+
+
Shares

गैरव्यावसायिक प्रहरीविरुद्ध शून्य सहनशीलताको नीतिअनुसार कारबाही हुन्छ : आईजीपी खापुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १५:३९

१९ भदौ, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले गैरव्यावसायिक प्रहरीविरुद्ध शून्य सहनशीलताको नीतिअनुसार कारबाही गरिने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा निर्देशन दिंदै खापुङले भने, ‘गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीविरुद्ध शून्य सहनशीलताको नीति कडाइका साथ लागु गर्न संगठन कटिबद्ध छ ।’

त्यस्तै योग्यतामा आधारित पद्धति र निष्पक्ष प्रक्रियामा प्रहरी कर्मचारीको वृत्तिविकासको लागि आवश्यक थप मापदण्डहरू निर्माणमा लगिने पनि उनले बताए ।

संगठनको दीर्घकालीन श्रीवृद्धि, व्यावसायिकता र प्रतिष्ठाको प्रवर्द्धनका लागि नेतृत्व तहदेखि तल्लो तहसम्मका कर्मचारीहरूमा सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व आवश्यक रहेको चर्चा उनले गरे । सांगठनिक सुदृढीकरणका लागि सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावना र भ्रातृत्वभावका साथ आ-आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने उनले बताए ।

प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक खापुङले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिएका थिए ।

खापुङले फौजदारी न्याय प्रणालीको प्रमुख अंगको रूपमा नेपाल प्रहरीले देशव्यापी सञ्जालमार्फत अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका साथै शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका क्रियाकलापमा राज्यको पहिलो प्रतिनिधिको रूपमा उपस्थिति देखाई आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको बताए ।

आम नागरिकको अपेक्षालाई शिष्ट आचरण एवं व्यवहारका साथ सम्बोधन गर्दै आम नागरिकको हृदयमा आस्था, विश्वास र भरोसा कायम राख्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

खापुङले सामाजिक सञ्जालमा देखिएका अवाञ्छित गतिविधि, वित्तीय अपराध, साइबर अपराध, लागुऔषध, मानव बेचबिखन, आर्थिक अपराध जस्ता जटिल र संगठित अपराधहरूको अनुसन्धानमा अझ संवेदनशील, विवेकशील र कानुनी रूपमा प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?