
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप लगायत २६ सामाजिक सञ्जाल बन्द गरेपछि लक्ष्मी नकर्मी लगायत साना व्यवसायीहरूमा आर्थिक असर परेको छ।
- नेपाल हस्तकला महासंघका अनुसार सामाजिक सञ्जाल बन्दले हस्तकला निर्यात र व्यवसायमा ३० देखि ४० प्रतिशतसम्म असर परेको छ।
- व्यवसायी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले सामाजिक सञ्जाल बन्दले व्यावसायिक सञ्चारमा समस्या आएको र सरकारले तत्काल समाधान खोज्नुपर्ने बताए।
२० भदौ, काठमाडौं । ललितपुर पाटनमा मकैको खोस्टालाई कलात्मक जीवन दिने लक्ष्मी नकर्मी सरकारले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता सामाजिक सञ्जाल बन्द गरेपछि निराश र आक्रोशित छिन् ।
सरकारको यो निर्णयले ‘सिस्टर्स ह्यान्डिक्राफ्ट’ की सञ्चालक लक्ष्मीको सिर्जनामात्र होइन, उनीमार्फत जीवन चलाइरहेका अशक्त र फरक क्षमता भएका दर्जन हाराहारी कामदारको आशामाथि निराशा थपिएको छ ।
‘यो प्रतिबन्धले शतप्रतिशत असर गरेको छ,’ लक्ष्मीले अनलाइनखबरसँग भनिन्, ‘सामान्य काम गरेर खाने मान्छेलाई त बाटो बन्द गरिदिए जस्तै भयो ।’
उनको व्यवसायको मेरुदण्ड नै सामाजिक सञ्जाल हो । उनले आफ्ना कला, सिप र सिर्जना फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप लगायत समाजिक सञ्जालबाटै प्रचार–प्रसार गरी आम्दानी गर्ने गर्थिन् ।
तिनै माध्यम हुँदै लक्ष्मीले मकैको खोस्टाबाट बनाएका नेपाली संस्कृति झल्काउने कलाकृति, किरिङ, म्याट र युरोपेली बजारका लागि सान्टा क्लज, एन्जेल, बुद्धजस्ता आकृति अमेरिका, जर्मनी, अस्ट्रेलिया र इटालीसम्म पुग्थे ।
इटालीमा रहेका उनका साथीहरूले कार्यशाला चलाएर नेपाली हस्तकला प्रचार गरिरहेका छन् । यी सबै व्यापारिक सम्बन्ध र अर्डरको आधार सामाजिक सञ्जाल नै हो ।
‘ह्वाट्सएपले तत्काल जवाफ र प्रतिक्रिया दिने सुविधा प्रदान गर्छ, जसले अन्तर्राष्ट्रिय ग्राहकसँग सहजै सम्बन्ध कायम गर्न सकिन्छ,’ उनले स्पष्ट पारिन्, ‘एकदिनको बन्दमा नै मेरो व्यवसायलाई ४० प्रतिशत असर गरिसक्यो, अहिले अन्तर्राष्ट्रिय तथा स्थानीय ग्राहकसँग सम्बन्ध नै बिच्छेद भएको अवस्था छ ।’
उनका अनुसार इमेलको परम्परागत प्रणालीले त्यो गति र सहजता दिन सक्दैन । तर, अहिले यी सबै माध्यममाथि लगाइएको प्रतिबन्धले सञ्चारमाध्यम टुटेको छ, जसले गर्दा नयाँ अर्डर लिन र पुराना अर्डरमा संवाद गर्न समेत कठिनाइ भएको उनको गुनासो छ ।
उनले हिजै रातिदेखि ह्वाट्सएप र इन्स्टाग्रामले काम गर्न छाडेपछि आएका अर्डर र ग्राहकसँग राम्ररी संवाद गर्न सकेकी छैनन् । उनले एकदिनमै हजारौं रुपैयाँ आम्दानी गुमाउनु परेको भन्दै आक्रोश पोखिन् ।
लक्ष्मीको व्यवसाय केवल नाफामुखी छैन, यो त सामाजिक उत्तरदायित्वको एक उदाहरण पनि हो । उनले यस व्यवसायबाट भएको आम्दानीले ८ देखि १२ जना अशक्त र फरक क्षमता भएका दिदीबहिनीलाई रोजगारी दिँदै आएकी छिन् ।
‘मैले कुनै संस्था खोलेको होइन, यो त मेरो व्यक्तिगत प्रयास हो,’ उनले भनिन्, ‘तर, अहिले सरकारले गरिखाने बाटो नै बन्द गरिदिएपछि सिपमा आधारित साना व्यवसायको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ ।’
लक्ष्मीले सरकारको यो कदमले के हासिल गर्न खोजेको हो भन्नेमा अस्पष्टता व्यक्त गरिन् । ‘दुरुपयोग नियन्त्रण गर्ने बहानामा व्यावसायिक सञ्चारलाई नै ठप्प पार्दा त्यसको दूरगामी असर कसले भोग्ने ?,’ उनले भनिन्, ‘सरकारले सामाजिक सञ्जाल बन्द गर्नुभन्दा यसलाई नियमन गर्नुपर्छ वा वैकल्पिक माध्यम उपलब्ध गराउनुपर्छ ।’
आफ्नो सिप र क्षमताले बाँच्न खोज्ने उद्यमीलाई यसरी निरुत्साहित गर्दा देशको समग्र अर्थतन्त्र र लाखौं मानिसको जीविकोपार्जनमाथि गम्भीर संकट आउने उनको चिन्ता छ ।
‘फोटो पठाउन मिल्दैन, फोनबाट कसरी बुझाउने ?’
