+
+
Shares

गाउँपालिका जलाउन उकास्ने कर्मचारी र शिक्षकलाई राजीनामा दिन जुगल गाउँपालिकाको निर्देशन

जसजसले लेखे आइतबार स्पष्टिकरणको लागि बोलाएको छु : पालिका अध्यक्ष स्याङ्बो

कपिल कोइराला कपिल कोइराला
२०८२ भदौ २८ गते २१:४९

२८ भदौ, काभ्रेपलाञ्चोक । देश जल्दै गर्दा गाउँपालिका जलाउनुपर्छ भनेर सामाजिक संजालमा कमेन्ट गर्ने कर्मचारी र शिक्षकलाई राजीनामा दिन सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले निर्देशन दिएको छ ।

जेनजी आन्दोलनमा सार्वजनिक सम्पत्ति क्षति हुँदा खुशी मनाउने र देश जल्दै गर्दा खुशी मानी ‘अब स्थानीय सरकारहरूको पालो’ भन्दै कमेन्ट र पोस्ट गरेको भन्दै गाउँपालिकाका कर्मचारी र शिक्षकहरूलाई तुरुन्त राजीनामा दिन निर्देशन दिएको गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए ।

अनलाइखबरसँग टेलिफोनमा कुरा गर्दै पालिका अध्यक्ष स्याङ्बोले गाउँपालिकाको सुरक्षाको लागि लाग्नुपर्नेमा गाउँपालिका भवन जलाउन उकास्ने स्टाटस र कमेन्ट गर्ने कर्मचारी र शिक्षकहरूलाई पहिचान गरेर आइतबार स्पष्टीकरण समेत सोध्न लागेको बताए ।

‘सबैतिर जलाउन थालेपछि आफू गाउँपालिकाको सुरक्षाको लागि गाउँपालिका रुँगेर बसे । गाउँपालिका सुरक्षा र संरक्षण गर्नुपर्नेमा जलाउन उत्प्रेरणा दिने कर्मचारीहरूलाई राजिनामा दिन भनेको छु । दिएनन् भने आइतबार स्पष्टीकरण सोध्छु,’ अध्यक्ष स्याङ्बोले भने, २२ गते बेलुका आफैंले पनि आन्दोलन प्रति मेरो पनि ऐक्यबद्धता छ भनेर लेखेका थिएँ । तर यहाँ त स्थानीय तह पनि जलाउन पर्छ पो भने ।’

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा समेत स्टाटस लेखेका छन् । उनले लेखेका छन्- ‘जेनजी आन्दोलन भ्रस्टाचार बेथिति विरुद्ध थियो । यो आन्दोलन हामी सबै नेपालीको हो यसको पक्षमा उभिनु मत राख्नु स्वभाविक थियो । तर जुगल गाउँपालिकाको केही कर्मचारी र शिक्षक शिक्षिकाहरू सिंहदरबार, सर्वोच्च अदालत राष्ट्रपति भवन लगायतका संरचनाहरू जलाउँदै देश जल्दै गर्दा खुशी मानी अब स्थानीय सरकारहरूको पालो भनी कमेन्ट पोस्ट गर्नेहरू भोलिदेखि हाजिर नहुनु होला । किन कि तपाईंहरू सरकारी कर्मचारी हुने लायक छैन । अब देश को ठूलो धन राशी तपाईंहरू खुशी हुन जलाएको संरचना बनाउन लाग्छ । आफैंले बुझेर राजीनामा दिनु हामी तपाईंहरू जस्तो भंस्मासुरहरूलाई राख्न सकिँदैन । यो मैले सम्बन्धित कर्मचारी शिक्षकहरूलाई मात्र भनेको हो अरूलाई होइन । तपाईंहरू सबैको स्क्रिनसट हामीसँग छ ।’

सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट गर्ने कर्मचारी र शिक्षक शिक्षिकाको तथ्यांक विवरण संकलन भइसकेको अध्यक्ष स्याङ्बोले बताए ।

 

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?