७ असोज, काठमाडौं । सरकारले वस्तु आयातमा सन्दर्भ मूल्यका आधारमा लिँदै आएको भन्सार परिवर्तन गरी वास्तविक बिजकका आधारमा भन्सार लिने प्रणाली सुरु गर्न लागेको छ ।
त्यसका लागि भन्सार विभागले अनलाइन भ्यालुएसन डेटाबेस नामक अनलाइन प्रणाली बुधारदेखि पाइलटिङका रूपमा कार्यान्वयनमा ल्याउने छ ।
विराटनगरबाट यो डेटाबेस कार्यान्वयनमा ल्याउने र त्यहाँको अनुभवका आधारमा देशका सबै भन्सारमा लागु गर्दै जाने भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले अनलाइनखबरलाई बताए । अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल बुधबार विराटनगर गएर अनलाइन मूल्यांकन डेटाबेस सुरुवात गर्ने छन् ।
अनलाइन भ्यालुएसन डेटाबेस प्रणाली भनेको आयातित वस्तुको भन्सार मूल्य घोषणा सम्बन्धी तथ्यांक संकलन, स्टोर र विश्लेषण गर्ने प्रणाली हो, जसले भन्सार कार्यालयलाई त्यस्ता वस्तुको कम मूल्यांकन हुने जोखिम घटाउन सहयोग गर्छ ।
अनलाइन भ्यालुएसन डेटाबेस संसारभरि नै भन्सार क्लियरेन्समा प्रयोग हुँदै आएको आशिकुडा प्रणालीमा आबद्ध हुने र यसले कुनै पनि वस्तुको ९० दिनको मूल्य गणना गरी आयातित वस्तुको वास्तविक मूल्य देखाउने उनले बताए ।
‘आयातकर्ताले वस्तु आयात गर्दा आफूले तिरेको मूल्य घोषणा गरेको हुन्छ, त्यो ठिक हो कि होइन भन्ने पनि अनलाइन भ्यालुएसन डेटाबेसले गर्छ,’ उनले भने । अनलाइन भ्यालुएसन डेटाबेस लागु भएपछि अहिलेको सन्दर्भ मूल्य प्रणाली खारेज हुँदै जाने छ ।
‘यो प्रणाली लागु भएपछि प्रणालीमा देशैभरिको मूल्य अपडेट हुने भयो, अन्तर्राष्ट्रिय बजारमा कुनै वस्तुको भन्सार मूल्य कति छ भन्ने सूचना पनि हुने भयो,’ विभागका महानिर्देशक भण्डारीले भने, ‘त्यसो हुँदा भन्सारमा यथार्थ मूल्य जानकारीमा आई न्यून तथा अधिक बिजकीकरणको समस्या हल हुनेछ । यसले आयातकर्ता तथा भन्सार अधिकृत दुवैलाई सहज हुनेछ ।’
भन्सारमा २०६४ सालदेखि नै सन्दर्भ मूल्यको चलन भए पनि २०७५ मा ‘भन्सार मूल्यांकन निर्देशिका’ मार्फत यसलाई अनिवार्य जस्तै गरी लागु गरियो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको पहलमा यो लागु भएको थियो ।
त्यसअघि सामान्य सन्दर्भ मूल्यका आधारमा भन्सार लिने गरिएकोमा खतिवडाले देशभरि यसलाई अनिवार्य लागु गरेका थिए । तर, यसो गर्दा अद्यावधिक कारोबार मूल्य अभावमा कुनै सामानको वास्तविक मूल्यभन्दा सन्दर्भ मूल्य बढी हुने, कुनैको कम हुने समस्या थियो । आयातकर्ताले आयात गर्दा तिरेको मूल्य एकातिर हुने एवं सन्दर्भ मूल्य अर्कातिर हुने भएपछि त्यसबाट आयातकर्ताले सास्ती बेहोर्नुपरेको थियो ।
त्यतिमात्र नभई, वास्तविक मूल्यका आधारमा होइन कि सन्दर्भ मूल्यका आधारमा आयातकर्ताले बिजक बनाउन लगाइ पूँजी पलायन समेत हुने गरेको गुनासो आउने गरेको थियो ।
सरकारले सन्दर्भ मूल्य लागु गरेदेखि नै यो खारेज हुनुपर्ने माग व्यवसायीले राख्दै आएका थिए । त्यसले व्यवसायीलाई अनावश्यक प्रशासनिक झन्झट थपेको, सन्दर्भ मूल्य यथार्थपरक हुन नसकेको लगायत कारण यो खारेजीको माग राखेका थिए ।
नयाँ अनलाइन डेटाबेस प्रणाली लागु गरेपछि त्यसले आयातकर्ताको मनोबल बढाउने पनि व्यवसायीले अपेक्षा गरेका छन् । चालु आर्थिक वर्षको बजेटमा समेत सन्दर्भ मूल्य हटाएर यथार्थ मूल्यांकन प्रणाली सुरु गर्ने व्यवस्था गरिएको छ ।
विगतदेखि नै सरकारले सन्दर्भ मूल्य हटाएर यथार्थ मूल्यांकनका आधारमा भन्सार लिने प्रणाली लागु गर्न खोजे पनि अर्थमन्त्री रामेश्वर खनाल बने लगत्तै यसलाई तीव्रता दिएका थिए ।
ट्रस्टेड ट्रेडर सूची पनि बनाइने
अर्थमन्त्री रामेश्वर खनालले राम्रा आयातकर्तालाई छानेर विश्वासिला व्यापारी (ट्रस्टेड ट्रेडर) सूची पनि बनाउन लागेका छन् । विभिन्न मापदण्डका आधारमा त्यस्ता व्यापारी छनोट गरिने भन्सार विभागका महानिर्देशक भण्डारीले बताए ।
‘सरकारको तिर्न बुझाउन बाँकी नभएको, समयमै राजस्व दाखिला गरेको लगायत सूचकका आधारमा ट्रस्टेड ट्रेडरको सूची बन्छ,’ उनले भने, ‘यस्तो सूचीमा पर्ने व्यवसायीलाई आयात गर्दा भन्सारमा सहज बनाइनुका साथै अन्य सुविधा पनि प्रदान गरिन्छ ।’
यस्ता व्यापारीले आयात गरेको सामानको भन्सार जाँचपास सहज हुने, कारोबारस्थलमा कुनै कागजात नपुगे पनि सामान क्लियर गरिदिने र पछि कागज ल्याउन पाउने व्यवस्था गर्ने लगायत सुविधा उनीहरूलाई दिइने उनले बताए ।
यस्तो व्यवसायीको सूचीमा पर्नेले अन्तर्राष्ट्रिय पहिचान पनि पाउने उनले बताए ।
प्रतिक्रिया 4