काठमाडौं बौद्धमा स्टार्टअप व्यवसाय गर्दै आएकी रेवती गुरुङलाई पनि सामाजिक सञ्जाल बन्द हुँदा समस्या परेको छ ।
‘कोक्रोमा’ की सञ्चालक गुरुङले विशेषगरी बच्चाहरूको लुगा बेच्छिन् । यतिबेला उनलाई कपडा अर्डर गरेका ग्राहकसँग संवाद गर्नै सकस परिरहेको छ ।
फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धपछि उनले फोनमा ग्राहकलाई बुझाउन नसकेको बताइन् ।
‘अहिले त ग्राहकलाई सामानबारे बुझाउनै गाह्रो भयो,’ गुरुङले भनिन्, ‘बिहानैदेखि फोन आइरहेको छ, तर फोटो पठाउन मिल्दैन, फोनबाट कसरी बुझाउने ?’
गुरुङका लागि सामाजिक सञ्जाल, विशेषगरी इन्स्टाग्राम र ह्वाट्सएप स्थानीय ग्राहकसम्म पुग्ने र उनीहरूसँग सिधा संवाद गर्ने मुख्य माध्यम हुन् ।
‘अन्तर्राष्ट्रिय अर्डरहरू त वेबसाइटबाट आउँछन्, त्यो चलिरहेको छ, तर नेपालमा आउने अर्डर चाहिँ इन्स्टाग्रामबाट आउँछन् र ती हाम्रा स्थानीय मान्छेका अर्डर हुन्,’ उनले भनिन्, ‘अहिले यी दुवै माध्यम बन्द हुँदा दैनिक व्यवसायमा ठूलो असर परेको छ । कम्युनिकेसन नै बन्द भइसक्यो ।’
ग्राहकले उत्पादनको फोटो माग्दा वा डिजाइनबारे बुझ्न खोज्दा फोटो पठाउन नसक्ने र फोनमा सबै कुरा बुझाउन पनि कठिन हुने समस्याले उनलाई पिरोलेको छ ।
उनका अनुसार यसअघि ग्राहकले चाहिएको सामानको स्क्रिनसट पठाएर वा आफूले कोड नम्बर सहित फोटो पठाएर सहजै अर्डर लिने गरिन्थ्यो, जुन अहिले सम्भव छैन । ‘फोटो र भिडियो चाहिँ ह्वाट्सएपबाटै पठाउनुहुन्थ्यो, अहिले चाहिँ पठाउन मिलेन,’ उनले भनिन् ।
सरकारी नियमनको पालना गरी यी प्ल्याटफर्मलाई पुन: सञ्चालनमा ल्याउनु नै उत्तम विकल्प भएको उनको भनाइ छ ।
तत्काल यो समस्या समाधान नभए लक्ष्मी र रेवतीजस्ता हजारौं व्यवसायीका साना र सिर्जनात्मक व्यवसायलाई स्थानीय र अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच कायम राख्न थप कठिनाइ हुने निश्चित छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बिहीबारदेखि बन्द गरेको छ ।
फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, लिंक्ड इन, स्न्याप च्याट, रेडिट, थ्रेड, वीच्याट लगायत २६ सामाजिक सञ्जाल बन्द गरेको छ ।
अहिले सामाजिक सञ्जाल व्यवसायको बलियो आधार बनिसकेको हुँदा यी प्ल्याटफर्म बन्द हुँदा मुलुकको अनौपचारिक अर्थतन्त्र प्रभावित बन्ने र रोजीरोटी नै खोसिने साना व्यवसायीहरूको चिन्ता छ ।
अहिले तथ्यांकमै भन्न नसकिए पनि उपभोक्तादेखि विक्रेतासम्म सामाजिक सञ्जालमा निर्भर छन् ।
निर्यातमा गम्भीर असर : हस्तकला महासंघ
नेपाल हस्तकला महासंघका अनुसार नेपालबाट ढाका कपडा, भाङबाट बनेका कपडा, फेल्ट, धूप, धातुजन्य, चित्रकला, कागज, ढुंगाबाट बनेका कलाकृति, रेसाजन्य सामग्री, चाँदी, गरगहना, काष्ठकला, ऊन, अल्लो, बाँसजन्य वस्तु लगायत सामग्री विदेश निर्यात हुँदै आएको छ ।
