News Summary
Generated by OK AI. Editorially reviewed.- २३ र २४ भदौमा सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवा र भ्रष्टाचार अन्त्य माग गर्दै जेन-जी आन्दोलन चर्कियो, जसले एमाले सरकार ढल्न पुग्यो।
- आन्दोलनपछि जेन-जी प्रतिनिधि र प्रधानसेनापतिबीच जङ्गी अड्डामा वार्ता भएको थियो, जसमा अन्तरिम नागरिक सरकारको प्रस्ताव राखियो।
- अन्तरिम सरकारमा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भयो र संसद् विघटन टुंगोमा पुगेको थियो।
२३ र २४ भदौमा देशभर जेन-जी आन्दोलन चर्कियो । युवाको मुख्य माग सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा र भ्रष्टाचार अन्त्य थियो । तर सरकारी दमनपछि आन्दोलनले उग्र रूप लियो । र, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नै ढल्न पुग्यो । देशले पूर्वप्रधानन्यायधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार पयो । अनि, प्रतिनिधिसभासमेत विघटन भयो ।
त्यो सिर्जनशील सडक आन्दोलनबाट यो अवस्थासम्म देश कसरी आइपुग्यो ? त्यसपछि जेन-जी प्रतिनिधि र सेनापतिबीच जङ्गी अड्डामा कस्ता छलफल भए ? अब अगाडिको बाटो कति सहज छ ? जेन-जी अभियान्ताले कसरी हेरिरहेका छन् ?
यिनै प्रश्न अनलाइनखबरकर्मी कौशल काफ्लेले जेन-जी आन्दोलनकारीमध्येका एक अगुवा युजन राजभण्डारीलाई सोधेका छन् । प्रस्तुत छ, प्रश्नोत्तरको सम्पादित अंश :
सत्ता नै पल्टिने गरी जेन-जी आन्दोलन भयो । तपाईं आफैँ यसको एउटा अभियान्ता हुनुहुन्छ । यो झिल्को कसरी बल्यो ?
यो आन्दोलन सुरुवाती बिन्दु भनेको सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारी निर्णय नै हो । त्यसले एउटा ट्रिगरको काम गर्यो । नेपाली जनतामाझ पहिलेदेखि नै निराशा थियो । राजनीतिक दल र तिनका शीर्ष नेताहरू, जो बारम्बार परीक्षित भए तर जनताको अपेक्षा पूरा गर्न असफल भए । उनीहरूको यही असफलताले नै यो निराशा बढाएको थियो ।
जब सामाजिक सञ्जाल एकाएक बन्द भयो, तब जनताको अभिव्यक्ति स्वतन्त्रता मिचिएको सबैलाई भान भयो । आफ्ना कुरा राख्ने माध्यम खोसियो । त्यसले एउटा क्याटलिस्टको भूमिका खेल्यो । त्यसपछि भ्रष्टाचारको मुद्दा पनि जोडेर आन्दोलन गर्ने कुरा सुरु भएको थियो ।
सञ्जालमा चर्किएको ‘नेपो बेबी ट्रेन्ड’ देखि रेडिटका बहस त्यसपछि छेडिएको हो ?
