+
+
Shares

भारित औसत मूल्य गणनाले सेयर बजार झन् घटाएको हो ?

भारित औसत मूल्य गणनाले नेप्सेलाई प्राय: झार्न थालेपछि केही लगानीकर्ताले विरोध गर्दै आएका छन् । नेपाल धितोपत्र बोर्ड र नेप्सेका उच्च अधिकारीलाई भेटेर स्थगित गर्न माग गरिरहेका छन् ।

कमल नेपाल कमल नेपाल
२०८२ भदौ १६ गते ९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सेयर बजार बन्द हुँदा नेप्से भारित औसत मूल्य गणनापछि ३० अंक घटेकोमा ३१ अंकले घटेको छ।
  • नेप्से प्रवक्ता मुराहरि पराजुलीले भारित औसत मूल्य गणनाले बजार घट्दा मात्रै होइन बढ्दा पनि अंकमा परिवर्तन हुने बताए।
  • नेपालमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनाले बजार चलखेल बन्द गरेको र यसको विरोध बजार घट्दा बढेको नेप्सेले जनाएको छ।

१६ भदौ, काठमाडौं ।  आइतबार सेयर बजार बन्द हुँदा ३० अंक घटेकोमा भारित औसत मूल्य गणनापछि ३१ ले घट्यो । गत बिहीबार पनि बन्द हुँदा ३७ अंक घटेकोमा गणनापछि ३८ अंक घट्यो ।

भारित औसत मूल्य गणनाले बजार घट्दा थप अंक घट्ने मात्रै होइन बढ्दाको अंक पनि केही खस्किने गरेको छ ।

गत साता मंगलबार बजार बन्द हुँदा ९ अंक बढेकोमा गणनापछि जम्मा ४ अंक मात्रै बढ्यो । त्यस्तै बुधबार बजार बन्द हुँदा ५६ अंक बढे पनि भारित औसत मूल्य गणनापछि जम्मा वृद्धि ५३ अंकमा सीमित रह्यो ।

यसरी बन्द हुँदाको नेप्से अंकभन्दा भारित औसत मूल्य गणनापछिको अंकमा परिवर्तन हुँदै आएको छ । भारित औसत मूल्य गणनाले नेप्सेलाई प्राय: झार्न थालेपछि केही लगानीकर्ताले विरोध जनाएका छन् ।

केहीले नेपाल धितोपत्र बोर्ड र नेप्सेका उच्च अधिकारीलाई भेटेर अन्तिम १५ मिनेटको भारित औसत गणना स्थगित गर्न आग्रह गर्दै आएका छन् ।

‘भारित औसत मूल्य गणनाले बजारको परिसूचक झार्‍यो भन्ने उद्देश्यले मात्रै केहीले यसको विरोध जनाएका छन्’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने ‘यसको वास्तविक महत्व नबुझेर त्यसो गरिएको हो ।’

भारित औसत मूल्य गणनाले नेप्से घट्ने मात्रै हुँदैन । यसको गणनाले गिरावट दर कम हुने वा थप बढ्ने पनि हुन्छ । तर यो अन्तिम १५ मिनेटमा हुने कारोबारमा ठूलो सेयर संख्या र मूल्यमा निर्भर रहन्छ । त्यसबाट कम्पनीको पूँजीकरणमा हुने परिवर्तनले समग्रमा नेप्सेलाई प्रभाव पार्दछ ।

गत चैत ७ गतेदेखि लागू भएको अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनामा अहिले आएर लगानीकर्ताले विरोध जनाउनु बजार घट्दाको आक्रोश मात्रै रहेकाे नेप्सेको भनाइ छ । नेप्से परिसूचक घट्दा लगानीकर्ताले राम्रा पक्षलाई समेत नकारात्मक रुपमा टिप्पणी गर्ने गरेका छन् ।