नेपालमा उत्पादित हस्तकला छिमेकी भारत, चीन लगायत अमेरिका, जापान, जर्मनी, डेनमार्क, नेदरल्यान्ड, बेलायत, अस्ट्रेलिया, सिंगापुर जस्ता देशमा निर्यात हुने गरेको छ ।
राष्ट्रिय हस्तकला महासंघ वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धले हस्तकला उद्योगमा ठूलो असर पर्ने भन्दै चिन्ता व्यक्त गर्छन् ।
उनले हाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र वीच्याट जस्ता प्ल्याटफर्म बन्द हुँदा व्यापार–व्यवसायमा गम्भीर असर पर्ने बताए ।
बज्राचार्यका अनुसार हस्तकला व्यवसायका लागि ह्वाट्सएप फेसबुकभन्दा बढी महत्त्वपूर्ण छ । र, यसको निरन्तर सञ्चालन हुनुपर्ने उनको माग छ ।
उनले यी माध्यम छिट्टै खुल्ने आशा व्यक्त गरे । ‘तत्काल असर नदेखिए पनि लामो समयसम्म प्रतिबन्ध जारी रहे यसले व्यावसायिक क्षेत्रमा नकारात्मक प्रभाव पार्ने निश्चित छ,’ उनले भने, ‘वर्तमान समयमा सबै क्षेत्र डिजिटल भइसकेको हुँदा यसबाट टाढा रहन सकिँदैन र सबै व्यवसायी डिजिटलमैत्री भइसकेकाले यी प्ल्यटफर्म अभावले जीवनयापनमा समेत असर पुग्छ ।’
समस्यामा अर्थतन्त्र र साना व्यवसाय
सरकारले सामाजिक सञ्जाल प्ल्याटफर्ममाथि लगाएको प्रतिबन्धले समग्र अर्थतन्त्र, विशेषगरी साना तथा मझौला व्यवसायमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने तयारी पोसाक संघ अध्यक्ष पशुपतिदेव पाण्डे बताउँछन् । उनले यी प्ल्याटटफर्मलाई नियमन गरी यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
अध्यक्ष पाण्डेका अनुसार सरकारले सामाजिक सञ्जाल दुरुपयोग नियन्त्रण गर्ने उद्देश्यले प्रतिबन्ध लगाएको भए पनि यसले आर्थिक चक्रमा समेत असर पारेको छ ।
उनले फेसबुक, ह्वाट्सएप र भाइबरजस्ता सञ्चारमाध्यम अहिले जनताको नैसर्गिक अधिकार जस्तै बनिसकेको उल्लेख गर्दै यसलाई कानुनसम्मत दर्ता तथा नियमन गरेर चलाउनुपर्ने आवश्यकतामा जोड दिए ।
अर्थतन्त्रमा बहुआयामिक प्रभाव
‘आजको जमानामा डिजिटल दुनियाँबाट टाढा बस्न सकिँदैन, धेरैजसो व्यवसाय विशेषगरी साना व्यवसायी फेसबुक र ह्वाट्सएप जस्ता माध्यमबाटै आफ्नो उत्पादन प्रचार–प्रसार, बिक्री–वितरण तथा नयाँ आविष्कार प्रस्तुत गरिरहेका छन्,’ उनले भने, ‘नयाँ सोच भएका युवाले समेत टिकटक र फेसबुक जस्ता प्ल्याटफर्मबाटै आफ्नो सिर्जना देखाएर आयआर्जन गरिरहेका छन् ।’
बिहान–बेलुकाको फुर्सदका समयमा पनि यी माध्यमबाट काम गरेर धेरैले जीविकोपार्जन गरिरहेका कारण प्रतिबन्धले उनीहरूको रोजगारी र आम्दानीमा गम्भीर असर पार्ने पाण्डेको भनाइ छ ।
दीर्घकालसम्म यो प्रतिबन्ध जारी रहे यसले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र पैसाको सर्कुलेसन समेत घट्ने उनको चिन्ता छ ।
तयारी पोसाक उद्योगको निर्यात र अमेरिकी बजारको अवसर