त्यतिबेला टिकटकमा नेपो बेबी ट्रेन्ड चलिरहेको थियो, जुन फिलिपिन्स र इन्डोनेसियाको ट्रेन्डबाट प्रभावित थियो । नेताका छोराछोरीले बिलासी जीवन बिताइरहेको भिडियोहरू बाहिर आए । ती भिडियोहरूले देखाए कि उनीहरूको जीवन कति सुखमय र चैनको छ । जबकि, साधारण जनताका छोराछोरीलाई एक छाक खान पनि धौधौ छ । यो असमानताले जनतामा झन् आक्रोश थप्यो । आन्दोलनलाई फ्युल गर्यो ।
विस्तारै टिकटकमा भिडियोहरूले व्यक्तिगत गोपनीयता र सुरक्षाको जोखिम बढायो । कसले भिडियो हाल्यो भन्ने कुरा खुल्ने भएकाले त्यहाँ खतरा थियो । त्यसैले यो ट्रेन्ड रेडिटमा गयो, जहाँ गुमनाम बसेर कुराकानी गर्न सकिन्थ्यो ।
त्यही रेडिटका एउटा एनोनमस आईडीबाट सेप्टेम्बर ८ मा आन्दोलन गर्ने भनेर पोस्ट आयो । त्यो को थियो, कसैलाई थाहा छैन । त्यसबाट हामी सबै सक्रिय भएर ‘इनिसियसन’ लिएका हौं । सामाजिक सञ्जाल खुलाउन दबाब दिने र भ्रष्टाचारविरुद्ध लड्नुपर्छ भन्ने उद्देश्य त्यसको थियो ।
त्यसपछि यो डिस्कर्डमा पुग्यो । फेसबुक, इन्स्टाग्राम जस्ता प्ल्याटफर्म ब्यान्ड भएकाले पनि डिस्कर्ड सही प्ल्याटफर्म बन्यो । सुरुमा तीन-चार सय सदस्यको एउटा ग्रुपमा छलफल सुरु भयो, विस्तारै अरू मानिस जोडिन थाले । त्यसपछि अरू धेरै ग्रुपहरू बन्न थाले । सबै समूहले सेप्टेम्बर ८ को लागि तयारी गर्न थाले ।
२३ भदौमा माइतीघरको सडकमा आउनुभयो । सुरुवातमा शान्तिपूर्ण देखिन्थ्यो, तर पछि भड्कियो । त्यो दिन तपाईं कसरी सम्झिनुहुन्छ ?
त्यो दिन नेपालको इतिहासको कालो दिन थियो । हामीले शान्तिपूर्ण र रचनात्मक आन्दोलनको परिकल्पना गरेका थियौं । तर सरकारले समन्वयकारी भूमिका नखेल्दा स्थिति भड्कियो ।
दुई-तीन घन्टामै १९-२० जना साथीहरूले ज्यान गुमाएको समाचार आयो । यो आन्दोलन कुनै एक संगठन, राजनीतिक दल वा भ्रातृ संगठनले चलाएको थिएन । यो स्वतस्फुर्त थियो, जहाँ विभिन्न जेन-जी समूहहरू जोडिए । सरकारको व्यवस्थापन कमजोर हुँदा नै स्थिति भड्किएको हामीले बुझेका छौँ ।
आन्दोलनको अघिल्लो दिन (२२ भदौ) मा तपाईंहरूको बैठक माइतीघर क्याफेमा बसेको थियो । त्यतिबेला भएको छलफलमा आन्दोलन कसरी अघि बढाउने भन्ने थियो ?
२२ भदौ बेलुका ५ बजेतिर हामीले माइतीघरमा बैठक राखेका थियौं । ऊर्जा लेखक, मिराज ढुंगाना, तनुजा पाण्डे लगायतका साथीहरूसँग भेटेर हामीले शान्तिपूर्ण र रचनात्मक आन्दोलनको योजना बनायौं । हाम्रा मागहरू थिए- सोसल मिडिया खोल्नुपर्ने र भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने ।
हामी २१औं शताब्दीको जेन्जी पुस्ताको आन्दोलनलाई नवीन, शान्तिपूर्ण र सिर्जनशील बनाउन चाहन्थ्यौं । हामीले बिहान ९ बजे माइतीघरमा जम्मा हुने, ११ बजेसम्म बस्ने, त्यसपछि एभरेस्ट होटलसम्म मार्च गर्ने र फर्कने योजना बनाएका थियौँ ।
हामीले इन्स्टाग्राममा यो योजना सेयर गरेका थियौं । हामीले स्पष्ट भनेका थियौँ कि हामी व्यवस्था विरोधी होइनौं । कुनै राजनीतिक दलसँग सम्बन्धित पनि छैनौं ।
तर, भड्कियो कसरी ? कसले घुसपैठ गर्यो भन्ने ख्याल तपाईंहरूले गर्न भ्याउनुभयो ?
