
२६ भदौ, काठमाडौं । जेनजी आन्दोलनको सिकार नेपाल राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई पनि बनाइएको छ ।
आफूले पाएको छात्रवृत्ति बचत गरी निर्माण गरेको घरमा समेत आगजनी गरेर शरणार्थी बनाइएको भन्दै उनले दु:ख व्यक्त गरेका छन् ।
जेनजी आन्दोलन उग्र भए पनि निसानामा सरकारी कार्यालय तथा राजनीतिक दलका नेता तथा कार्यकर्ता परे । साथै, सार्वजनिक पद धारण गरेका व्यक्तिका सम्पत्तिमा समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गर्न बाँकी राखनेन् ।
सिंहदरबार सहित अधिकांश सरकारी कार्यालय तथा राजनीतिक दलका नेता तथा कार्यकर्ताको घर तोडफोड र आगजनीमा उत्रिए । सोही क्रममा गभर्नर पौडेल पनि ‘टार्गेट’ मा परे ।
गभर्नर पौडेलले आफ्नो घर जलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनको परिवार ‘शरणार्थी’ हुन बाध्य पारिएको गुनासो गरेका छन ।
‘घरमा किताब र कपडा धेरै भएकाले ढिलोसम्म नै घर जलिरह्यो,’ पौडेलले लेखेका छन्, ‘राति पनि केही व्यक्तिले आएर बेलाबेलामा ढुंगा हानेर र सामान चोरी गरेको भनेर छिमेकीहरूले सुनाए ।’
ललितपुर भैँसेपाटीको घर जल्दै गर्दा पौडेलले आफ्नो घर कसरी निर्माण गरिएको र त्योसँग जोडिएको आफ्नो भावना समेत व्यक्त गरेका छन् ।
पौडेलका अनुसार योजना आयोग उपाध्यक्ष हुनुअघि नै छात्रवृत्ति र देशविदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाइएको घर हो । श्रीमती र ९ वर्षकी छोरीलाई धेरै मन पर्ने भएकाले गभर्नर भएपछि पनि सोही घरमा बस्ने गरेको उनी बताउँछन । गाडी पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर कर्मचारीले प्रतिक्रिया जनाउने गर्थे ।
उनले खण्डहर भएको घर सम्झँदै भित्रको सुन्दर बनावट, माथिल्लो तल्लामा किताबै किताब, ईबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देश जाँदा किनेर ल्याएका कलाकृतिको संकलन केन्द्र रहेको बताएका छन् ।
त्यस्तै देवीदेवताका मूर्ति, भियतनामी सिल्क पेन्टिङदेखि लिएर माओत्सेतुङसम्मका मूर्तिसमेत उक्त घरमा राखेको उनको भनाइ छ । जम्मा ५ सय प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी, छोरीको अत्यन्त मन पर्ने कोठासमेत उनले सम्झेका छन् ।
अस्ति यो घर जल्नु दुई घन्टाअघि नै घर जलेको खबर फैलिएको उनले बताए । घर जलेको भन्ने खबर पुष्टि गर्दा केही भएको थिएन । पछि भने घरभित्र मानिस गए । बाआमाको फोटो, मेरी छोरीको सानो छँदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए । उनले झनै भावुक हुँदै छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिएको एउटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस भनेर च्यापेर सुत्न दिन्थ्यौं, त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिएको उल्लेख गरेका छन् ।
गभर्नरका अनुसार उनकी छोरी र श्रीमती नजिकको छिमेकीको घर गएर सुते । आफू भने अन्तै आफन्तकोमा गएर बास बसेँ । छोरी सुताउनुपर्छ भनेर सधैं चाँडै घर आउने र कतै डिनर खाने नगर्ने म र मेरो परिवार ‘शरणार्थी’ भएका छौं ।
आन्दोलकारीले भैँसेपाटीको घरमात्र नभई उनको पिताले बनाएको चितवनको घरमा समेत आगजनी गरेर खण्डहर बनाइदिएको उनको गुनासो छ ।
धेरै साथीले फोन गरेर सोध्दा आफूले ठिकै छ भन्ने जवाफ दिने गरेको बताए । हिजो राति झनै पीडामा परेका व्यक्तिबारे पढेको उल्लेख गर्दै भने, ‘नयाँ सरकार बन्दै छ । कसैलाई मैले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ । यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ ।’
प्रतिक्रिया 4