+
+
Shares

मोबाइल चोरी आरोपमा कुटिएका दलित युवाको मृत्यु, हत्या दाबी गर्दै प्रहरीमा जाहेरी

मृतकका भाइ दर्शन बैठाका अनुसार घटना १६ र १७ साउनको हो । १६ साउनमा कटहरिया बजारको एक खाजा पसलमा स्थानीय ३२ वर्षीय गर्भुदयाल सर्भङ्गले आफ्नो मोबाइल चोरी भएको आरोप लगाएर अन्य केही युवाको सहयोगमा नसिवमाथि कुटपिट गरेका थिए ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ भदौ १५ गते १३:२८
मोबाइल चोरीको आरोपमा कुटपिट मृत्यस भएका २८ वर्षीय नसिव बैठा (इन्सेटमा) र शोकाकुल उनका परिवार।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहट कटहरियाका २८ वर्षीय दलित युवक नसिव बैठकलाई मोबाइल चोरीको आरोपमा कुटपिट गरी ११ भदौमा मृत्यु भएको छ।
  • कुटपिटमा संलग्न ३२ वर्षीय गर्भुदयाललाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ भने अन्य तीनजनाको खोजी भइरहेको छ।
  • मृतक परिवारले दलित र गरिब भएकै कारण झुटो आरोप लगाएर हत्या भएको दाबी गर्दै दोषीमाथि कडा कारबाही र क्षतिपूर्ति माग गरेका छन्।

१५ भदौ, जनकपुरधाम । मोबाइल चोरीको आरोपमा कुटपिट गरिएका रौतहटका एक दलित युवाको मृत्यु भएको छ । वीरगञ्जस्थित स्पोर्ट अस्पताल भर्ना भएका रौतहट कटहरिया नगरपालिका-४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको ११ भदौमा मृत्यु भएको हो ।

मृतकका भाइ दर्शन बैठाका अनुसार घटना १६ र १७ साउनको हो । १६ साउनमा कटहरिया बजारको एक खाजा पसलमा स्थानीय ३२ वर्षीय गर्भुदयाल सर्भङ्गले आफ्नो मोबाइल चोरी भएको आरोप लगाएर अन्य केही युवाको सहयोगमा नसिवमाथि कुटपिट गरेका थिए ।

त्यसको भोलिपल्ट १७ साउनमा पनि गाउँकै सञ्जय यादव र उनका भाइ विजय यादवले आफ्नो मोबाइल चोरी गरेको आशंकामा नसिवलाई गाउँभन्दा पर आँपको बगैँचामा लगेर निर्घात कुटपिट गरे।

‘रुखमा उल्टो झुन्ड्याएर बेल्ट, साइकलको चैन, मुक्काले कुटपिट गरी मोबाइल चोरी गरेको स्वीकार्न लगाए । कुटपिटमा सञ्जय, विजय र उनका बुबा शिवनाथ यादवसमेतले निर्घात कुटपिट गरेका थिए,’ भाइ दर्शनको दाबी छ ।

त्यसरी कुटपिट गरिरहेको देखेपछि स्थानीय दीपलाल भन्नेले कटहरिया प्रहरी चौकीमा फोन गरे । प्रहरी आएर नसिवलाई उद्धार गरी लग्यो । प्रहरी चौकीमा छलफल भयो । तर नसिवले मोबाइल चोरी गरेको पुष्टि भएन ।

त्यही दिन साँझ नसिवलाई प्रहरीले छोडिदियो । ‘कुटपिट भइरहेको भनेर प्रहरीमा खबर आएको थियो । प्रहरी पुग्दा त्यहाँ नसिवलाई बाँधिएको अवस्था भने थिएन,’ इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले भने, ‘मोबाइल चोरीको निवेदन परेको थियो । छलफल हुँदा चोरेको पुष्टि भएन । नसिवलाई पठाइदियौं ।’

मृतकका भाइ दर्शन बैठाका अनुसार सञ्जयको मोबाइल घरमै फेला परेको थियो । त्यसको भोलिपल्टबाट कुटपिटको कारणले नसिवलाई पेट र छाती दुख्न थालेको दर्शनको दाबी छ ।

चार दिनपछि नसिवका बुबा बाबुलाल बैठाको मृत्यु भयो । कुटपिटको असरले शरीरमा दुखाइ बढ्दै थियो । बुबाको काजकिरिया सकेपछि नसिवलाई उपचारको लागि भदौ पहिलो साता कटहरियाको जीवन ज्योति अस्पताल लगियो । त्यहाँबाट कटहरिया हस्पिटल लगियो । त्यहाँबाट गौर अस्पताल पठाइयो ।

गौर अस्पतालमा छातीमा इन्फेक्सन भएर पिप जमेको भन्दै थप उपचारका लागि वीरगञ्ज रेफर गरियो । नारायणी अस्पतालमा आईसीयू बेड खाली नभएपछि वीरगञ्जकै स्पोर्ट हस्पिटलमा उपचारको लागि भर्ना गरियो ।

उपचारको क्रममा ११ भदौ बुधबार बिहान ३ बजे नसिवको मृत्यु भएको भाइ दर्शनले बताए । त्यही दिन नारायणी उपक्षेत्रीय अस्पतालमा पोस्टमार्टमपश्चात् घर ल्याएर नसिवको अन्त्येष्टि गरिएको थियो । नसिवका ७ वर्षीय जेठा छोरा विशाल किरिया बसेका छन् ।

‘त्यतिबेला त नसिवको अवस्था समान्य जस्तो थियो । केही दिनपछि बिरामी परे । पछि हस्पिटल लगेपछि उपचारको क्रममा मृत्यु भएको खबर आयो,’ डीएसपी कार्कीले भने ।

नसिवको मृत्युपश्चात् उनको परिवारले चारजनाविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको छ । जाहेरीको आधारमा चारजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको डीएसपी राजन कार्कीले बताए । जसमध्ये ३२ वर्षीय गर्भुदयाललाई पक्राउ गरी कारबाही अघि बढाइएको र अन्य तीनजनाको खोजी भइरहेको उनले बताए ।

भाइ दर्शनका अनुसार नसिवको घरको आर्थिक अवस्था नाजुक छ । उनका चारजना स–साना छोरा छन् । बुबाआमाको वृद्धभत्ता र जनमजदुरी गरी घरपरिवार चलेको थियो ।

श्रीमती गीताले श्रीमान्‌को हत्या कुटपिटबाट भएको दाबी गर्दै हत्यारामाथि कडा कारबाही हुनुपर्ने र आफूले क्षतिपूर्ति पाउनुपर्ने माग गरिन् ।

‘दलित र गरिब भएकै कारण मेरो श्रीमानमाथि झुटो आरोप लगाएर कुटपिट गरी हत्या भयो । दोषीमाथि कडा कारबाही हुनुपर्यो,’ गीताले भनिन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?