हामी माइतीघरबाट बानेश्वरतर्फ जाँदा आन्दोलन रमाइलो र मनोरञ्जनात्मक थियो । साथीहरूले रातो र चन्द्र सूर्य, गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ जस्ता गीत गाइरहेका थिए । नाचिरहेका थिए । सिर्जनशील प्लेकार्ड बोकेका थिए । तर, यो आन्दोलन असंगठित भएकाले को कहाँबाट आए ख्याल भएन ।
भिड बढ्दै गयो । जब हामी एभरेस्ट होटल पुग्यौं, त्यहाँ निषेधित क्षेत्र भनिन्छ । सामान्यतया, अन्य आन्दोलनमा प्रहरीले ब्यारिकेट राख्थे, तर त्यो दिन ब्यारिकेट थिएन । हामीले प्रहरीलाई ब्यारिकेट राख्न अनुरोध गर्यौं, किनभने भिड ठूलो थियो र उत्तेजित हुनसक्थ्यो । तर प्रहरीले कम आँके । निकैबेरको अनुरोधपछि राखे ।
आन्दोलन भड्किएपछि पनि संसद् भवनअगाडि पुगेपछि मात्र अश्रुग्यास हानियो । सरकारको अकर्मण्यताले स्थिति भड्कियो । यस्तो आन्दोलनमा घुसपैठ हुनसक्ने सम्भावना हुने भएकाले राज्यले त स्वाभाविक तयारी पो गर्नुपर्छ ।
२४ भदौमा व्यापक आगजनी र तोडफोड भयो । त्यो दिन चाहिँ तपाईंहरूको संलग्नता कस्तो थियो ?
यो आन्दोलन केन्द्रीकृत थिएन । जनताको वर्षौंदेखिको आक्रोस विस्फोट भएको थियो । त्यो दिन प्रहरीले अश्रुग्यास र रबर गोली चलायो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हलुका रूपमा लिएको देखियो । यसले अभिभावकदेखि सबैजना सडकमा आउनुभएको थियो ।
गोली घाँटी र छातीमा लाग्यो- भविष्यका कर्णधारहरूको निर्मम हत्या भयो । राज्यको यो क्रुरताले भोलिपल्ट अराजकता निम्त्यायो भन्ने मलाई लाग्छ । किनकि, त्यो दिन जे भयो, स्वतस्फूर्त देखिन्छ । कसैको नियन्त्रणमा थिएन ।
अब जङ्गीअड्डातिर फर्कौँ । दिनभरको अराजकतापछि तपाईंहरूलाई वार्ताको लागि बोलाइयो । प्रधानसेनापतिसँग छलफलको माहोल कसरी बन्यो ?
हामीलाई त्यही राति ११ बजे फोनमार्फत जंगी अड्डामा वार्ताको लागि बोलाइयो । विभिन्न समूहका १० जना प्रतिनिधि गयौं । केहीबेर त अनौपचारिक कुराकानी नै भयो । सेनापतिले सुरुमा हामीलाई बुझ्न खोज्नुभयो ।
हाम्रो म्यान्डेट के-कस्तो रहेछ भनेर नाडी छाम्ने काम गरेजस्तो महसुस भयो । तर त्यसबेला हामीले स्पष्ट भन्यौं- हामी सम्माननीय राष्ट्रपतिसँग वार्ता गर्न चाहन्छौं, सेनाले यो वार्तालाई सहजीकरण मात्र गरोस् ।
प्रधानसेनापतिले पनि अघिल्लो दिनको घटनामा दु:ख व्यक्त गर्नुभयो र हाम्रो म्यान्डेट बुझ्ने प्रयास गर्नुभयो । हामीले यो आन्दोलन पछाडि फर्कनेभन्दा पनि लोकतन्त्रलाई अझ सुदृढ गर्ने भनेर गरेका हौँ । हामीले अन्तरिम नागरिक सरकारको प्रस्ताव राख्यौं । छलफल एक बजेसम्म चल्यो ।
तपाईंहरू भित्र छलफलमा रहँदा बाहिर कु गर्नेदेखि राजा फर्काउँदै छन् भन्ने हल्ला चल्यो । भित्र त्यस्तो संकेत केही पाउनुभएको थियो ?