‘चैतबाट लागु भएको यो गणना विधिपछि बजार बढेर असार १३ गते ३००२ अंकसम्म पुग्यो, त्यतिबेलासम्म कसैलाई केही फरक परेन, अहिले बजार घट्न थाल्दा यसैले घट्यो भन्नु गलत हो’ पराजुलीले भने ।

लगानीकर्ताको विरोधपछि धितोपत्र बोर्डले समेत यस विषयमा अध्ययन गर्न आन्तरिक कमिटी बनाएको छ । सो कमिटीले दिने सुझावपछि मात्रै यसबारे निर्णय हुने बोर्डका एक उच्च अधिकारीले बताए ।

भारित औसत मूल्य गणनाले अन्तिम समयमा हुने सबै चलखेल बन्द भएको छ । विगतमा कारोबार बन्द हुँदा अन्तिम मिनेटमा ‘लोक्याप’ कम्पनीलाई सीमित केही व्यक्ति वा समूहले माथि उचाल्ने गर्दथे ।

माथि उचालिसकेपछि भोलिपल्ट ती कम्पनीमा अन्य लगानीकर्ताको पनि आकर्षण बढ्ने भएकाले मूल्य महँगो बनाएर बेच्नेगरी चलखेल हुने गर्दथ्यो । तर अहिले त्यो क्रम रोकिएको छ । यहीं चलखेल गर्न चाहनेले अहिले भारित औसत गणनाको विरोध गर्दै आएको नेप्सेको तर्क छ । नेपालमा मात्रै नभइ अन्य मुलुकमा पनि यस्तै भारित औसत गणनापछि अन्तिम सूचक तयार हुन्छन् ।

‘बजार बढिरहेको भए यसमा खास विरोध हुँदैनथ्यो, तर घट्न थालेपछि विरोध हुन थाल्यो’ एक ब्रोकर सञ्चालकले भने ‘अर्कोतर्फ नेप्सेसँग विकसित अटोमेटेड प्रविधि नहुँदा विश्वसनियता पनि कमजोर भएको हो ।’

नेप्से र धितोपत्र बोर्डले  लगानीकर्तालाई बुझाउन नसक्दा विरोध आएको उनले बताए । ‘नेप्सेले यसबारे लगानीकर्तालाई राम्ररी बुझाउन सकेन, पछिल्लो समय यसले बजार थप घटाएको देखिन्छ’ उनले भने ‘नेप्सेले पनि स्तरीय अटोमेटेड सिस्टम विकास गरेपछि बल्ल यसको तयारी गर्नुपर्दथ्यो, एक पटक बिग्रिएको पनि थियो, फेरि त्यस्तै नहोला भन्न सकिँदैन, यसले विश्वसनीयता घटाउँछ ।’

यसअघि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनामा त्रुटि भएपछि बजार बन्द भइसकेपछि  नेप्सेको अंक तीन पटकसम्म परिवर्तन भएका उदाहरण पनि छन् । साउन १२ गते बजार बन्द भएपछि भारित औसत मूल्य गणनापछि नेप्से २ अंक घटेको देखियो ।

जबकि भारित औसत मूल्य गणनाअघि १० अंक बढेको थियो । त्यतिबेला भारित औसत गणनामा प्राविधिक त्रुटि भएको भन्दै नेप्सेले क्षमायाचनासहित अंक सच्यायो । अन्ततः भारित औसत गणनाको त्रुटि सच्याएपछि नेप्से ७ अंक बढ्न पुग्यो । फेरि फेरि यस्ता त्रुटि नदाहोरिएलान् भन्ने विश्वसनीय आधार पनि नेप्सेसँग छैन ।

अहिले पनि लगानीकर्ता बेला बेला भारित औसत गणनामा त्रुटि भएको महसुस गर्छन् । नेप्सेको अंक त्यस्तै किसिमको देखिने गरेको छ । २ : ४५ बजेदेखि ३ बजेसम्म नेप्से परिसूचकले नछोएको विन्दु भारित औसतका क्रममा तय हुने गरेको देखिन्छ ।

नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेल अहिले पनि बेलाबेलामा भारित औसत गणनामा त्रुटि भएको महसुस गर्छन् ।

‘भारित औसत मूल्य गणना विधि म्यानुअल्ली हुँदो रहेछ, यसले गर्दा बेलाबेला त्रुटि हुन सक्ने आधार प्रशस्त रहन्छ’ उनले भने ‘त्यसकारण विकसित अटोमेटिक सिस्टम नभएकाले यसप्रति विश्वसनियता नभएको हो ।’

आफूहरुको अध्ययनका क्रममा कुनै कुनै दिन गणनामा त्रुटि भएको पाइएको उनले दाबी गरे । ‘यदि अन्तर्राष्ट्रिय अभ्यास अनुरुप नै गणना भइरहेको हो भने त्यसमा हामीलाई विश्वास दिलाउ अन्यथा हामीले त्योअनुसारको अभ्यास लागु गर्न सक्दैनौं भने भारित औसत गणना पनि लागु नगर’ पौडेलले भने ।

भारित औसत गणनाले कस्तो अवस्थामा बजार घट्छ, कस्तोमा बढ्छ ?

२ : ४५ बजेदेखि ३ बजेसम्म कारोबार हुने सबै सेयरको भारित औसत गणना हुने गर्छ । सो अवधिमा भएको अर्थ ठूलो परिमाणको सेयरले सूचकलाई बढी प्रभाव पार्दछ ।

ठूलो परिमाणको सेयर न्यून मूल्यमा कारोबार हुनु र सानो परिमाणको सेयर उच्च मूल्यमा कारोबार हुनुमा ठूलो अन्तर पर्न जान्छ । ठूलो परिमाणको सेयर ठूलै दरमा कारोबार भएमा मात्रै त्यसले बजार बढाउनलाई बल पुग्छ ।

यसलाई उदाहरणबाट बुझ्न पहिले यो टेबुल हेरौं ।

समय कारोबार मूल्य सेयर संख्या
२ : ४५ ४९० १०००
२ : ४७ ४९५ २००
२ : ५० ५०० १०
२ : ५५ ५०५ १०
कुल १२२०

भारित औसत गणना = सबै सेयरको कुल मूल्य/कुल सेयर संख्या = ४९०×१०००+४९५×२००+५००×१०+५०५×१०/१२२० = ४९१.०२

‍अब यस कम्पनीको भारित औसत मूल्य नै जम्मा ४९१.०२ मा झर्न जान्छ । बजार ३ बजे बन्द हुँदा ५०५ रुपैयाँ मूल्यले नेप्सेलाई प्रभाव पारेको थियो भने भारित औसत गणनापछि ४९१.०२ रुपैयाँले नेप्सेलाई प्रभाव पार्दछ ।

यसले गर्दा भारित औसत मूल्य गणनापछि समग्र परिसूचक घटेको देखिने गरेको छ । तर सबै परिस्थितिमा घटेको हुँदैन । एकै किसिमबाट नेप्से ओरालो लागेको अवस्थामा भारित औसत गणनापछि गिरावट दर पनि कम हुने गर्दछ ।

उदाहरणका लागि

समय कारोबार मूल्य सेयर संख्या
२ : ४५ ५०५ १०००
२ : ५० ५०० १०
२ : ४७ ४९५ २००
२ : ५० ४९० १००
२ : ५५ ४८८ १०
कुल १३२०

भारित औसत गणना = सबै सेयरको कुल मूल्य/कुल सेयर संख्या = ५०५×१०००+५००×१०+४९५×२००+४९०×१००+४८८×१०/१३२० = ५०२.१८

यो अवस्थामा अन्तिम मूल्य ४८८ रुपैयाँ रहे पनि भारित औसत गणनापछि ५०२ रुपैयाँ १८ पैसा मूल्य तय हुन्छ । ५०२ रुपैयाँको कारोबारले नै सूचकलाई प्रभाव पार्दछ । यसले भारित गणनापछि बजार बढाउनलाई बल पुग्छ ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?