तयारी पोसाक उद्योग संघले गत आर्थिक वर्ष करिब १० अर्ब रुपैयाँ बराबरको निर्यात गरेको जानकारी अध्यक्ष पाण्डेले दिए । उनले यो ठूलो परिमाणको निर्यातमा सामाजिक सञ्जालको प्रत्यक्ष प्रभाव कम भए पनि साना व्यवसायी र प्रत्यक्ष ग्राहकसँग जोडिएर गरिने व्यापारमा यसको असर पर्ने उनको भनाइ छ ।
अमेरिकी बजारमा निर्यातका सन्दर्भमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा लगाइएका ट्यारिफहरू अन्य देशको तुलनामा नेपाललाई कम लगाइएको हुनाले यो नेपालका लागि ठूलो अवसर भएको पाण्डेले उल्लेख गरे ।
‘यदि यसलाई राम्रोसँग सदुपयोग गर्न सके ३ देखि ५ वर्षभित्र देशको व्यापार घाटा अन्त्य हुन सक्छ,’ उनले भने । अमेरिकी सरकारको नीति तुलनात्मक रूपमा स्थिर रहने भएकाले यस अवसरको अधिकतम फाइदा उठाउनुपर्नेमा उनले जोड दिए ।
निर्यात व्यवसायमा धक्का
निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले सामाजिक सञ्जालमाथिको प्रतिबन्धले व्यावसायिक सञ्चार प्रक्रियामा ३० देखि ४० प्रतिशतसम्म तत्काल असर पारेको र लामो समयसम्म कायम रहे गम्भीर दीर्घकालीन प्रभाव पर्ने चेतावनी दिए ।
अध्यक्ष घिमिरेले व्यावसायिक सञ्चारका लागि ह्वाट्सएपको अत्यधिक प्रयोग हुने गरेको र यसको माध्यमबाट तत्काल जवाफ प्राप्त हुने गरेको बताए ।
‘इमेल भनेको अफिस समयमा मात्रै हेर्ने चलन हुन्छ, तर ह्वाट्सएपले तत्काल जवाफ र प्रतिक्रिया दिने सुविधा प्रदान गर्छ, जुन अहिले पूर्णरूपमा अवरुद्ध छ,’ उनले भने ।
यसले गर्दा विशेषगरी अन्तर्राष्ट्रिय बजारमा सम्पर्क स्थापित गर्न कठिनाइ भएको र व्यावसायिक कार्यतालिकामा ढिलाइ भएको उनको भनाइ छ ।
महासंघ अन्तर्गत २८ वटा वस्तुगत संघ र करिब ४ हजार साना तथा मझौला उद्यम आबद्ध छन् । यी व्यवसायले आफ्ना उत्पादन, जस्तै हस्तकला, कार्पेट, कृषि उत्पादन तथा अन्य उच्च मूल्यका नेपाली मौलिक उत्पादन प्रचार–प्रसारका लागि सामाजिक सञ्जालको व्यापक प्रयोग गर्दै आएका छन् ।
फेसबुकले ब्रान्ड प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको स्वीकार गर्दै घिमिरेले यसको प्रतिबन्धले नयाँ बजारमा प्रवेश गर्न र ग्राहकसँग सिधा सम्पर्क स्थापित गर्न असहज भएको उल्लेख गरे ।
यद्यपि, अन्तर्राष्ट्रिय निर्यात गर्ने ठूला कम्पनीका लागि भने मुख्य विज्ञापन र ब्रान्डिङ वेबसाइट तथा अन्य अनलाइन पोर्टलहरूबाट हुने भएकाले फेसबुक बन्दले ठूलो विज्ञापनमा प्रत्यक्ष असर नपर्ने उनको भनाइ छ ।
अध्यक्ष घिमिरेले सरकारलाई यस समस्याको तत्काल समाधान खोज्न आग्रह गरे । व्यावसायिक सञ्चारलाई सहज बनाउन र अर्थतन्त्रमा नकारात्मक असर पर्नबाट रोक्न सामाजिक सञ्जाल प्ल्याटफर्मलाई चाँडोभन्दा चाँडो नियमन गरी सञ्चालनमा ल्याउनुपर्ने उनको माग छ ।
प्रतिक्रिया 4