
१७ भदौ, काठमाडौं । अब नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गरिने भएको छ ।
अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली विकास गरेको जनाएको छ ।
यस्तो प्रणाली पहिलो चरणमा १ असोजबाट काठमाडौं उपत्यका भित्रका तारे होटेलमा अनिवार्य लागु गर्न लागिएको विभागले जनाएको छ ।
दोस्रो चरणमा १ मंसिरबाट सबै तारे होटेल, विमान कम्पनी, टूर्स एण्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागु गरिने भएको छ ।
विभागका अनुसार त्यसपछि सबै प्रकारका होटेल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू हुने भएको छ ।
विभागले सबै विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रुपमा आवद्ध हुन अनुरोध गरेको छ ।
विभागको सोमबारको निर्णय अनुसार यो प्रणाली कार्यान्वयन गर्न लागिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।
उनका अनुसार यस प्रणालीको कार्यान्वयनमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास तथा गतिविधिको अभिलेख व्यवस्थित हुने भएको छ । यसले आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चितता गर्न सहज हुने विश्वास लिइएको छ । यसले सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायबीच सूचना आदान प्रदानको प्रक्रिया प्रभावकारी हुने र पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने उनले बताए । विभागले आफ्नो वेबसाइटमा सो प्रणालीमा आवद्ध हुने तरिकाबारे समेत जानकारी गराएको छ ।
प्रतिक्रिया 4