
१९ भदौ, काठमाडौं । नेकपा एमालेले विधान अधिवेशनसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय नजोडिने स्पष्ट पारेको छ । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार, कुनै व्यक्तिलाई सदस्यता दिने वा नदिने भन्ने विषय पार्टीको नितान्त केन्द्रीय कमिटीले टुंगो लगाउने विषय हो ।
‘कोही पनि व्यक्तिको सदस्यताबारे प्रश्न केन्द्रीय कमिटीले नै टुंगो लगाएको छ । उहाँ (विद्या भण्डारी) को सदस्यता नवीकरण भएको छैन,’ ज्ञवालीले थप भने, ‘त्यो सदस्यताको विषयलाई लिएर थप छलफल गर्नुपर्ने कुनै जरुरी नै भएन । पछि कुनैबेला थप छलफल गर्नुपर्ने भए केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीमै छलफल हुनेछ ।’
तर, स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गर्ने फरक मतमा जे विषय समेटिएको छ त्यो चाहीँ छलफल हुने बताए ।
‘कर्ण थापाले आफ्नो फरक मतमा के लेख्नुहुन्छ, त्यो फरक कुरा रह्यो । हामी चाहन्छौं सम्माननीय पूर्वराष्ट्रपतिको व्यक्तित्व, राष्ट्रिय राजनीतिको योगदानको विषय महाधिवेशनको पक्ष र विपक्षको विषय नबनोस् भनेर हामीले सबैलाई आग्रह गरेका छौं,’ ज्ञवालीले भने ।
उनका अनुसार, विधान र प्रतिवेदनसँग जोडिएका विषय मात्रै भोलिबाट तीन दिनसम्म चल्ने अधिवेशनको विषय हुने बताए ।
‘विद्याको सदस्यता दिने नदिने भन्ने कुरा नितान्त केन्द्रीय कमिटीको विषय हो । त्यो महाधिवेशनको एजेन्डासँग सम्बन्धित छैन । विधानसँग जोडिएका केही विषय छन् भने त्यहाँ छलफलको विषय हुनसक्छ,’ ज्ञवालीले भने ।
प्रतिक्रिया 4