
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच संसद् विघटन वा संसद् राख्ने विषयमा छलफल भएको छ।
- राष्ट्रपति पौडेलले संविधानविद्हरुसँग संविधानकै माध्यमबाट निकास खोज्ने सल्लाह लिए।
- प्रधानसेनापति अशोकराज सिग्देलले छिटो सरकार गठन गर्नुपर्ने सुझाव दिएका छन्।
२६ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार साँझ भेटवार्ता भएको खुलेको छ ।
स्रोतका अनुसार, दिउँसो उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको हो । ‘संसद् विघटन गर्ने कि संसद् राखेर अघि बढ्ने भन्ने विषयमा विवाद उत्पन्न भएपछि त्यसबारे छलफल भएको हो,’ स्रोतले भन्यो, ‘तर, उहाँहरु बीचको कुराकानीमा संसद् राखेरै संवैधानिक निकासको बाटोमा जानुपर्ने कुराकानी भएको छ ।’
सभामुखसँगको भेटपछि राष्ट्रपति पौडेलले कानुनविद्हरुसँग समेत छलफल गरेका छन् । त्यसक्रममा उनीहरुले संविधानकै माध्यमबाट निकास खोज्न सुझाव दिएका थिए ।
बिहीबार बेलुकी राष्ट्रपति पौडेलसँग शीतलनिवासमा संविधानविद् विपिन अधिकारी, पूर्णमान शाक्य र भिमार्जुन आचार्यले भेट समेत गरेका हुन् । भेटका क्रममा राष्ट्रपति पौडेलले अहिले उत्पन्न परिस्थितिको निकास दिनेबारे कुराकानी गर्न बोलाएको बताएका थिए
‘यसको संवैधानिक, राजनीतिक पाटो के हुन्छ भन्ने परामर्श गर्न बोलाएको हुँ,’ भन्दै उनले कुराकानी सुरु गरेको स्रोतको भनाइ छ ।
त्यसपछि प्रधानसेनापति अशोकराज सिग्देलले बाहिर विभिन्न अफवाहहरू फैलिने क्रम सुरु भएको भन्दै छिटो सरकार गठन गरिदिए सजिलो हुने बताएको स्रोतको भनाइ छ । तीनै जनाले संविधानको पालक र संरक्षक राष्ट्रपति भएकाले चाहे आवश्यकताको सिद्धान्त वा उपलब्ध जुनसुकै बाटोबाट चुनाव गराउने गरी नागरिक सरकार बनाउन राष्ट्रपतिले पहल गर्नुपर्ने सुझाव दिएका थिए ।
प्रतिक्रिया 4