
२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारलाई जेन–जी पुस्ताका आवाज सुन्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल बन्दको विरोधमा जेन-जी युवाहरूले प्रतिवाद आन्दोलनको घोषणा गरेपछि कांग्रेस नेता डा. कोइरालाले उनीहरूको आवाज सुनुवाइ नभए पछुताउनु पर्ने चेतावनी दिएका छन् ।
आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय देशमै बसेर केही गर्न चाहेका जेन–जी पुस्ता र सरकारको नेतृत्व गरिरहेकाहरूको सोचाईको अन्तर भएको बताए ।
उनले लेखेका छन्, ‘ राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देश मै बसेर केही गर्छु भन्ने ‘जेन–जी’ पुस्ताका होनाहार युवाहरू सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु सरकारमा बसेका र उनीहरूको बिचको सोचाईको अन्तर हो । उनीहरूको आवाज सुन्ने हिम्मत गरौं र आफुलाई परिवर्तन गरौं । नत्र पछि पछुताउनुको विकल्प पनि बाँकी रहन्न ।’
सरकारले दर्ता प्रक्रियामा नआएको भन्दै २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि जेन-जी युवाहरूको समूहले सोमबार काठमाडाैंसहित देशका विभिन्न ठाउँमा प्रदर्शनको आह्वान गरेका छन् ।
प्रतिक्रिया 4