+
+
Shares

सरकारसँग रगतको हिसाब माग्दैछन् साथी गुमाएका जेन-जी

जेनजीको आन्दोलनमा थिए कांग्रेस, एमाले, माओवादी, रास्ववा र राप्रपाका युवा–विद्यार्थी

स्कुल–कलेजको ड्रेसमै १०–१२ कक्षामा पढ्ने विद्यार्थी आन्दोलनमा आएका थिए । उनीहरूले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ । मेटाले भन्दा नेताले दुःख दिए ।’

दिनेश गौतम दिनेश गौतम
२०८२ भदौ २३ गते २३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ भदौमा नयाँ बानेश्वरमा जेन–जी आन्दोलनमा प्रहरीले गोली चलाउँदा १८ जना युवाले ज्यान गुमाए र सयौं घाइते भए।
  • सरकारले १९ भदौमा २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि जेन–जीहरू भ्रष्टाचार, अनियमितता र सरकारी ढिलासुस्तीका कारण आन्दोलनमा आएका थिए।
  • जेन–जीहरू निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ गए र बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बन्यो।

२३ भदौ, काठमाडौं । नयाँ बानेश्वर सोमबार दिनभर रणमैदान बन्यो । जेन–जीको आन्दोलनमा प्रहरीले अन्धाधुन्द गोली चलाउँदा यो समाचार तयार पार्दासम्म १८ जना युवाले ज्यान गुमाए । सयौं घाइते भए । सडक रक्ताम्य बन्यो । सँगै आएका साथीले साथी गुमाए ।

‘अब कसरी घर जाने ? मेरो साथी खोई सरकार ! रगतको हिसाब चाहिन्छ,’ गोली लागेर लडेका साथीलाई उठाउँदा उनको छातीमा रगत लतपतिएको थियो । तर आक्रोश तेजले बढिरहेको थियो ।

गोली लागेका युवालाई एम्बुलेन्सले अस्पतालतर्फ लग्यो । ढलेका साथीको रगत छातीमा लतपतिएका साथी शंखमुलतर्फ चर्को नारा लगाउँदै अगाडि बढे । ‘साथीको टाउकोबाट गोली छिरेको छ,’ उनले भने । बानेश्वर दिनभर यसरी नै कोलाहल बन्यो ।

आक्रोशित बनेका जेन-जीले पनि प्रहरीतर्फ ढुंगामुढा प्रहार गरे । घरका छतछतमा लुकेका प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्‍यो । जेन–जीले निषेधित क्षेत्र मात्र तोडेनन्, संसद् भवनभित्र नै प्रवेश गरे ।

भवनको बाहिरी पर्खाल छियाछिया बन्यो । मुल गेट अगाडि गाडी जलाए । दिनभर बानेश्वर तनावग्रस्त बन्यो । तर, यो आन्दोलनमा स्वतन्त्र जेन–जी मात्र थिएनन्, प्रमुख दलका युवा विद्यार्थी पनि सहभागी थिए । कांग्रेस, एमाले, मओवादी, रास्वपा, राप्रपा लगायत दलका युवा–विद्यार्थी पनि आन्दोलनको अग्रंपक्तिमै देखिएका थिए ।

जेन–जीहरूले संगठनका विद्यार्थीहरूलाई आन्दोलनमा नआउन माइतीघरबाट माइकिङ नै गरेर भनेका थिए । निषेधित क्षेत्र तोड्ने बेला दलका युवा विद्यार्थी पनि अगाडि मोर्चामा थिए । आन्दोलन कसैको नेतृत्वमा थिएन, सबै स्वःस्फूर्त आएका थिए ।

‘घटनामा घुसपैठ भएको छ । जेन–जीहरू एभरेष्ट होटलबाट माइतीघरतर्फ फर्किने तालिका थियो । तर उत्तेजित बनेको भिडले निषेधित क्षेत्र तोडेपछि यो स्थिति बन्यो,’ आन्दोलनमा सहभागी एक युवाले भने ।

सरकारलाई जेन–जीका प्रश्न

यसरी स्वःस्फुर्त जेन–जी सडकमा किन आए ? के थियो उनीहरूको माग ? के चाहन्छन् उनीहरू ? यी प्रश्नहरूको उत्तर उनीहरूले बोकेको प्लेकार्डले नै भनिरहेको थियो । बिहान साढे ८ बजे नै प्लेकार्ड बोकेर जेन-जीहरू माइतीघरमा भेला हुन थालेका थिए ।

स्कुल–कलेजको ड्रेसमै १०–१२ कक्षामा पढ्ने विद्यार्थी आन्दोलनमा आएका थिए । उनीहरूले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ । मेटाले भन्दा नेताले दुःख दिए ।’

सरकारले १९ भदौमा २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लियो । त्यसपछि जेन–जीहरू सरकारसँग रुष्ट भए । तर उनीहरू आन्दोलनमा आउनुको यो मात्र कारण होइन । भ्रष्टाचार, अनियमितता, सरकारी कार्यालयमा हुने ढिलासुस्तीले निराश भएका जेन-जी आन्दोलनमा बाध्य भएर आएको बताउँदै थिए ।

