियानका रूपमा अगाडि बढाइने प्रतिबद्धता गरिएको छ ।
प्रतिक्रिया 4