थिएन । हामीले त सुरु दिनदेखि नै यसबारे चनाखो भएर सोधिरह्यौँ । यही कुरा आएपछि हामीबीचबाटै एकजना साथीले ‘तपाईंले कु गर्न खोज्नुभएको हो ?’ भनेर सेनापतिलाई सोध्नुभयो । तर उहाँले कु गर्ने भए यसरी छलफलमा किन बस्थेँ र ? भन्ने आसयको जवाफ दिनुभयो ।
त्यसपछि पनि उहाँबाट सहजीकरण नै भयो । त्यस्तो कुनै छनक जङ्गी अड्डाभित्र देखिएको थिएन । सेनापतिले कु गर्ने मनसाय छैन भनेपछि ढुक्क भएका थियौँ ।
सेनापतिले दुर्गा प्रसाईं र रास्वपा पनि स्टेकहोल्डर भएकाले उहाँहरूसँग वार्ता गर्न भन्नुभयो रे । तपाईंहरूको प्रतिक्रिया के थियो ?
हामी सबै प्रतिनिधिले एक स्वरमा भन्यौं- हामी दुर्गा प्रसाईं र रास्वपासँग वार्तामा बस्दैनौं । उनीहरू यो आन्दोलनका हिस्सेदार होइनन् । सबैभन्दा खुसी यहीबेला लाग्यो, कारण हामी सबैको एकमत यसमा देखियो ।
तर अघिल्लो दिनभन्दा भोलिपल्टको यो वार्तामा चाहिँ अरू समूह पनि थपिनुभएको थियो । जेन-जीको नाममा अरू थपिएका थिए । अहिले चर्चामा आएका सुदन गुरुङ पनि अघिल्लो दिन हुनुहुन्थेन । बल्ल भोलिपल्ट उहाँ थपिनुभयो ।
प्रधानमन्त्रीमा लागि सुशीला कार्कीको नाम कसरी आयो ?
अन्तरिम नागरिक सरकारको माग हुँदा हामीले छलफल गर्यौं- कुन व्यक्तिले यो संकटमा देशलाई निकास दिन सक्छ । धेरै राजनीतिक व्यक्तित्वहरूको नाम आयो । तर केहीले अस्वीकार गरे । सबैले सुशीला कार्कीको नाममा सहमति जनाए ।
कार्कीले २४ भदौमा सिभिल अस्पताल गएर आन्दोलनलाई समर्थन गर्नुभएको थियो । प्रधानन्यायाधीश हुँदा भ्रष्टाचारविरोधी अभियान चलाउनुभएको थियो । उहाँको कानुनी ज्ञान र समसामयिक राजनीतिक विश्लेषणले हाम्रो मागलाई न्याय गर्छ भन्ने लाग्यो । त्यसपछि उहाँको नाममा सबै कुरा अघि बढाइएको हो ।
रेडिट र डिस्कोर्डबाट स्वतन्त्र रूपमा सुरु भएको आन्दोलनमा ‘हामी नेपाल’ एकाएक फ्रन्टमा देखियो । तपाईंहरूको आन्दोलन हाइज्याक भएको हो ?
