
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन नभए सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।
- उहाँले संसद अवरुद्ध गर्ने कार्य निरन्तरता दिने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित सडक आन्दोलनमा जानसक्ने बताए।
- लिङदेनले गृहमन्त्रीले राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्ने र नभए आयोग गठन अनिवार्य भएको उल्लेख गरे।
१५ भदौ, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरुको सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
आइतबार झापामा सञ्चारकर्मीमाझ कुराकानी गर्दै उनले उक्त माग सम्बोधन नभएसम्म संसद अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने बताए । उनले आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित सडक आन्दोलनमा जानसक्ने बताए ।
‘भिजिट भिसा प्रकरणमा नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्छ भनेर हामीले भन्यौं’ उनले भने, ‘उहाँले राजीनामा दिएर सहयोग गर्नुहुन्न भने पनि छानबिन आयोग त गठन हुनुपर्यो नि, भोलि दोषी ठहरियो भने त उहाँ कारबाहीमा परिहाल्नु हुन्छ ।’
उनले थपे, ‘राजीनामा पनि दिइहाल्नु हुन्छ भन्दा पनि नसुनेर जुन ढंगले संसदलाई सभामुखले अगाडि बढाइराख्नुभएको छ, सरकारले पनि जुन ढंगले उपेक्षा गरिराखेको छ, मलाई लाग्छ– त्यो नेपाली जनताले हेरिराखेको छ ।’
अध्यक्ष लिङदेनले आफूहरूले सदन अवरुद्ध गरेपनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम गरेको भन्दै सभामुख देवराज घिमिरेको भूमिकाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे ।
‘हामी कम्तीमा पनि यो सेसनमा यसरी नै निरन्तर विरोधमा रहन्छौं र आवश्यक पर्यो भने दुई वटा पार्टी (राप्रपा र रास्वपा) सडकमा आउनसक्ने अवस्था पनि हुन्छ,’ उनले भने ।
उनले फरक प्रसंगमा आफूले पार्टीमा नयाँ साथीहरुलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्चिएर अघि बढ्न तयार रहेको पनि बताए ।
प्रतिक्रिया 4