
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता बिन्दबासिनी कंसाकारले सांसदको हैसियत सकिए पनि जनताको सेवामा निरन्तर लागिरहने प्रतिवद्धता जनाएकी छन्।
- प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको विघटन गरेपछि उनले आभार प्रकट गर्दै इमान्दार नियतका साथ जनताको आवाज बुलन्द गर्ने प्रयास गरेको बताएकी छन्।
- कंसाकारले तेजाब पीडित भएर संघर्ष गरेको जीवन र युवापुस्ताले देखाएको दृढतालाई इतिहासमा कोरिने उल्लेख गर्दै नागरिकले आफ्नो मतदान र प्रणाली सुधारमा ध्यान दिन थालेको बताएकी छन्।
२८ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता बिन्दबासिनी कंसाकारले सांसदको हैसियत सकिए पनि जनताको सेवामा लागिरहने प्रतिवद्धता जनाएकी छन् ।
‘सांसदको हैसियत सकिएको भए पनि सेवकको जिम्मेवारी सकिँदैन’, सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, ‘फरक बाटो, फरक ढंग भए पनि देश र जनताको सेवामा निरन्तर लागिरहने मेरो संकल्प अटल छ ।’
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधि सभाको विघटन गरेका छन् । त्यसपछि उनले सांसदको हैसियत सकिए पनि जनताको सेवामा लागिरहने प्रतिवद्धता जनाएकी हुन् ।
सांसदको हैसियतमा काम गर्ने अवसरका लागि साथ, विश्वास र समर्थन गर्ने सबैप्रति आभार प्रकट गरिन् ।
‘संसद् र समितिमा मेरो उपस्थितिले ठूला परिवर्तन ल्याउन नसकेको हुन सक्छ, तर कसैको अनुचित स्वार्थ पूरा गर्ने, हानिकारक निर्णय गर्ने वा भ्रष्टाचारमा संलग्न हुने काम कहिल्यै गरिनँ भन्ने आत्मसन्तोष छ’ उनले भनेकी छन्, ‘इमान्दार नियत र निस्पक्षताका साथ जनताको आवाज बुलन्द गर्ने जति सक्थेँ त्यति गरेँ ।’
राजनीतिमा नयाँ भए पनि जीवन भने अप्ठ्यारो बाटोबाट गुज्रिएको उल्लेख गर्दै उनी लेख्छिन्, ‘तेजाब/जलन पीडितका रूपमा समाजमा पुनः बाँच्ने संघर्ष गरेको मान्छे म, राजनीतिमा प्रवेश गर्दा पनि यही पीडाले सिकाएको सहनशीलता र दृढतासहित जनताको पक्षमा आवाज उठाउने संकल्प बोकेको थिएँ ।’
आफैं घाइते जीवन बोक्दै समाजमा टिक्नुपरेको मान्छे भएकाले पीडामा परेकाहरू अन्याय सहनु परेकाहरू र आवाज दबाइएका नागरिकहरूको पक्षमा बोल्नु धर्म ठानेर संसद्मा बोलेको उनले स्मरण गरेकी छन् ।
युवा पुस्ता विशेषगरी जेनजीले देखाएको आँट र दृढता इतिहासमा कोरिने भन्दै उनले लेखेकी छन्, ‘नागरिक स्वयम्ले पनि आफ्नो मतदान, आफ्नो अधिकार र प्रणाली सुधारमा ध्यान दिन थालेका छन् । यसले भविष्यलाई आशाको उज्यालोतर्फ डोर्याएको छ ।
प्रतिक्रिया 4