यो आन्दोलनमा धेरै हिस्सेदारहरू थिए । हामी नेपाल पनि एउटा हिस्सेदार हो । उनीहरू सुरुमा स्वयंसेवकको रूपमा काम गर्ने भनेर आए । यो अवस्थासम्म ल्याउन उनीहरूको योगदानलाई पनि सम्मान गर्नुपर्छ ।
आन्दोलन हाइज्याक भयो भन्ने कुरा गौण हो । विभिन्न हिस्सेदारमा कोही अगाडि देखिए, कोही पछाडि परे । तर मुख्य कुरा देशले निकास पायो । सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्यौँ । हाइज्याक भयो भन्न त मिल्दैन । यो आन्दोलन हामीसँगै छ ।
प्रधानमन्त्रीमा कार्कीको नाम आएपछि पनि संसद् विघटनको विषयलाई लिएर केहीबेर अलमलको अवस्था बनेको थियो नि । कसरी टुंगियो ?
२३ भदौमा संसद् भवनमा आक्रमण भएपछि प्रतिकात्मक रूपमा संसद्प्रति अविश्वास देखिइसकेको थियो । त्यसैले हाम्रा मागहरू त्यो संसद्बाट सम्बोधन नहुने र त्यसलाई आन्दोलनले नस्वीकार्ने पक्कापक्की थियो ।
नयाँ म्यान्डेट चाहिन्छ भन्ने माहोल बन्यो । यो गर्दा फेरि संविधान नै खतरामा पर्ने जोखिम हुन्छ भनियो । तर कानुनविद्हरूले प्रक्रियामा विश्वास गर्न सुझाए । हामीले त्यसलाई स्वीकार्यौं । त्यसपछि लामो समय छलफल भएर यो विषय टुंगोमा पुगेको थियो ।
सुशीला कार्कीलाई प्रधानमन्त्री त बनाउनुभयो । तर दुई दिन नपुग्दै अर्को समूह राजीनामा माग्न पुग्यो । कति हतास र हतारो हो ?
त्यो प्रश्न हामी नेपाललाई नै सोध्नुपर्छ, जसले राजीनामा मागेको थियो । हामी त आन्दोलनको हिस्सेदार हौं । हामीले मागेका छैनौँ ।
अब अगाडिका दिन कति सहज देख्नुहुन्छ ?
आन्दोलनको पहिलो चरण सकियो । अन्तरिम सरकार बन्यो । मन्त्रिपरिषद् विस्तार हुँदैछ । अब हामी दोस्रो चरणमा छौं, जुन सङ्क्रमणकाल हो । सरकारको मुख्य काम स्वच्छ र निष्पक्ष चुनाव तोकिएको समयमा गर्नु हो । त्यसपछि आएको प्रतिनिधिसभाले नै अरू काम गर्छ ।
राजनीतिक दलहरूले पनि सकारात्मक सन्देश दिएका छन् । उहाँहरूले पनि पार्टी संरचना फेर्न गृहकार्य गर्ने भनिरहनुभएको छ । त्यसैले अब हामी अहिलेको प्रतिपक्षी हौँ । वाच डगको रूपमा हेछौँ । निगरानीको भूमिकामा रहनेछौं ।
कतिपयले यो आन्दोलनमा विदेशी शक्तिको हात छ भन्छन् । जेन-जी प्रयोग भए भन्दै कन्स्पिरेसीबारे चर्चा गर्न थालेका छन् । त्यस्तो हो त ?
यो नेपालमा चल्ने षड्यन्त्र सिद्धान्त हो । यो जेन-जीको आफ्नै गतिमा उठेको आन्दोलन हो । कुनै दुविधा राख्नुपर्दैन । विभिन्न स्वार्थ समूहले अब चाहिँ खेल्न सक्लान्, त्यसमा हामी नै चनाखो रहनुपर्छ । नत्र हामी कोहीबाट प्रयोग भएका वा परिचालित होइनौँ । अब सबैले यसलाई सफल बनाउन सहयोग पुर्याउनुपर्छ ।
प्रतिक्रिया 4