+
+
Shares

जेनजी प्रतिनिधिसँग मध्यराति जंगीअड्डामा छलफलको तयारी, औपचारिक वार्ता भोलि

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोलि हुने औपचारिक वार्ताको तयारी स्वरुप प्रधानसेनापति अशोक सिग्देलले मध्यराति केही जेनजी प्रतिनिधिलाई जंगीअड्डा बोलाएका छन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ भदौ २४ गते २३:५४

२४ भदौ, काठमाडौं । जेनजी युवाको भ्रष्टाचारविराधी प्रदर्शनपछि उत्पन्न परिस्थितिका बीच तनाव साम्य पार्न नेपाली सेनाले पहल लिएको छ ।

नेपाली सेनाको समन्वयमा सैनिक मुख्यालय जंगीअड्डामा मध्यराति जेनजी प्रतिनिधिहरुसँग छलफल हुन लागेको सैनिक उच्च स्रोतले अनलाइनखबरसँग पुष्टि गरेको छ ।

स्रोतका अनुसार, विभिन्न समूहमा रहेका जेनजी प्रतिनिधिले राति प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेर आफ्ना कुराहरु राख्दैछन् । एक जेनजी अभियन्ताले समेत आफूहरु जंगीअड्डा जान लागेको र आफ्ना विषयहरु राख्ने बताएका छन् । ‘हामीलाई जंगीअड्डाबाट आउनु भन्ने कुरा आएपछि जाँदैछौं, त्यसक्रममा नेपाली सेनाका कुराहरु पनि सुन्छौं,’ उनले भने ।

नेपाली सेनाका एक उच्च अधिकृतले भने यसलाई औपचारिक वार्ता नभई प्रारम्भिक रुपमा जेनजीका धारणाहरु बुझ्ने प्रयासरुपमा अर्थ्याए । ‘औपचारिक वार्ता चाहिँ भोलि नेपाली सेनाका परामाधिपति समेत रहनु भएका राष्ट्रपति रामचन्द्र पौडेलज्यूको उपस्थितिमा हुनेछ,’ ती अधिकृतले भने, ‘अहिले चाहिँ उहाँहरुको मागहरु सुन्न र प्रारम्भिक छलफल गर्न खोजेका हौं ।’

राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर जेनजी प्रदर्शनकारीलाई संवादमा आउन आह्वान गरेको थियो । ‘लोकतन्त्रमा नागरिकले उठाएका मागहरु जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,’ राष्ट्रपति पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख थियो ।

अहिले हुन लागेको छलफलमा को को उपस्थित हुन्छन् भन्ने सार्वजनिक भइसकेको छैन । ‘भोलि राष्ट्रपतिको उपस्थितिमा निर्णायक संवाद हुने भएकाले पनि अहिले कोही छुटे पनि क्रमशः सबै समूहलाई समेट्ने गरी कुराकानी हुन्छ,’ स्रोतले भन्यो

यसपछि नेपाली सेनाले समेत विज्ञप्ति जारी गरेर संवादबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो । सैनिक स्रोतका अनुसार, राष्ट्रपति पौडेलको विज्ञप्ति समेत सेनाको समेत सुझावलाई मध्यनजर गर्दै आएको थियो । सेनाको अगुवाइमा भएको चारवटै सुरक्षा प्रमुखको बैठकले कसरी अघि बढ्ने भन्ने सन्दर्भमा राष्ट्रपतिले अगुवाइ लिनु ठिक हुने निष्कर्ष निकालेका थिए । त्यसपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो ।

कार्यालयको विज्ञप्तिपछि जेनजीका तर्फबाट विभिन्न समूहका युवाले सम्पर्क गरेका थिए । ‘तर धेरै संख्यामा विभिन्न व्यक्तिहरुले सम्पर्क गर्नुभयो, कसरी व्यवस्थापन गर्ने भन्ने विषय समेत अफ्ठ्यारो हुने देखियो,’ एक अधिकारीले भने, ‘त्यसपछि विभिन्न चरणमा गरेर पहिले सबैको कुरा सुन्ने भन्ने भयो ।’

जंगीअड्डामा मध्यरातिदेखि सुरु हुने छलफलमा नयाँ सरकार गठनदेखि भावी प्रक्रिया लगायतका विषयमा जेनजी प्रतिनिधिले आफ्ना सरोकारहरु राख्ने स्रोतले बताएको छ । ‘अहिले उहाँहरुको कुरा सुनेपछि भोलि औपचारिक वार्तामा बस्न सहज हुन्छ भन्ने पनि हो,’ स्रोतले भन्यो, ‘यो परिस्थितिमा नागरिकको आवाज सबैभन्दा महत्वपूर्ण कुरा भएकाले सुन्न खोजेका हौं ।’

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जेनजी युवालाई नेपाली सेनाका प्रमुखसँग वार्ता गर्न तयार रहनु भनेका थिए । ‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ, तयार रहनुहोला,’ उनले भनेका थिए, ‘तर याद रहोस्, वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ ।’

तर, अहिले हुन लागेको छलफलमा को को उपस्थित हुन्छन् भन्ने सार्वजनिक भइसकेको छैन । ‘भोलि राष्ट्रपतिको उपस्थितिमा निर्णायक संवाद हुने भएकाले पनि अहिले कोही छुटे पनि क्रमशः सबै समूहलाई समेट्ने गरी कुराकानी हुन्छ,’ स्रोतले भन्यो ।

भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला सरकारले फेसबुक, एक्ससहित २५ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि ‘नेपोनेविज’ अभियान चलाइरहेका युवाले सडक प्रदर्शन घोषणा गरेका थिए ।

सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भए । मंगलबार प्रशासनको कर्फ्यूका बीच प्रदर्शनकारी सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । संसद् भवनमा आगजनी भएपछि जेनजी युवा नारावाजीसहित अन्यत्र हिँडेका थिए ।
पछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा समेत आगजनी भयो ।

तनावको स्थिति सिर्जना भएपछि अपराह्न सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर ‘विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व’ भएको बताएको थियो ।

प्रधानसेनापति सिग्देलले समेत भिडियो सन्देश जारी गर्दै अहिलेको परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन आग्रह गरेका थिए ।

दिउँसो संसद् भवन प्रवेश गरेका जेनजीलाई नेपाली सेनाले पहरा दिएको थियो । सेना आफूहरुको पक्षमा उभिएर उभिएको भन्दै बानेश्वरमा युवाले खुशी व्यक्त गरेका थिए । उनीहरुले नेपाली सेना जिन्दवाद, सेना हाम्रो साथी हो लगायतका नारा लगाएका थिए ।

यद्यपि, राति ९ बजेसम्म तोडफोड र आगजनीका घटना साम्य नभएपछि १० बजेदेखि सेना स्थितिलाई नियन्त्रणमा लिन सडकमा उत्रिएको थियो ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?