
News Summary
Generated by OK AI. Editorially reviewed.- गत साताको जेनजी प्रदर्शनमा भएको तोडफोडले एनसेलका काठमाडौं, महेन्द्रनगर, धनगढी र पोखरास्थित कार्यालयमा गम्भीर क्षति पुगेको छ।
- एनसेलले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएको छ।
- एनसेलले नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै परिवर्तनले एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने आशा व्यक्त गरेको छ।
२९ भदौ, काठमाडौं। गत साताको जेनजी प्रदर्शनमा भएको तोडफोडका घटनाले एनसेलका काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आईकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयमा गम्भीर क्षति पुगेको कम्पनीले जनाएको छ ।
यी घटनाले भौतिक क्षतिमात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएको एनसेलको भनाइ छ । यी चुनौतीबीच एनसेल सधैं झैं देश र आमजनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रह्यो ।
एनसेलका अनुसार संकटको समयमा सहज रूपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराइएको छ ।
‘हामीले २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पुर्याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छौं र यसले हाम्रो ग्राहकप्रतिको अटुट समर्पणलाई स्पष्ट रूपमा प्रतिविम्बित गर्दछ,’ एनसेलले जारी गरेको विज्ञप्तिमा छ, ‘अब नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्यायतर्फ अघि बढ्दै गर्दा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दछौं।
देशका युवाको अगुवाइमा गरिएको यस आन्दोलनले ल्याएको परिवर्तनलाई हामी स्वागत गर्दछौं र यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने सामूहिक आशा साझा गर्दछौं।’
२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रूपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पुर्याउँदै आएको जनाएको छ । आज अझै दृढ संकल्प र सहनशीलता साथ देश र जनताको सेवा गर्ने प्रतिबद्धता एनसेलले पुनः दोहोर्याएको छ ।
‘हामी आफ्ना कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका छौं र अहिलेसम्म प्रदान गर्नुभएको साथ, समर्थन तथा ऐक्यबद्धताप्रति हृदयदेखि आभारी छौं,’ एनसेलले भनेको छ, ‘गत साताको अन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चीरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका लागि शुभेच्छा प्रकट गर्दछौं।’
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4