‘बिहान साढे ६ बजेको कक्षा थियो तर परिवर्तनका लागि कक्षा छोडेर आन्दोलनमा आएका हौँ,’ कक्षा १२ मा पढ्ने एउटा विद्यार्थीको समूहले भन्यो, ‘हामीले कर तिर्ने तर दुःख हामीलाई नै दिने ? भ्रष्टाचारको अन्त्य गर्न आन्दोलनमा आएका हौँ ।’

अर्का एक विद्यार्थीका बुबा विदेश रहेछन् । मलेसियामा काम गर्न गएका उनका बुबा नेपाल फर्किएका छैनन् । ‘मेरो बुवाले पठाएको रेमिट्यान्सले कहिलेसम्म देश चल्छ ? मेरो बुवाले जस्तो भोग्नु नपरोस् भनेर आन्दोलनमा आएको हुँ,’ ती १२ मा पढ्ने विद्यार्थीले भने, ‘देशमा पढेको, बुझेको, भिजन भएको नेता भएको भए यस्तो हुन्थ्यो ? कति सहने भनेर पढाइ छोडेर आएको हुँ ।’

विद्यार्थीहरू काठमाडौं उपत्यकाका तीन जिल्लाबाट नै प्रदर्शनमा आएका थिए । ‘शिक्षा छैन । सडक बनेको छैन । जनताले खान पाएको छैन । भोकमरी छ । नेताका छोराछोरीको कमाइ के हो ? उनीहरूको आय स्रोत माग्न आएको हुँ,’ ललितपुरबाट आएका कक्षा १० मा पढ्ने एक विद्यार्थीले भने ।

जेन-जीहरूले आन्दोलनमा आउनुको फरकफरक कारण देखाए । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि अनलाइनबाट पढ्न नपाएको दुखेसो गरे । ‘पाठ्यसामग्री युट्युबमा हुन्छ । अनलाइनबाट पढ्ने गरेका छौँ । विकल्प नदिई सामाजिक सञ्जाल बन्द गर्न पाइन्छ ?,’ भक्तरपुरबाट आएका कक्षा १० मा पढ्ने विद्यार्थीले प्रश्न गरे ।

युवाहरू देशमै बसेर काम गर्न चाहन्छन् । तर सामाजिक सञ्जाल बन्द भएपछि अनलाइनबाट व्यापार-व्यवसाय गर्न नपाएको पीडा उनीहरूले माइतीघरमा पोखे ।

‘पढाइसँगै अनलाइन व्यवसाय गरिरहेको थिएँ । पढ्ने खर्च आफैं जुटाइरहेको थिएँ । सामाजिक सञ्जाल बन्द गरेपछि मेरो डिजिटल व्यवसाय पनि बन्द भयो,’ ती विद्यार्थीले भने ।

आन्दोलनमा आएका जेन–जीले एकै स्वरमा भनिरहेका थिए, ‘हामी व्यवस्था विरोधी होइनौं । गणतन्त्र आयो तर कसको लागि आयो ?’ उनीहरूले प्रश्न गरिरहेका थिए, ‘गणतन्त्र आयो । नेताका छोराछोरीलाई मात्र आयो । हामीले के पायौं ? वर्षौं भयो बुटवल जाने बाटो बनेको छैन । नेता जाहाजमा उड्ने । हामीले घर जाने बाटो पनि पाएनौं,’ ती विद्यार्थीले भने ।

संविधानको धारा १९ ले सञ्चारको हक हुने भनेको छ । ‘तर सामाजिक सञ्जाल बन्द गरेर कसरी यो हक जनताले अधिकार गर्न पाए ? सरकार निरंकुश बन्यो । त्यही भएर अधिकार माग्न आएको हुँ,’ कानुन पढिरहेका विद्यार्थीको समूहले भन्यो, ‘सरकार हामीलाई देशमा नबसोस् भन्ने चाहन्छ । विदेश धकेल्न खोज्छ । त्यसैले देशमै बस्न देऊ भनेर आएका हौँ ।’

जेनजीहरू सांसदहरूबाट पनि सन्तुष्ट देखिएनन् । कानुन बनाउने र जनताको आवाज उठ्नुपर्ने ठाउँमा सधैं सत्ताको खेल मात्र भएको उनीहरूले आक्रोश पोखे । ‘संसदमा आउँदैनन् । आए पनि निदाएर बस्छन् । कोरम कहिले पुग्दैन ? हाम्रो करको हिसाब माग्न आएका हौँ,’ अर्को समूहले भन्यो । त्यसपछि बिहानको पौने ११ बजेको थियो । माइतीघरमा भेला भएका जेन-जीको र्‍याली बानेश्वर संसद् भवनतर्फ अगाडि बढ्यो ।

एउटा समूह सभा ११ मै बानेश्वर एभरेष्ट होटल पुग्यो । त्यसउता जान निषेध गरिएको थियो । जहाँ संसद् भवन थियो । तर थेगिनसक्नु भिड १२ बजे निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ लाग्यो । र, बानेश्वर क्षेत्र दिनभर नै आक्रान्त बन्यो ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?